काठमाण्डौ। नेप्से परिसूचक यो साता २३५० विन्दुकै सेरोफेरोमा घुमिरहेको छ। लगानीकर्ताको बजारप्रति बलियो मनोबल भएकै कारण धितोपत्र दोस्रो बजारमा सूचकले दिनहुँ नयाँ–नयाँ रेकर्ड कायम पनि गरिरहेको छ। नेप्सेले इन्ट्रा डेमा हिजो मंगलबार २३६४ विन्दु टेस्ट गरेर २३२६ विन्दुमा बन्द भयो र आज बुधबार नेप्से २३६५ विन्दु पुगेर २३३० विन्दु माथि रहेको छ।

निरन्तर बढिरहेको बजारमा नेप्से परिसूचक २३५० विन्दुकै सेरोफेरोमा रहँदा आमलगानीकर्तालाई बजार अब करेक्सन होला वा अझै माथि जाला भन्ने द्विविधा देखिन्छ। यो अन्यौललाई चिर्न हामीले सेयर बजार प्राविधिक विश्लेषक अशोककुमार शाहसमक्ष जिज्ञासा राखेका छौँ।

प्राविधिक विश्लेषक शाहले नेप्से २३५१ विन्दु पार गरेपछि मात्र अबको यात्रा २६९० विन्दुसम्मको हुन सक्ने प्रक्षेपण गरेका छन्। उनले बुलिस चक्र सुरु भएको १ वर्ष भएको दाबी पनि गरे। बुलिस चक्र अझै ३ वर्ष कायम रहने जिकिर गरेका शाह प्राविधिक विश्लेषणमा इतिहास दोहोरिने बताउँछन्। 

बीच–बीचमा थुप्रै खरिदका अवसर पनि प्राप्त हुने शाहको ठम्याइ छ। अबको बुल टार्गेटमा नेप्से ३६०० विन्दु माथि रहेको उनको प्रक्षेपण छ।

दैनिक चार्टलाई हेर्दा माइनर ट्रेन्डअनुसार बजार बुलिस नै रहेको शाह बताउँछन्। माइनर मुभअनुसार नेप्से १९८० विन्दुभन्दा माथि रहेसम्म बुलिस ट्रेन्ड नै रहेको उनी बताउँछन्।

सेकेन्डरी मुभमेन्ट पनि बुलिस नै स्पष्ट देखिएको शाहको भनाइ छ। यसलाई बेस बनाउँदा नेप्से १८७३ भन्दा माथि सपोर्ट रहे बुलिस नै रहने उनले दाबी पनि गरे।

प्राइमरी ट्रेन्डका आधारमा भन्दा नेप्से ११४९ विन्दुभन्दा माथि बुलिस नै रहेको प्राविधिक विश्लेषक शाह बताउँछन्। प्राविधिक कोणमा अहिले निकै रोचक विन्दुमा नेप्से रहेको जिकिर गर्दै उनले मार्च १ २०१२ मा नेप्से २९८ विन्दु (अघिल्लो बुलको न्यून विन्दु) रहेको र २०१९ नोभेम्बर ३ मा नेप्से ११०२ विन्दुको बटमलाई आधार रहेको बताए। ‘यसका आधारमा फिभोनेन्सी एक्सटेन्सनको २९८ देखि १८८८ र १८८८ देखि १०९८ को फिभोनेन्सी एक्सटेन्सन ०.७८६ लेभललाई हिजो मंगलबार एप्रोच गरेको छ’, उनी भन्छन्, ‘माइनर लेभल हेर्दा हिजो र आज प्रफिट बुकिङ देखिएको छ।’

आरएसआई डाइभरजेन्स भइरहे पनि यो विकासक्रममा रहेको हुनाले करेक्सन आउने सम्भावना रहेको विश्लेषक शाह बताउँछन्। ‘नेप्से २३५० विन्दुकै सेरोफेरोमा घुमिरहनु भनेको बिक्री हावी हुने हो तर करेक्सनको कन्फर्मसेन भने छैन’, शाह भन्छन्, ‘बिक्री हावी भए पनि अल्टिमेट्ली बजारको मुभ माथि नै हो। यदि करेक्सन भइहाले पनि खरिद अवसरका रुपमा लिनुपर्छ। नेप्से अब केही दिन लिंगरिङ हुन सक्छ।’

प्राविधिक विश्लेषक शाहका अनुसार यदि भोलि बिहीबार २३२० विन्दु आसपास बन्द भएको खण्डमा २३२६ लेभलमा भोलि सुटिङ स्टार कन्फर्मेसन हुनेछ र बजार घट्ने निश्चित पनि छ। ‘नेप्से २३२६ माथि गए ओभरबाउट जोन हुनेछ र बजारकै लागि खतरापूर्ण पनि छ। यसकारण बजारमा करेक्सन भए आगामी दिनमा बजार प्राकृतिक ढंगले माथि जान्छ’, उनले बिजशालासँग भने।

नेप्से २३५१ पार गर्छ भने २६९० विन्दु फिभोनेन्सी एक्सटेन्सन लेभल १ को चरणमा पुग्ने शाहले बताए। ‘यो चाहिँ सेकेन्डरी मुभको मोडरेट टार्गेट हुनेछ’, उनी भन्छन्।