-डा. युवराज खतिवडा, अर्थमन्त्री
हामी ७ प्रतिशतको उच्च आर्थिक वृद्धि गर्दैछौ यो वर्ष । अर्को वर्ष अझ उच्च आर्थिक वृद्धिको ध्येय छ, यसका लागि वित्तीय क्षेत्रले पनि योगदान पुर्याउने नै छ । 

उच्च आर्थिक वृद्धि हासिल गर्न धेरै कुरा गर्नुपर्ने हुन्छ । राष्ट्रिय वचतमा वृद्धि गर्नुपर्ने हुन्छ । त्यो वृद्धि गर्ने क्रममा बिमाको प्रिमियमबापत संकलन हुने बचत ठूलो कुरा हो । यो वर्ष नेपालको इतिहासमै सर्वाधिक ग्राहस्थ बचत भएको छ । कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत बचत पुगेको छ ।

नेपालीहरुको बचत गर्ने क्षमता बढेकोमा सबै नेपालीलाई बधाई छ । यो बचतलाई उत्पादनशील क्षेत्रमा लगाएर, लगानीमा परिणत गरी त्यसको उत्पादकत्व बढाएर अझ उच्च आर्थिक वृद्धिमा जानुपर्नेछ । त्यस क्रममा बैंकिङ, बिमा लगायत सम्पूर्ण बचत परिचालन गर्ने क्षेत्रको भूमिका हुन आवश्यक छ । 

पछिल्लो समय बिमामा भएको प्रगति उत्साहप्रद छ । बैंकिङ क्षेत्र पनि राम्रो छ । तर, समग्र आर्थिक गतिविधि बिस्तार नभई, उत्पादनशील क्षेत्रको विकास नभई, वित्तीय क्षेत्रको गतिविधि मात्रै एकहोरो अगाडि बढ्न सक्दैन । हाम्रा साधन स्रोतलार्ई उत्पादनशील क्षेत्रमा नलगाए हामीले आर्जन गरेको उपलब्धि दिगो हुँदैन । 

त्यसकारण हाम्रा लगानीका सबै स्रोत साधनलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सकिए मात्र डबल डिजिटको आर्थिक वृद्धि संभव छ ।

म बिमाकै कुरामा फोकस हुन चाहन्छु । कम्पनीको बिस्तारसँगै मर्जरको कुरा पनि आएको छ । संख्यात्मक बिस्तार गरिररहँदा त्यसको प्रतिस्पर्धात्मक अवस्था र त्यसको आधारबाट मर्जमा जानुपर्ने अवस्था नबनोस् भन्ने विषयमा हामीले हिजो सोचेनौं । बिमा र बैंकको लाइसेन्स जारी गर्दा यो गल्ती भयो, अबको दिनमा यस्तो नहोस् । 

खासगरी हामीले मुलुकको वित्तीय बजारमा संख्यात्मक वृद्धि होइन, गुणात्मक बिस्तार गर्नुपर्छ। त्यो भनेको भएका संस्थाका क्षमता बिस्तार, गुणस्तर र दायरा बिस्तार हो । संख्यात्मक बिस्तारले मात्रै हामीलाई कहीँ पनि पुरयाउँदैन भन्ने कुरा बैंकिङ क्षेत्रको संख्याबाट हामीले देखिसकेका छौ। 

बैंकिङ क्षेत्रका संख्या धेरै हुँदा भन्दा अहिले मर्ज भइसकेपछिको सेवा बिस्तारले छिटो गति लिएको छ, गुणात्मक फड्को पनि मारेको छ । त्यही कुरा बिमामा पनि लागू हुन्छ । त्यसो भएकोले ढिलै भए पनि बिमा समितिले यो प्रयास सुरु गरेको छ, मेरो शुभकामाना छ। 

बैंकिङ क्षेत्रमा एउटा सुदृढ प्रणाली विकास हुन थालेजस्तै बिमा क्षेत्रमा पनि होस् । 

हरेक क्षेत्रमा(बिमामा पनि) कतिपय नयाँ संस्था आउँदा सुरुमा ग्रीनफिल्ड मात्र देखिन्छ । तर कतिपय अवस्थामा ग्रीन फिल्ड हरियो घाँसै हुन्छ भने कहिले चाहि कृत्रिम दूबो पनि हुनसक्छ । कोही कृत्रिम दूवो देखेर झुक्किएर आउनुभएको छ भने छिट्टै विचार पुरयाउनु भए हून्छ,भोलि गएर समस्या नपरोस् । 

अहिले हामीले बिमा सम्बन्धी कानूनलाई संसदमा पुर्याएका छौ र संसदमा विचाराधीन छ। त्यो विषयमा म धेरै बोल्न चाहँन्न् । 

तर, सेवा बिस्तार हुँदा नियमन निकायहरु बलियो हुनुपर्दछ । त्यसका लागि बलियो कानून चाहिन्छ र कानूनले मात्र पर्याप्त हुँदैन, त्यसपछिको रेगुलेटरी सिस्टम, कानून परिचालनको अवस्था, त्यसका संचालकहरु र त्यसको नेतृत्व गर्ने व्यक्तिहरु, ती पनि त्यत्तिकै प्रभावकारी हुनुपर्छ । 

बिमा व्यवसाय जटिल हुँदैछ । बिमाको विषयमा म केही पनि बुझ्दिँन । बिमा सम्बन्धी चेतना कसरी बिस्तार गर्ने भन्ने बिषयमा सोचिन आवश्यक छ।

बिमा सेवालाई जोखिमरहित बनाइनुपर्छ । अरुको जोखिमको चाहि बिमा गर्ने, तर आफू चाहि जोखिममै हुने पनि के बिमा होला र ? त्यसो हुनाले अरुको बिमा गरिरहँदा, जोखिम व्यवस्थापन गरिरहँदा आफ्नो जोखिममा पनि ध्यान दिनुपर्छ । 

यस्तो जोखिम तीन प्रकारको छ ः एउटा छ, त्यो हो इन्टरनल । इन्टरनल जोखिम भनेको आफ्नै व्यवस्थापकीय कमजोरी । संस्थागत रिस्क जस्ता कुराहरु भए । तर, म अहिले सिस्टेमिक रिस्कको कुरा गर्दैछु, यस्तो रिस्कको कुरा बिमा समितिले हेर्नुपर्छ। त्यो हेरिरहँदा बिमाको मात्र होइन, बैंकिङको दायराबाट पनि हेरिनुपर्छ। 

धेरै बिमा कम्पनीका लगानीकर्ता बैंकर पनि हुनुहुन्छ, उहाँहरुको अरु व्यवसाय र उद्योग पनि छ । त्यसको भोलि सिस्टमिक इफेक्ट हेरिनुपर्छ । 
बैंकिङ सिस्टममा रिस्क बेस्ड सुपरभिजन सुरु भएको छ, बिमामा पनि त्यस्तो कुरा सुरु भएकै होलान्, त्यसमा कसरी जाने भन्ने हेर्नुपर्छ । मार्केट रिस्कको बिषयमा ध्यान दिनुपर्छ भन्ने मेरो अनुरोध हो । 

अर्को चाहि, हामीले संकलन गरेका प्रिमियमहरु सुरक्षित ढंगले कहाँ र कसरी लगानी गर्न सकिन्छ भन्ने विषय हो । त्यस्ता उपकरण सुरक्षित पनि हुनुपर्छ, त्यस्ता किसिमका वित्तीय उपकरण लिएर जाने विषयमा हामी छलफल गर्न सक्छौ । बजेटको ठीक पूर्वसन्ध्यामा छौ हामी । हामीले बैंकिङ, इन्स्योरेन्स लगायत सबै क्षेत्रलाई कसरी विकास गर्ने भन्ने बिषयमा छलफल हुन आवश्यक छ । स्थिर नीति आवश्यक छ वित्तीय उपकरण र बजारको विषयमा, यसमा हामी स्पष्ट छौ । 

मेरो चासो लघुविमा पनि हो। पोहोर पनि कुरा गरिएको हो, बजेटमा पनि यो कुरा समेटिएको छ । १० प्रतिशत होस् भनेको ५ प्रतिशत पुगेछ, खुशी लागेको छ । साना किसान छन्, साना तथा मझौला व्यवसायी छन्, जोखिम पनि सानै छ, अनि बिमाको ठूला–ठूला कुरा गरेर के गर्ने ? सानाको पनि कुरा गरौ न भन्ने हो । यसले हामीलाई आधार पनि फराकिलो पार्छ, जति तपाईले जोखिमलाई बाँड्नुभयो, त्यसको रिस्क पनि उति नै कम हुन्छ । रिस्क डिस्ट्रीब्यूसनलाई माइक्रोले धेरै सहयोग गर्छ । ठूला–ठूला आर्थिक मन्दी हुँदा ठूला संस्था ढले, तर लघुसेवा दिने संस्थाहरु ढलेनन् । यसका लागि पनि लघुबिमा आवश्यक हुन्छ । त्यसतर्फ थप प्रयास रहोस् । 

हामी बजेट तर्जुमाका क्रममा छौ। तपाईको कुरा हामी सुन्छौ । हामीले बिमितको धेरै सुनेका छौ, बिमकको कम सुनेका छौ । बिमितहरु भन्नुहुन्छ–‘हामीलाई बण्डलिङ र होलसेलमा राखिदिनु भयो भन्नुहुन्छ । अनि एउटा टिसर्ट किन्न खोज्यो भने ६ वटै लैजाऊ भनेर बण्डलिङ गरिदिनुभएको छ, अनावश्यक हामीलाई सर्भिस प्रोक्यूर गर्नुभएको छ’ भनिरहनुभएको छ । यो आवश्यक हो कि होइन ? कि बिमितहरुले आफ्नो जोखिमलाई बुझ्न नसक्नुभएको हो कि ? वा बिमित र बिमकबीचको सूचनामा पनि कतै बुझाईमा कमजोरी छ कि ? त्यसकारण हामी दुवै पक्षलाई सँगै राखेर कुरा गर्न चाहन्छौ । बिमा गर्नैपर्ने कारणले व्यवसाय कमजोर हुने, अथवा बिमा गर्दै नगरेका कारणले व्यवसाय सम्पूर्ण रुपले जोखिममा पर्ने, यी दुवै कुरा ठीक होइनन् । त्यसकारण यसको बीचमा हामी कहीँ कतै मिलेर जानुपर्नेछ । 

तपाईहरुको आफ्नै क्लाइन्टहरु हुनुहुन्छ, तपाईहरु प्रोमोटर, व्यवस्थापक र संचालक पनि हुनुहुन्छ । कहिलेकाही वल्लोपल्लो घरको पनि हुनुहुन्छ । त्यसो हुँदा तपाईहरुले एकआपसमै मिलाउनुहोला यी कुरा । तर, एउटा कुरा चाहि नगरिदिनुहोला, प्याकेजिङ गर्दा बैंकिङ र इन्स्योरेन्सबीचको प्याकेजिङ, इन्स्योरेन्स र इन्स्योरेन्सबीचको प्योकिजङ चाहि नगरिदिनुहोला । विगतमा यस्ता केही तिता अनुभव पनि रहे । 

हाम्रा आँखा चारैतिर छन्, हामीले ध्यान दिइरहेकै हुन्छौ, तपाई सबैलाई हामीले चिनिरहेका हुन्छौ, सानो समाज छ, २० औ वर्षदेखि हामी तपाईसँगै छौ ।

त्यसकारण कुनै प्याकेजमा डिल नगरौं, यो त एउटा व्यवसायिक डिल मात्र हुन्छ । मैले तिम्रो ढाँड कन्याइदिन्छु, तिमी मेरो ढाँड कन्याइदेऊ भन्ने काम हामीले गर्नुहुँदैन । सुन्दाखेरि तीतो लाग्ला, तर यथार्थ यही छ । 

पुनर्बिमाको कुरा पनि छ । यसमा हामी देशबाहिर पनि जानुपर्ने हुनसक्छ । तर,बाहिरबाट पनि यो सेवा लिन सकिरहेका छौ, यो चाहि राम्रो कुरा हो । 

(अर्थमन्त्री डा. खतिवडाद्वारा बिमा समितिको बुधबार आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै व्यक्त विचारको सम्पादित अंश)

भिडियो हेर्नुहोस् :