►गणेशराज पोखरेल-(डेपुटी सीइओ)-सिटिजन्स बैंक इन्टरनेशनल
मेरो बुबा ८२ वर्ष पुग्नुभयो र अहिले उहाँ बर्दियाको गुलरियामा हुनुहन्छ । उहाँ अझै पनि हट्टाकट्टा नै हुनुहन्छ । हामी ३ दाजुभाई र २ दिदी गरी ५ जना छोराछोरी हौं । 

मेरो बुबा पेशाले कृषक हुनुहुन्छ । हामी बर्दियामा गएर बस्न थालेको ६० वर्ष भइसक्यो । बुबा अहिले पनि बर्दियामै रमाइरहनुभएको छ । 

म प्रत्येक दिन साँझ अफिसबाट घर गएपछि बुबामुमासँग कुरा नगरी साँझको खाना खाँन्न । त्यो मेरो बानी नै छ, बालबच्चाले पनि त्यही सिकेका छन् ।

मेरो बुबाको आनन्द लाग्ने चिज, उहाँलाई तनावै हुन्न । जस्तो स्थितिमा पनि उहाँ तनावमुक्त बस्नुहुन्छ । मैले बुबालाई कहिल्यै पनि तनावमा देखिँन ।

सायद, तनाव कम लिने भएर होला बुबाको कपाल ८२ वर्षको उमेरमा समेत झरेको छैन । बुबामा अझै जुझारुपन छ, यो क्षमतालाई म अद्भूत भन्छु । बुबाको धैर्यता, सामाजिक सेवामा सक्रियता समेत अद्भूत नै लाग्छ ।

बुबासँगका क्षण
हामी साना छँदा बुबाले हामीलाई भारत लानुहुन्थ्यो । बर्दियाको गुलरियास्थित हाम्रो घरबाट ५ किलोमिटरको दूरीमी भारतीय बजार पर्छ । त्यहाँ बाइराइज भन्ने ठाउँ छ । केही मिठोमसिनो खानु पर्दा, रमाइलो गर्नुपर्दा हामी त्यहाँ जान्थ्यौं । त्यहाँको शंकर होटलमा बस्थ्यौ, चित्रशाला सिनेमा हलमा फिल्म हेथ्र्यौ । त्यो कुरा सम्झँदा मेरो अझै पुलकित हुन्छ । 

वि.स. ०४२ मा बुबा र म गएर बाइराइजबाट पहिलो टेलिभिजन किनेर गाउँ ल्याएका थियौं, त्यसबेला टेलिभिजनमा दूरदर्शन मात्र आउथ्यो । 

हाम्रो जग्गा जमीन ३० विगाहासम्म थियो । बुबा एकदमै सक्रिय हुनुहुन्थ्यो, हामीलाई गाउँमा लिएर जानुहुन्थ्यो, गाउँमा हामी उपाध्याय बाहुन भएकोले सबैले मान्थे ।

त्यहाँको लोकल खाना खाने, खोलामा पौडी खेल्ने गथ्र्यौ । राजापुर भन्ने ठाउँमा जान्थ्यौ, त्यहाँका मारवाडीहरुले हाम्रो समेत खुट्टा ढोग्थे, उपाध्याय बाहुन भनेर होला । 

म बुबासँग सानै उमेरमा छुट्टिएँ, यसैमा गुनासो लाग्छ । १६ वर्षकै उमेरमा पढाईका कारण घर छाडेर नेपालगञ्जमा आई बसोबास गर्न थालियो, त्यसपछि काठमाण्डौ आएँ । बुबासँग लामो समय बस्ने अवसर पाइँन । 

बुबासँग दशैंको बेलामा बढी भेट हुन्छ, आजभोलि त्यो पनि कम छ । 

बुबा काठमाण्डौ आउनतिर मन गर्नुहुन्न, उतै रमाइलो मान्नुहुन्छ । छोराछोरी लिएर पनि उतै जाने गर्छु । 

म बुबाआमा, दाजुभाई, दिदीबहिनी, परिवारसँग मात्र नभई चिनेका मानिससँग पनि नजिक हुने मान्छे हो । बुबासँग बस्न पाएको भए जीवन अझै कति सहज हुन्थ्यो होला भनेर कहिलेकाही सोच्छु । बुबामुमा भइदिएको भए सुखदुःखका धेरै कुरा सेयर  गर्न सक्थ्यौं होला, तर केही बाध्यताले यस्तो नहुँदो रहेछ । 

काठमाण्डौ उकुसमुकुस छ । बुबा कहिलेकाही आउनुहुन्छ, तर ८–१० दिनमै फर्किनुहुन्छ । काठमाण्डौमा पानी छैन, थोरै जमीनमा घर बनाउनुपर्छ । 

मैले फेरि पनि दोहोर्याएँ, मेरो बुबाको अद्भूत बानी भनेकै तनाव नलिने हो । त्यो गुण ममा किन आएन भनेर बेला बेला आफैंलाई प्रश्न गर्छु । मलाई कहिलेकाही सानै कुराले पनि गलाइदिन्छ, बुबाको त्यो बानी सरेको भए कति जाति हुन्थ्यो होला जस्तो पनि लाग्छ । 

सिकेका अन्य कुरा
मैले बुबाबाट इमानदार र असल हुनुपर्छ भन्ने कुरा सिकेको छु । बुबाले सधैं सहज भएरै जीवन बिताउनुभयो, धेरै अपेक्षा राखेको पनि देख्दिँन । बुबाले हामीलाई आफ्नो आर्थिक हैसियत अनुसारकै शिक्षा दिनुभयो, बुबाको समकालीनमध्ये धेरैको मृत्युु भइसक्यो । बुबाको दीर्घायूको राज के होला भन्ने म बेला बेला सोच्ने गर्छु । बुबाले जस्तोसुकै अवस्थालाई पनि सहज रुपमा लिन सक्नुहुन्छ । त्यो अद्भूत क्षमता हो, त्यो धेरै मानिसमा हुँदैन । अहिले पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ । पर्यो भने खसीको एककेजी मासु मज्जासँग खान सक्नुहुन्छ । आनन्दसँग जीवन बिताउनुहुन्छ । र, कसैले केही कुरा भन्दियो भने चित्त नदुखाउने बानी राम्रो छ । आफू पनि प्रष्टसँग भन्ने बानी छ उहाँको । मनैदेखि मानिस सफा हुनुपर्छ भन्ने उहाँबाट शिक्षा लिएको छु । मनमा लागेका कुरा गुम्साएर राख्नुहुन्न । 

बुबाको निर्णय पनि राम्रो लाग्छ मलाई । मेरो सानीदिदीलाई साथीभाईसँग कुरा भएको भरमा ओखलढुंगाको मानिस(पुरुषोत्तम दाहाल)लाई दिनुभयो । मेरो सानो भिनाजू दाहाल वरिष्ठ पत्रकार पनि हुनुहुन्छ । त्यसबेला कम्युनिकेसन थिएन, यातायातको सुविधा थिएन, तर त्यस्तो बेलामा समेत कहाँ बर्दियाको मान्छेले ओखलढुंगाको केटोलाई छोरी दिने त्यो डिसिजन पनि साच्चिकै ठीक थियो । बुबाले यो प्रमाणित गर्नुभयो । बुबाका अन्य निर्णय पनि यस्तै छन्, उहाँले आफ्नो निर्णयका कारण पश्चताप गरेको मलाई थाहा छैन । 

बुबालाई बर्दियाको थारु समुदायमा निकै ठूलो इज्जत छ, धेरैले सम्मान गर्छन् । त्यो समाजले हामीलाई पनि औधी माया गर्छ । यसको एउटा उदाहरण छ, म सानै छँदा बर्दियाको हाम्रो घरमा आगो लागेछ, आगलागीले हाम्रो सबैथोक जल्यो रे । आगलागीपछि बर्दिया छाड्न खोज्नुभएको बुबालाई त्यहाँको थारु समुदायले रोकेछ । काठको घर बनाइदिएछन्, लत्ताकपडा, केही समयसम्म खानपुग्ने चामलदाल दिएछन् । यहीकारण मेरो बुबाको नजिकको आफन्त थारुहरु रहेका छन् । 

थारुहरु आजको दिनमा पनि सोझो जात हो, पुरानो पुस्ताका थारुलाई लिएर प्रशासनिक कामका लागि जाने, सहजता बनाइदिने काम गर्नुहुन्छ बुबाले । उहाँको सहयोगी भावना, इमानदारिता राम्रो छ । उहाँ बर्दिया छाड्न चाहनुहुन्न । बंगलामुखी मन्दिर छ, त्यहाँको मन्दिरमा व्यवस्थापनमा उहाँ नै ०३९ सालदेखि अध्यक्ष हुनुहुन्छ । 

पैसासँग जोडिएको कुनै स्मरण ?
मैले अहिले यो भनेँ भने बुबाको चित्त पनि दुख्ला । म पत्रकारिता गर्थेँ त्यसबेला । १९९४ मा मैले स्वीडेन जाने अवसर पाएँ, त्यसमा स्थापित पत्रकारहरु हुनुहुन्थ्यो । त्योबेला मसँग एकरुपैयाँ पनि थिएन । त्यसबेला बुबासँग पैसा मागेको थिएँ, सायद केही मिलेन होला, पाइँन । तर यो कुराले मेरो बुबालाई पछिसम्म पनि थकथक बनाइरहेको देख्छु म । आजको  दिनमा पनि त्यो कुरा सम्झिएर मलाई पीडा हुन्छ भन्नुहुन्छ उहाँ । तर, मैले भन्ने गरेको छु-के चिन्ता लिनुहुन्छ, त्यो सामान्य कुरा हो । फेरि मेरो त्यसबेला एकरुपैयाँ पनि खर्च भएन भन्छु । 

बुबाले अरुलाई भनेको सुन्छु-यसले हामीलाई कहिल्यै दुःख दिएन । बच्चा थियो पेन्टिङ गथ्र्यो र कमायो । म सानोमा समेत राजारानीको फोटो बनाएर अफिसहरुलाई बेच्थेँ । नेपालगञ्जमा आइकम पास गरेपछि काठमाण्डौ आएपछि पनि मैले पेन्टिङ गरेर कमाएँ । त्यसपछि केही पत्रकारिता समेत गर्न थालियो । मेरो सानो भिनाजूले नै मलाई पत्रकारितामा लगाइदिनुभएको थियो । अहिलेका डा. विपिन अधिकारी सम्पादक हुनुहुन्थ्यो, म सहसम्पादकको रुपमा स्वशासन सन्देश भन्ने पत्रिकाामा काम गर्यौं । त्यो क्रममा मैले धेरैजनाको अन्तर्वार्ता लिएको थिएँ, त्योबेला महिनाको १५०० रुपैयाँ तलब आउथ्यो । त्यतिले मलाई पुग्थ्यो, मेरा खास सौखहरु पनि छैनन् । 

यहीकारण ‘यसले आफैं गर्यो, भाईहरुलाई पनि उठायो’ भन्नु हुँदो रहेछ ।

पोखरेलको ३ पुस्ता । 

पूरा नभएको सपना 
मेरो बुबालाई छोराहरुले सरकारी जागिर खाउन् भन्ने चाहना थियो । त्यो जमाना पनि त्यस्तै थियो, सरकारी जागिर नै आकर्षण थियो । बुबाको त्यो सपना त पूरा भएन, तर, बुबा अहिले खुशी हुनुहुन्छ । बैंकमा आउनुअघि पनि बुबा खुशी हुनुुहुन्थ्यो, किनभने म त्यसबेला पनि क्याम्पस प्रमुख थिएँ । छोराले राम्रो गरेको छ भन्ने बुबालाई लाग्थ्यो । बैंकमा आएकोमा बुबा अझै खुशी हुनुहुन्छ । किनभने हाम्रा धेरै ठाउँमा शाखा छन्, बर्दियामा पनि शाखा छ । म घर जान्छु, मान्छेहरु भेट्न आउँछन् । जागिर लगाइदिन भन्दै आउँछन् । बुबाकामो पनि मान्छेहरु पुगिरहेका हुन्छन् । बुबालाई हाम्रो नियम कानून पनि बताउन सक्दिँन । हामीकहाँ जे क्राइटेरिया छ, त्यो कडा छ । कसैले त्यो पूरा गर्यो भने मात्र परीक्षामा बस्न पाउँछ ।

मैले घर बनाएँ काठमाण्डौमा । यहाँ घर बनाउन गाह्रै छ । यसले समेत बुबालाई यसले बैंकमा जागिर नखाएको भए घर बनाउन सक्थेन भन्ने लागेको छ । अझ मेरो छोरा अमेरिका गएपछि बैंककै कारण छोराले यो हैसियत बनाएको छ भन्ने मेरो बुबालाई महसुस भएको हुनसक्छ । 

के हो बुबा  ?
बुबा भन्ने पात्र एउटा जिम्मेवार पात्र हो । बुबाले धेरै कुरा देखाउन पनि नसक्ने रहेछ । केही दिनअघि मात्र मेरो छोरा अध्ययनको सिलसिलामा अमेरिका गयो । म कोठामा आएर धेरै रोएँ । मैले त्यो बच्चालाई कहिल्यै छोडेकै थिएन । मलाई धेरै आँसु आयो, मैले त्यो कविता पनि लेखेँ, त्यो कविता मेरी पत्नीलाई मात्र सेयर गरेँ । 

किनभने बुबाहरुले आँसु देखाउन पनि नमिल्ने, पत्नीलाई पनि देखाउन नमिल्ने । 

बुबाका लागि गर्न नसकेको केही काम ?
त्यस्तो कुनै काम पनि गर्न नसकेको भन्ने छैन । मैले बुबालाई सबै हिसाबले खुशी बनाएको छु जस्तो लाग्छ । बुबा मदेखि धेरै खुशी हुनुहुन्छ जस्तो लाग्छ । 

ममा एउटै चिज, बुबा आमासँग धेरै समय बस्न पाइँन भन्ने गुनासो छ । 

कहिलेकाही रिसाइन्छ, ठूलो कुरा भएन । दुःख दिने, अप्ठ्यारो पार्ने काम गरिएन । बुबाको इज्जत बढाउने काममै लागेको छु । 

बुबाको मुख हेर्ने दिन
म सधैं ४ बजेर ५५ मिनेटमा उठ्छु र रेडियो नेपाल खोल्छु । मलाई त्यसमा पशुपतिनाथको धुन औधी मन पर्छ । त्यसपछि म त्यहाँ जीवनविज्ञान सुन्छु र त्यसपछि कृपालुजी महाराजको प्रवचन सुन्छु । त्यसपछि प्रत्येक दिन म मेरा बैंकको सबै स्टाफको जन्मदिनको शुभकामना दिन्छु, यो मेरो दैनिक रुटिन हो । मसँग भएका साथीभाई र आफन्तलाई बर्थडे विस गर्छु । बुबा ५ बजे उठिसक्नुभएको हुन्छ । बुबाको मुख हेर्ने दिन म चाँडै फोन गर्छु र आशिर्वाद लिन्छु । बुबा म के गरौं भनेर सोध्छु पनि । उहाँले केही गर्नुपर्दैन, सबै त तैले गरेको छस नि भन्नुहुन्छ । बुबालाई गर्दा आमातिरको ७ जना दिदीबहिनीतर्फका ठूलाबुबा र सानोबुबालाई पनि सम्झिन्छु । बुबातिरको काकाबुबाहरुलाई पनि सम्झिन्छु । त्यो दिन सबैतिर म्यासेज जान्छ । आमाको मुख हेर्ने दिन पनि सबै आमाहरुलाई सम्झिन्छु । 

तर, बुबाको मुख हेर्ने दिन नै बुबासँग भेट नभएको निकै धेरै वर्ष भयो । भेट गर्ने मौका मिलेको छैन, अब मिल्छ भन्ने आशा गर्छु । 

कता गइरहेको छ समाज ?
अहिलेको जीवन व्यस्तता भयो । मानिसले आफूलाई व्यवस्थापन गर्दा गर्दै समयको अभाव झेलिरहेको छ । आर्थिक रुपमा मानिस बलियो त भयो, तर भावनात्मक रुपमा मानिस धेरै कमजोर भइरहेको छ । बुबाहरुको अनुभवले धेरै ठूलो अर्थ राख्छ । यो हाम्रो मात्र समाजको कुरा होइन जस्तो लाग्छ, सबै ठाउँमा त्यही समस्या छ जस्तो लाग्छ । हिन्दू परम्परामा आमाबुबाको निकै ठूलो महत्व छ । 

आन्दोलन र द्वन्द्वका कारण धेरै सन्तान बाहिर गएका छन् । क्षतविक्षत भएको छ हाम्रो समाजमा । धेरै कुरामा हामीले परिवर्तन त गर्यौं, तर नैतिक शिक्षा भूल्यौ । अहिले नैतिक शिक्षा पढाइन्न स्कूलमा । हामीले धेरै कुरा बिर्सिदै गएका छौ, बिस्तारै हामी अर्कै अर्कै लाइनमा लागिरहेका छौ । अत्यन्त आधुनिकपनलाई हामीले अँगाल्दै र मौलिकपन बिर्सिदै गयौं । बुबाको मुख हेर्ने दिन कतिपयलाई थाहा पनि हुँदैन । कतिपय नयाँ पुस्तालाई त यो दिनको महत्वको बिषयमा थाहा पनि छैन होला । 
(कुराकानीमा आधारित)