काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले लगानीकर्ताहरुलाई अनलाइन कारोबारका विषयमा यथेष्ट जानकारी तथा तालिम दिन चूक्दा अनलाइन काराबार प्रणाली भएको एक वर्ष पूरा हुँदा समेत यो लगानीकर्तामैत्री र प्रयोग गर्न सजिलो बनाइएको छैन ।

नेप्सेले अनलाइन कारोबार भित्र्याएको ठ्याक्कै एक वर्ष बित्यो । १७ हजार बढी अनलाइन युजर बाँडेको नेप्सेको तथ्यांक छ । नेप्सेले सञ्चालनमा ल्याएको नट्स(नेप्से अनलाइन ट्रेडिङ) मार्फत हुने अनलाइन कारोबारमा नेप्सेले चासो र दूरदर्शिता नदेखाइदिंदा यसको नकारात्मक असरहरु बजारमा देखिन थालेका छन् । सेयर खरिदबिक्रीमा अनलाइन युजर लिएका लगानीकर्ताहरुमा ज्ञानको अभावमा बजारमा तीव्र चलखेल र दुर्घटनाहरु बढ्ने क्रम बढिरहेको छ ।

पूर्ण स्वचालित अनलाइन दाबी गर्दै आए पनि नेप्सेको अहिलेको अनलाइन र यसअघिको अर्धस्वचालित कारोबार प्रणालीमा कुनै भिन्नता नभएको एक ब्रोकरको टिप्पणी छ । पूर्ण स्वचालित अनलाइन कारोबारमा डिम्याट इन्ट्रीगेसन र बैंक खाता इन्ट्रीगेसन गर्न नेप्सेले चासो नदेखाउँदा क्लोजआउटको समस्या झन् विकराल बन्दै गएको छ । 

प्राथमिक बजारमा बैंक खाता इन्ट्रीगेसन सम्भव हुनसक्ने, तर दोस्रो बजारमा भने नेप्सेले बैंक खाता इन्टीग्रेसन नगर्दा कारोबारमा पारदर्शिता र चलखेलले प्रश्रय पाइरहेको बताइन्छ । स्मरणीय रहोस् दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा लगानीकर्ताको भीड अचाक्ली हुन्छ । यद्यपि ती सीमित लगानीकर्ताहरुको कारोबार गर्ने बैंक खाता इन्टीग्रेसन गर्न नेप्सेले तदरुकता देखाउन चाहेन । यसको अर्को फाइदा भनेको हाल रहेको राफसाफ चक्र टी प्लस थ्रीलाई टी प्लस वान बनाउन समेत सहजै सकिन्छ ।  

यही साता पुतलीसडकस्थित एक ब्रोकर कार्यालयबाट अनलाइन युजर लिई कारोबार गरेका एक लगानीकर्ताले स्वयम् नबिल बैंकको ५० हजार कित्ता सेयर बिक्री आदेश राखे । ती लगानीकर्ताले सो बैंकको सेयर बिक्री गनर्न त्यसरी अर्डर पोस्ट गरेका थिएनन्, बरु उच्च बिक्री चाप देखाई मूल्य घटाएर खरिद गर्ने सुनियोजित घटना भएको ती ब्रोकर कार्यालयका एक कर्मचारीले खुलासा गरे । यस्तो चलखेलमा नेप्सेको सुपरीवेक्षण संयन्त्र कानमा तेल हालेर बसिदिदा समेत यस्ता घटना बढिरहेका छन् । 

यो घटना एक प्रतिनिधि घटना मात्र हो । विगत एक वर्षदेखि केही बाठा लगानीकर्ताहरुले चाल्ने कुटिल चालको निरन्तरतामा नेप्सेको सुपरिवेक्षण बुख्याँचा बनेको मात्रै हैन जानकार भएर पनि ठोस कदम चाल्न निष्क्रिता देखाएको छ । 

गत असार ३१ गते एक ब्रोकर कार्यालयबाट अनलाइन युजर लिई कारोबार गरेका केही टाठा लगानीकर्ताले १०/१० कित्ता अर्डर राखी ३० अंकको अस्वभाविक वृद्धि गरेर मार्केट म्यानुपुलेट गर्दा नेप्सेको सुपरिवेक्षण रमिते बन्यो । एक लाख ९० हजार रुपैयाँ रकम बराबरका ४५ कम्पनीमा चलखेल गर्दा पनि नेप्सेको भूमिका रमितेमै सीमित भयो । 

बिजशाला स्रोतका अनुसार सो ब्रोकरहाउसमा नेपालकै उच्च धनाढ्य उद्योगीको लगानी भएकाले समेत सो ब्रोकर कम्पनीलाई कुनै कारबाही गर्ने चेष्टा समेत गरेन । कारण नेप्सेका उच्च अधिकारीहरु ती धनाढ्यहरुसँगको साँठगाँठमा संलग्न त छँदै छन् नै अप्रत्यक्ष फाइदाहरु सोहोर्न उद्यत रहँदा सोझा लगानीकर्ताहरुले करोडौं रकम गुमाउनु परेको छ । यसअघि यस्ता घटना भेटिए नेप्सेले ब्रोकरलाई स्पष्टीकरण र कारोबार निलम्बन नै गर्ने गथ्र्यो ।

अनलाइन खरिदबिक्रीमा भूलवश मानवीय त्रूटि बन्दछ । खरिद हुने ठाउँमा बिक्री र बिक्री हुने ठाउँमा खरिद बटन थिच्न पुग्दा दैनिक २० प्रतिशत जरिवाना तिर्नेको संख्या पनि उल्लेख्य रहेको छ । सो मानवीय त्रूटिका लागि व्यवस्थापन गर्न नेप्सेले अक्सन मार्केटको विकास गर्नुपर्छ, तर त्यस विषयमा नेप्सेलाई कुनै चासो नै छैन । एउटा सामान्य अधिकृतको जिम्मामा रहेको नेप्सेको अनुसन्धान शाखामा बजार विकास र विस्तारका अध्ययन अनुसन्धान हुने सोच्न पनि सकिदैन । 

नेप्से नेतृत्व र उच्च अधिकारीहरु  बजार विकास र विस्तारभन्दा पनि सरकारी काम कहिले जाला घाम भन्ने उक्तिलाई नै साथ दिइरहेका भेटिन्छन् । नेपालको सेयर बजार विकास र विस्तारमा मूख्य अवरोध नै सरकारी निकायका रुपमा नेप्से रहेको जानकारहरु बताउँछन् ।

नेप्सेका सीइओ चन्द्रसिंह साउदले अनलाइन युजर बृहत रुपमा बाँड्ने योजना बनाएको बिजशाला स्रोतको दाबी छ । नेप्सेले अनलाइन कारोबार प्रणालीका विषयमा त्रैमासिक २ वटा स्थानमा मात्र तालिम दिइरहेको छ । तालिम पनि मुख्य सहरमा मात्र दिने परिपाटीले नेप्सेको अनलाइन प्रणालीको उपादेयता बढ्न सकिरहेको छैन । बजेट सकाउन मात्र ‘गरिस् भन्दा गरेँ’ भनेझैं नेप्सेले तालिम दिने गरेको छ । 

नेप्सेको अनलाइन कारोबार कार्यान्वयनमा आएपछि नेप्सेले केही साता आफ्नै सभाहलमा तालिम दिएको थियो, तर त्यसले हाल पनि निरन्तरता पाए अधिक लगानीकर्ता यसबाट लाभ लिन सक्थे । प्रत्येक शुक्रबार नेप्सेको सभाहलमा अनलाइन कारोबारका विषयमा तालिम दिन नेप्सेले सक्रियता देखाए ब्रोकरहरुले पनि साथ दिने बताउँदै आएका छन् । 

बिजशालाले सूक्ष्म अध्ययन गर्दा हाल अनलाइन युजर लिएका करिब ५ प्रतिशत लगानीकर्ताले मात्र प्रयोग गरिरहेका छन् । एक ब्रोकरले नाम नबताउने शर्तमा ती अनलाइन लिने पनि केही टाठाबाठा मात्र छन् । तर ती टाठाबाठालाई ‘चोरलाई चौतारो’ भएको स्रोतहरु बताउँछन् । नेप्सेको अनलाइनलाई फूलफेज अनलाइन बनाइए धमिलो पानीमा माछा मार्न गाह्रो भएकाले समेत नेप्से नेतृत्वलाई बशमा राखेको स्रोतको दाबी छ । 

बजारलाई पारदर्शी बनाउन र विस्तारका लागि नेप्सेको अनलाइन कारोबार प्रणाली कोशेढुङ्गा हुने विश्लेषकहरुले अड्कलबाजी गरेका थिए ।

अधिकांशले नेप्सेको अनलाइन आएपछि नेप्से इण्डेक्स र कारोबार रकममा समेत उछाल आउने दाबी समेत गर्दै आइरहेकामा सुरुवातीताका अनलाइन थोत्रो रेलझैं बनेको थियो, यद्यपि हाल पनि कैयौं समस्या त छँदै छ नै लगानीकर्ताहरुको विश्वाससमेत जित्न नसकेको तीतो यथार्थ छर्लङ्गै छ ।

तत्कालै नेप्सेले डिम्याट खाता र बैंक खाता अनलाइन कारोबार प्रणालीमा एकीकृत गरेको खण्डमा कारोबार सहजतासँगै बजारको पारदर्शिता र विश्वसनीयता समेत बढ्ने जानकारको राय छ ।