– रेखा चन्द

काठमाण्डौ। चालु आर्थिक वर्ष २०७८–७९ सकिन अब १६ दिनमात्रै रहेको छ। नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तीव्र तयारीमा जुटिसकेको छ। 

यसैबीच राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका सीईओहरुलाई समेत पोखरामा बोलाएको छ। जसमा मौद्रिक नीतिका विषयमा विशेष छलफल हुने बताइएको छ।

यसो त राष्ट्र बैंकले विभिन्न सरोकारवालाहरुबाट राय–सुझाव संकलन गर्ने कार्यलाई पनि जारी नै राखेको छ। तर, भोलि शुुक्रबार गभर्नर महाप्रसाद अधिकारीसहितको छलफललाई महत्वका साथ हेरिएको छ। 

हामीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कस्तो आउनुुपर्छ भनेर अर्थविद् र बैंकरसम्मलाई सोधेका छौँ।  

अर्थविद् चन्द्रमणि अधिकारी सामान्य अवस्थाभन्दा अहिलेको अवस्था अलि फरक रहेको बताउँछन्। ‘धेरै कसिलो खालको मौद्रिक नीति पनि होइन, धेरै लचिलो खालको मौद्रिक नीति पनि होइन’, उनले भने, ‘मुद्रास्फीतिलाई एउटा न्यूनतम सीमामा राख्न सक्ने किसिमको मौद्रिक नीति आउनुुपर्छ।’

लागानी गर्दा लगानीको लागत (कस्ट अफ फन्ड) नबढ्ने किसिमको नीति राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याउनुु अधिकारीको सुझाव छ। 

अर्का अर्थविद् डा. गोविन्द नेपाल राष्ट्र बैंकले जबाफदेहीतासहित नयाँ ढंगले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउँछन्। ‘अर्थतन्त्रमा देखिएको संकट तथा विदेशी मुुद्रासहित धेरै कुरामा अहिले समस्या छ’, उनले भने, ‘त्यसलाई निर्मूल गर्ने खालको नीति आउनुुपर्छ। बैंकहरुले अनप्रडक्टिभ क्षेत्रमा बढी लगानी गरे भन्ने कुराहरु आइरहेको छ। तरलता समस्या, उच्च ब्याजदरलयागतलाई सम्बोधन गर्ने खालको नीति राष्ट्र बैंकले लिनुुपर्छ।’

कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेत आर्थिक अवस्था संकुुचनतर्फ लागेको अनुुभव भइरहेको बताउँछन्। ‘यस्तो अवस्थालाई टाढा लैजाने र ब्यालेन्स अफ पेमेन्टको स्ट्याटसलाई इन्ह्यान्स गर्ने खालको मौद्रिक नीति आउनुपर्छ। इन्फ्लोइन्सलाई रेडियुस गर्ने र इन्भेस्टर्स, बरोअर्सहरुको सिस्टमलाई विकास गर्ने मौद्रिक नीति ल्याउनुुुपर्छजस्तो मलाई लाग्छ।’

आफूहरुले डेभलपमेन्ट बैंकर्स एसोसिएसनमार्फत लिखित रुपमा सल्लाह–सुुझाव राष्ट्र बैंकमा पठाइसकेको बस्नेत बताउँछन्। ‘राष्ट्र बैंकले मौद्रिक नीतिमा हाम्रा धेरैभन्दा धेरै विषय समेट्छ भन्ने आशा छ’, उनले भने।