– अनन्त्य सुन्दर
काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०७४ पारित गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) नयाँ स्टक एक्सचेन्ज तयारीमा जुटेको छ।
सेबोनले दसैँअघि नै ३ अर्ब चुक्तापुँजी भएको स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी गरिरहेको सेबोन स्रोत बताउँछन्। सेबोन अध्यक्ष रमेशकुमार हमालका साथै लगानीकर्ता संघसंगठनका अगुवाहरु अहिले सञ्चालनमा भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई थप प्रतिस्पर्धी बनाउनका लागि भए पनि नेपाली पुँजीबजारमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता खड्किएको बताउँदै आएका छन्।
सेबोनका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल स्टक एक्सचेन्जमा बैंक र बीमाको जस्तो प्रतिस्पर्धा नहुने बताउँछन्। ‘स्टक एक्सचेन्जले बैंक तथा बीमाजस्तो प्रतिस्पर्धा गर्ने होइन’, नेपाल भन्छन्, ‘स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी होइन आधुनिक बनाउनुपर्छ।’
स्टक एक्सचेन्जको मुख्य उद्देश्य नै साना लगानीकर्ता नठगिने गरी सूचीकृत कम्पनीको मूल्य सरलका साथै पारदर्शी राख्नु रहेको नेपालको भनाइ छ।
‘भारतमा १६–१७ वटा स्टक एक्सचेन्ज थिए। अहिले मर्ज भएर दुईवटा बम्बई र नेसनल स्टक एक्सचेन्जमात्र छ। अमेरिकाजस्तो मुलुकमा एउटामात्र न्युयोर्क स्टक एक्सचेन्ज, बेलायतमा लन्डन स्टक एक्सचेन्ज छ’, नेपाल भन्छन्, ‘त्यसैले हाम्रोजस्तो सुरुआती चरणमा रहेको पुँजीबजारमा दुईवटा स्टक एक्सचेन्ज आवश्यक छैन। अहिले अर्को स्टक एक्सचेन्ज सञ्चालनमा ल्याए पनि पछि मर्ज गरेर एउटा नै बनाउनुपर्छ।’
पहिलादेखि नै प्रतिस्पर्धीको नाममा दोस्रो स्टक एक्सचेन्ज ल्याउने प्रयास भइरहेको नेपाले बताए। ‘तर, स्टक एक्सचेन्जको काम प्रतिस्पर्धा गर्ने नै होइन’, उनले भने।
14 minutes ago
38 minutes ago
48 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago