– अनन्त्य सुन्दर

काठमाण्डौ । लगातार बढ्दो क्रममा रहेको नेपाली सेयर बजारले अहिलेसम्मको अलटाइम हाई गत भदौ २ मा बनाएको थियो। उक्त दिन नेप्से परिसूचक ३१९८.६० मा बन्द भएको थियो।

झन्डै ३२०० पुगेको बजार निरन्तर घट्दो क्रममा थियो। तरलताको चाप, सेयर धितो कर्जामा कडाइ, मौद्रिक नीति, नियामकको सर्कुलरलगायत विविध गतिविधिहरुले बजारलाई प्रत्यक्ष असर गरेको थियो। लगातार घट्दो क्रममा रहेको बजार पुनः लयमा फर्केको छ। 

गत पुस ५ मा २३५८.८२ मा बन्द भएको बजार आज २९४७.४३ मा बन्द भएको छ। बजार मात्र नभएर २–३ अर्बमा खुम्चिएको कारोबार रकम पनि बढेको छ। आज झन्डै आठ अर्बको कारोबार भएको छ। 

‘बजारले नयाँ हाई बनाउने निश्चित छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘अहिले लगानीकर्ताहरु पनि उत्साहित छन्। तरलता पनि सहज भएको छ। त्यसैले बजारले छिटै अलटाइम हाई बनाउँछ।’ 

‘अहिले कारोबार रकम पनि बढ्दो छ। लकडाउनको प्रभावले आयात घट्नुका साथै अन्य व्यवसायी पनि बजार प्रवेश गर्ने देखिन्छ। त्यसैले सानो करेक्सन आएर बजार माथि नै जान्छ’, ती सञ्चालकले भने। 

प्राविधिक विश्लेषक विष्णु बस्याल सन् २०२४ मा बजार ६००० सम्म पुग्ने बताउँछन्। बस्याल भन्छन्, ‘सन् २०१७ देखि मैले यो बुलको यात्रा ६००० सम्मको हो भन्दै आएको छु। अझै पनि मेरो विश्लेषणको अडान त्यही छ।’ 

‘इन्ट्राडेमा आज बजारले २८७३ को हाईदेखि मुमेन्टम लुज गरेको देखिन्छ’, बस्याल भन्छन्, ‘निरन्तर बढ्दो क्रममा रहेको बजार ३१०० देखि ३२०० सम्म हुँदा १० देखि १२ प्रतिशतको करेक्सन आउन सक्छ। विगतका बुलहरुको चार्ट हेर्दा पनि यो देखिन्छ।’ 

उक्त करेक्सन इन्ट्राडेको वा दुईदेखि तीन दिनसम्मको हुन् सक्ने बस्यालले बताए। 

सेयर बजारको सक्रिय लगानीकर्ता तथा पुँजी बजार सुधार संघका केन्द्रीय अध्यक्ष रोहन कार्की विगतको बुलमा जस्तै बजार इन्ट्राडेमा करेक्सन हुँदै बढ्ने बताउँछन्। ‘बजारले झन्डै ३२०० को हाई बनाउँदा पनि इन्ट्राडे करेक्सन देखिन्थ्यो। अहिले पनि बजारमा त्यही देखिँदै आएको छ’, उनले भने, ‘बजार घट्नेबित्तिकै लगानीकर्ता किन्ने मौका यही हो भनेर बजार प्रवेश गर्ने गरेका छन्।’

लगानीकर्ताले एउटा सेक्टरमा नाफा बुक गर्दै अर्को सेक्टरमा लगानी गर्ने गरेकाले इन्ट्राडेमा सेक्टरअनुसार करेक्सन हुँदै आएको कार्कीले बताए। ‘अहिले लगानीकर्तादेखि लिएर ब्रोकर, नियामक, मिडिया सबै बजारप्रति सकारात्मक भएको देखिन्छ’, उनले भने, ‘त्यसैले नेप्सेले छिट्टै अलटाइम हाई ब्रेक गर्ने निश्चित छ।’