– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७/ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजीबजारलाई पनि सम्बोधन गरेको छ। 

संघीय संसद भवनमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेस गरिएको नीति तथा कार्यक्रममा पुँजीबजारलाई उत्पादनशील क्षेत्रका रुपमा परिभाषित गर्दै यसको विकास र विस्तार गरिने नीति लिइएको छ। पुँजीबजारमा लगानीकर्ताको आकर्षण वृद्धि र पुँजीबजारका नियामक निकायको क्षमतासमेत अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारको यो नीतिले लामो समय बियरिस अवस्थामा गएको सेयर बजारलाई सञ्जीवनी बुटी हुने कतिपयको आँकलन छ। 

नेपाल इन्भेस्टर्स फोरमका  पूर्वअध्यक्ष छोटेलाल रौनियारले सरकारको नीति तथा कार्यक्रममा पुँजीबजारलाई सम्बोधन गरिनु स्वागतयोग्य रहेको बताए। ‘मुख्य विषय भनेको कार्यान्वयनको हो’, उनले भने, ‘बोलेरमात्रै भएन व्यवहारमा पनि हुनुपर्यो।’ 

पुँजीबजार उत्पादनशील क्षेत्र नै रहेको उल्लेख रौनियारले भने, ‘यसमा वादविवाद र टीकाटिप्पणी गर्नु आवश्यक नै छैन।’

सरकारले पुँजीबजारप्रति सकारात्मक छ भने ४–१२ को क्याप हटाउनुपर्ने रौनियारको भनाइ छ। ‘जोखिम भार अनुपात पनि १५० बाट झारेर १०० कायम गर्नुपर्छ’, उनले भने। 

रौनियारले अहिले बीमा कम्पनीहरुको मर्जरले ठूलो पैसा रोकिएको बताए। ‘यस्ता खालको मर्जर नीति तुरुन्तै हटाउनुपर्छ हुन्छ’, उनले भने, ‘नियामक निकायहरुबीच एकद्वार नीति  ल्याउनुपर्छ। नियामक निकायहरुबीच फरक–फरक विचार आउनुभएन।’

स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीले पनि सरकारले पुँजीबजारलाई उत्पादनशील क्षेत्रका रुपमा हेर्नुलाई सकारात्मक मान्नुपर्ने बताए। ‘पँुजीबजार अर्थतन्त्रको मेरुदण्ड र ऐना हो’, उनले भने, ‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई सम्बोधन गर्ने काम भएको छ, अब मुख्य विषय भनेको कार्यान्वयन नै हो।’

नियामक निकायको संकुचित विचारले पुँजीबजार खुम्चिँदा सरकारलाई नै घाटा भएको कार्कीको भनाइ छ। ‘एक महिनामै ३.५ अर्ब राजस्व उठेको थियो’, उनले भने, ‘अहिले १ वर्षमा पनि त्यति राजस्व उठ्न सकेको छैन।’

कार्कीले बजार घट्दा नियामक निकाय चुप लागेर बस्न नहुने बताए। ‘सेयर बजारलाई प्राथमिकता दिनुपर्छ र अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण पनि बढाउनुपर्छ’, उनले भने, ‘सबैको सोच फराकिलो हुनुपर्छ।’ 

सक्रिय लगानीकर्ता गोविन्दप्रसाद घिमिरले पनि सरकारको नीति तथा कार्यक्रम राम्रै रहेको बताउँछन्। ‘कार्यान्वयन पक्ष कस्तो हुन्छ ? त्यो भने हेर्नुपर्छ’, उनले भने, ‘अब बजेट पुँजीबजारमैत्री आउनुपर्छ।’

‘घर–जमिनमा कर बढाउने तथा सेयर बजारमा घटाउने भन्ने सुन्नमा आएको छ। यस्तो भएमा राम्रो हुन्छ’, उनले भने, ‘घर–जग्गालाई निरुत्साहित नै भए राम्रो। किनकि सेयर बजारमा पारदर्शी हुन्छ। त्यसैले यसलाई प्राथमिकतामा राख्नुपर्छ।’

थप ब्रोकर लाइसेन्स दिने र अन्य नीतिगत सुधार भएमा पुँजीबजार सकारात्मक नै हुने घिमिरेको भनाइ छ। ‘मार्जिन लोन तथा सेयर लोन सुचारु गर्नु पर्छ’, उनले भने, ‘त्यस्तो भएमा डराउनुपर्ने अवस्था अउँदैन।’