– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्न प्रस्तावित चुक्तापुँजीलाई पुष्ट्याइँ गर्नकै लागि तथ्यांकलाई नै तोडमोड गरेर सार्वजनिक फोरमहरुमा बोल्न थालेको आरोप लागेको छ।
सेबोनको गत असार २१ गते बसेको सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरेको थियो। सेबोन सञ्चालक समितिबाट तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्तावसहितको पारित भएको उक्त संशोधित नियमावलीको मस्यौदा बोर्डबाट अर्थ मन्त्रालय पठाइएको छ। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने उक्त मस्यौदा अहिले अर्थमै अड्किएको अवस्था छ।
अध्यक्ष हमाल अर्थमन्त्री जनार्दन शर्माको अर्थ मन्त्रालयमा पुनः आगमनसँगै उक्त मस्यौदा पारित गर्न कसरत गरिरहेको स्रोत बताउँछ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा अध्यक्ष हमालले नेप्सेको प्रणालीले १७० भन्दा बढी ब्रोकर नधान्ने भएकाले ब्रोकर लाइसेन्स वितरणका लागि ब्रोकरको चुक्तापुँजीलाई हाई थ्रेसहोल्डमा राखिएको बताए। उनले कसैलाई पनि तजबिजीले ब्रोकर लाइसेन्स दिनु नहुने भन्दै हरेकले समान अवसर पाउनुपर्ने धारणा राखे।
सेबोनले पारित गरेको मस्यौदामा धितोपत्र खरिदबिक्रीमात्र गर्ने ब्रोकरको चुक्तापुँजी २० करोड, पूर्ण सेवा दिने ब्रोकरको चुक्तापुँजी ६० करोड रुपैयाँ र स्टक डिलर अर्थात् धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी प्रस्ताव गरिएको छ।
सेबोन अध्यक्ष हमालले दिएको नेप्से प्रणालीले १७० वटा ब्रोकरमात्र धान्न सक्ने उक्त अभिव्यक्ति कतिको सत्य हो ? भन्ने बिजशालाको जिज्ञासा नेप्सेका केही कर्मचारीहरुले सेबोन अध्यक्षको उक्त अभिव्यक्तिले आफूहरु पनि चकित भएको प्रतिक्रिया दिए।
नेप्सेले प्रकाशन गरेको ‘पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली एक परिचय’ शीर्षकको ब्रोसरमा नेप्से प्रणाली (नट्स) को प्रमुख विशेषतामा आवश्यकताअनुसार प्रणालीको आकारलाई विस्तार गर्न सकिने प्रस्टसँग उल्लेख गरिएको नेप्सेका कर्मचारीहरुले बताए। अर्थात् सेबोन अध्यक्ष हमालले भनेजस्तो नभई आवश्यकताअनुसार नेप्से प्रणालीको आकार विस्तार गर्न सकिन्छ।
नेप्सेका एक उच्चस्तरीय कर्मचारीले सेबोन अध्यक्षको नेप्से प्रणालीले १७० ब्रोकरमात्र धान्न सक्ने अभिव्यक्तिलाई पूर्ण रुपमा गलत रहेको भन्दै प्राविधिक क्षमता र ब्रोकरको संख्याको कुनै सम्बन्ध नरहेको दाबी गरे।
नेप्से प्रणालीको अहिले प्रतिसेकेन्ड २० हजार कारोबार गर्ने क्षमता छ। अहिले औसतमा प्रतिसेकेन्ड २६ वटा कारोबार हुँदै आएको छ। ‘त्यसैले कुनै पनि प्रणालीको प्राविधिक क्षमता स्केलेब्ल हुन्छ भन्ने सबैले बुझ्न आवश्यक छ’, उनले भने।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago