काठमाण्डौ । कुनै बेला संकटग्रस्त अवस्थाबाट गुज्रिएको र अवन्नतिको बाटोमा तीव्र गतिमा कुदिरहेको जनता बैंक शाखा सञ्जालको हिसाबले देशकै  पाँचौ ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । 

दुुईवटा राष्ट्रिय स्तरका विकास बैंक : त्रिवेणी र सिद्धार्थ डेभलपमेन्ट बैंकको प्राप्तिपछि जनता बैंक शाखा सञ्जालमा देशकै पाँचौ ठूलो बैंक बन्न सफल भएको हो । 

राम्रा दुुई विकास बैंकको प्राप्तिकै कारण यो बैंकका अन्य सूचकहरु समेत सन्तोषजनक देखिएका छन् । दुुई विकास बैंकको साथ पाएपछि संकटग्रस्त अवस्थामा रहेको जनता बैंक एक मजबुुत बैंकको रुपमा उदाएको छ । 

यो बैंकले शुक्रबारदेखि राष्ट्रियस्तरको टप विकास बैंक सिद्धार्थ डेभलमेन्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबारको औपचारिक सुरुवात गरेको छ । एकीकृत कारोबारको सुरुवातका लागि थापाथलीस्थित टेड टावरमा आयोजित विशेष समारोहमा जनता बैंकका प्रमुुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले सिद्धार्थसँगको मर्जरपछि जनता बैंकको शाखा संख्या ११३ पुुगेको र शाखा सञ्जालको हिसाबले बैंक देशकै ५ औं ठूलो वाणिज्य बैंक बन्न सफल भएको जानकारी दिए । 

उनका अनुसार सिद्धार्थको प्राप्तिपछि मजबुत बनेको जनता बैंकमा अब ग्राहक संख्या ४ लाख ५० हजार माथि, १ लाख बढी सेयरधनी, १ हजारको हाराहारीमा कर्मचारी पुुगेका छन् । ‘हामी पूर्वको ताप्लेजुंगदेखि पश्चिमको दार्चुलासम्म, झापादेखि कञ्चनपुरसम्म बिस्तारित हुन सफल भएका छौ ।’ सीइओ कुँवरले भने–‘निक्षेप ५० अर्ब पुुगेको छ भने कर्जा ४५ अर्ब बढी पुुगेको छ ।’ उनले सिद्धार्थको प्राप्तिपछि ७ अर्बको हाराहारीमा चुक्तापुँजी पुुगेको छ र बोनस सेयर दिएर राष्ट्रबैंकले तोके अनुसार ८ अर्ब चुक्तापूँजी पुर्याउने स्पष्ट पारे । 

हालै राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा २५ प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सीमा तोके पनि अहिले नै जनता बैंकले २३ प्रतिशतको हाराहारीमा लगानी उत्पादनमूलक क्षेत्रमा गरिसकेको कुँवरले जानकारी दिए । 

उनले जनता बैंकले निकट भविष्यमै ७ वटा प्रदेशका १४ जिल्लाका १५ स्थानीय तहमा शाखा बिस्तार गर्ने उद्घोष समेत गरे । ‘जहाँ अन्य बैंकका शाखा छैनन्, जनता बैंक अब त्यही जान्छ ।’ कुँवरले थपे–‘हामी दुुर्गम क्षेत्रसम्म बैकिङ पहुँच बिस्तारमा आक्रामक भई अगाडि बढ्नेछौ ।’ 

सिद्धार्थलाई प्राप्तिपछिको एकीकृत कारोबार शुुभारम्भ समारोहको नेपाल राष्ट्रबैंकका कामुु गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका थिए । कार्यक्रममा जनता बैंकका संचालक समिति अध्यक्ष केशवबहादुर रायमाझी, सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारी, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष भरतप्रसाद ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाह लगायतले बोलेका थिए ।