– अनन्त्य सुन्दर

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त रहेको अध्यक्षको पदमा १२ जना आकांक्षीहरुको आवेदन परेको छ। आवेदन दिनेहरुमा सामान्य लगानीकर्तादेखि लिएर नेप्सेका पूर्वसीईओ, बीमा समितिका अध्यक्षका साथै सेबोनका उच्च तहका कर्मचारीहरु पनि छन्। 

झन्डै २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको बजारको नियमन गर्ने निकाय सेबोनको नेतृत्व कसले गर्ला भन्ने आमलगानीकर्तामा चासोको विषय बनेको छ। विगतमा नियामक निकाय सेबोन र नेप्सेका पदाधिकारी विभिन्न प्रकरणमा मुछिएसँगै लगानीकर्ता संघका नेताहरु सेबोनको नेतृत्व इमानदार साथै स्वच्छ छवि भएकाले गर्नुपर्ने बताउँछन्।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार पुरातनवादी सोच भएकाभन्दा आधुनिक तरिकाले पुँजी बजार बुझेका व्यक्तिले सेबोनको नेतृत्व गर्नुपर्ने बताउँछन्। ‘बजारमा चलखेल हुँदा नियामक निकायहरुबाट अनुसन्धान मात्र हुन्छ। त्यसको केही पनि रिजल्ट आउँदैन’, उनी भन्छन्, ‘त्यसैले सेबोनको नेतृत्व गर्नेले आउनेले मिडिया बाजी होइन लगानीकर्ताको हकहितमा काम गर्नुपर्छ। नियामक निकायमा हुँदा बजारको नियन्त्रण होइन नियमन गर्नु पर्छ।’ 

सेबोनको अध्यक्षले पुँजी बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेर्न अत्यावश्यक रहेको रौनियार बताउँछन्। उनी भन्छन्, ‘पुँजी बजारलाई माया गर्ने र सबै लगानीकर्ताहरुलाई समान रूपमा हेर्ने व्यक्तिले सेबोनको नेतृत्व गर्नुपर्छ।’

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल सेबोनको नेतृत्व आफ्नो हितभन्दा पनि लगानीकर्ताको हितमा काम गर्नेले नेतृत्व गर्नुपर्ने बताउँछिन्। ‘बजार सुधारका लागि धेरै कामहरु गर्न सकिन्छ, जस्तै– बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकर कमिसन घटाउने, ब्रोकरहरुलाई शाखा विस्तार गर्न मिल्ने वातावरण सिर्जना गर्ने। त्यसैले नवनियुक्त अध्यक्षले बजार सुधार गर्दै लगानीकर्ताहरुको लगानी सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छ’, पोख्रेल भन्छिन्। 

अर्थ मन्त्रालयले लगानीकर्ताहरुसँग गरेको ५८ बुँदे सहमतिअनुरूप काम गर्ने हो भने बजारको ९९ प्रतिशत समस्याहरूको समाधान हुने पोख्रेल बताउँछिन्। उनका अनुसार बढ्दो बजारमा अंकुश लगाउने, घट्दो बजारमा कानमा तेल हालेर बस्नेभन्दा बजारलाई आफ्नो गतिमा चल्न दिने व्यक्तिले सेबोनको नेतृत्व गर्नुपर्छ।

स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की भ्रष्ट नियत नभएको र चलखेलमा नलाग्ने व्यक्तिले सेबोनको नेतृत्व गर्ने बताउँछन्।  ‘अहिले पुँजी बजार संक्रमणकालीन अवस्थामा छ। नेपाली पुँजी बजार हुर्किंदै गरेको बालकजस्तो भएकाले यसलाई इमान्दार अभिभावकको जरुरत छ’, उनले भने, ‘त्यसैले आफ्नो कार्यकालमा पुँजी बजारलाई केही दिएर जान्छु भन्ने व्यक्तिले सेबोनको नेतृत्व गर्नु पर्छ।’

‘अहिले त सेबोनको अध्यक्ष बन्नका लागि ३ करोड र ५ करोड दिन तयार रहेको हल्ला पनि सुनिन्छ’, कार्की भन्छन्, ‘त्यस्तो राजनीतिक भागबन्डा भएमा समग्र पुँजी बजारका लागि नै घातक हुन्छ।’ 

‘सेबोनको नेतृत्व गर्न आउने हरकोहीको कार्यकाल ऐतिहासिक होस्, भोलिको दिनमा सेबोनबाट बिदाइ गर्दा फूल मालासहित बिदाइ गर्न पाइयोस्’, कार्कीले भने। 

नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी निष्पक्ष र स्वच्छ छवि भएको व्यक्तिले सेबोनको नेतृत्व गर्नुपर्ने बताउँछिन्। ‘अघिल्लो अध्यक्षबाट कल्पना बाहिरको अनपेक्षित काम भयो’, चौधरी भन्छिन्, ‘अब सेबोनको नेतृत्व सानाठूला लगानीकर्ता भनेर भेदभाव नगरी समग्र बजार र लगानीकर्ताको हितमा काम गर्ने व्यक्तिले गर्नुपर्छ।’ 

सेबोनमा आउने व्यक्तिले समग्र बजार र लगानीकर्ताको हितमा काम गर्ने हो भने हर कोहीले लगानीकर्ताले सेबोनलाई स्वतः सहयोग गर्ने चौधरीको भनाइ छ।