– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ। बजार चारै दिन ओरालो लागेको छ। 

अघिल्लो साता बजार २१८२.६४ अंकमा बन्द भएको बजार यो साता २०७०.४१ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ११२.२३ अंकको गिरावट आएको छ। अघिल्लो साता बजार ८७.१ अंकले बढेको थियो।

यो साता बजारमा ८ अर्ब १४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता भने १२ अर्ब ३५ करोड रुपैयाँबराबर कारोबार भएको थियो। यस हिसाबले यो साता कारोबार र सूचक दुवैमा गिरावट आएको छ। 

प्राविधिक पक्ष

डाउ थेउरीका आधारमा 

डाउ थेउरी भनेको चाल्र्स एच डाउले १९०० सेञ्चुरीमा सेयरको प्राइस मुभमेन्टका आधारमा ट्रेन्ड पत्ता लगाउने एउटा विधि हो। यसमा  बजार अप ट्रेन्डमा छ वा डाउन ट्रेन्डमा जाँदैछ भनेर हेर्ने गरिन्छ। यसमा बजार तथा सेयरको मूल्यरेखाहरुले हायर हाई (अघिल्लो उच्च विन्दुभन्दा पछिल्लो उच्च विन्दु माथि) बन्दै गएमा बजार अप ट्रेन्ड र लोवर लो (अघिल्लो न्यून विन्दुभन्दा पछिल्लो न्यून विन्दु झनै तल) बनेमा यसलाई डाउन ट्रेन्ड बनेको बुझ्न सकिन्छ। 

बजारको पछिल्लो अवस्थालाई हेर्दा करिब २२७५ बाट खसेको बजार तल–माथि गर्दै यो साता २०७० को विन्दुमा बन्द भएको छ। यस क्रममा बजारले २१०० बाट तल झरेपछि पछिल्लोपटकको नयाँ न्यून विन्दु बनाएर लोवर लो बनाएको छ। यसले हालको बजार डाउन ट्रेन्डतर्फ लागेको देखिन्छ।  (हेर्नुहोस् तस्बिरमा) 

यसबाट अल्पकालका लागि बजार डाउन ट्रेन्डमा लागेको देखिन्छ। तर, लामो समयावधिका  लागि भने बजार २००० माथि रहुन्जेल बुल ट्रेन्ड नै रहेको भन्न सकिन्छ। 

क्यान्डल स्टिकका आधारमा 

क्यान्डल स्टिकका आधारम बजारलाई हेर्दा यो साता बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसलाई अघिल्लो साताको क्यान्डलका आधारमा हेर्दा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब रहेको बुझिन्छ। यो साता घटेको बजार गत साता बढेको थियो। तर, अघिल्लो साता पनि बजार घटेको नै थियो। यी तीनवटा क्यान्डलाई मिलाएर हेर्दा बजारमा बुलिस स्यान्डविच क्यान्डल बनेको देखिन्छ। 

बुलिस स्यान्डविच क्यान्डल भनेको के हो ? 

यदि घट्दो बजारमा तीनवटा क्यान्डलमा पहिलो क्यान्डल रातो क्यान्डल बन्छ र दोस्रो क्यान्डल हरियो बन्छ तर ग्याप–अप ओपनिङमा खुल्छ र तेस्रो क्यान्डल दोस्रो क्यान्डलभन्दा माथि खुल्छ र पहिलो क्यान्डलभन्दा तल बन्द हुन्छ भने त्यसलाई बुलिस स्यान्डविच क्यान्डल भन्न सकिन्छ। गएका साता बनेका तीन  क्यान्डललाई हेर्दा यस्तो आकृति बनेको देखिन्छ।  यसको भ्यालिडिटीका लागि भने आगामी साता बन्ने क्यान्डल हरियो मारुबुजु क्यान्डल बन्नुपर्ने हुन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

साप्ताहिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले अप्पर ब्यान्डमा रातो क्यान्डल बनाएर झरेको छ। त्यसपछि एउटा हरियो क्यान्डल र एउटा रातो क्यान्डल बनेको छ। अप्पर ब्यान्डबाट झरेको बजार बोलिंगर ब्यान्डको मध्य ब्यान्डसम्म आउन सक्छ। आरएसआईमार्फत हेर्दा हाल ५३ को न्युट्रल विन्दुमा रहेको छ। 

साप्ताहिक चार्टमै  म्याक्डीमार्फत हेर्दा बजारमा हिस्टोग्राम सकारात्मक रहेका छन् भने गएको  अक्टोबरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। यसले दीर्घकालमा बजार बुलिस नै रहेको बुझिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २३६१
  • प्रतिरोध २– २२८७
  • प्रतिरोध ३– २३६१

पिभट प्वइन्टः  २१६१

घटेमा सपोर्ट 

  • सपोर्ट १– २१०८
  • सपोर्ट २– २०३४
  • सपोर्ट ३– १९८१

निष्कर्ष
यो साता सेयर बजारमा भारी अंकमा गिरावट आएको छ। झन्डै ११२ अंकले घटेको बजारमा यो साता कारोबार पनि अघिल्लो साताको तुलनामा करिब साढे ४ अर्ब रुपैयाँले कमी आएको छ। यस हिसाबले यो साता भोलुम र सूचक दुवैमा गिरावट आएको छ। 

प्राविधिक रुपमा सानो टाइम फेरेममा हेर्दा बजारमा बिक्री दबाब परेको देखिन्छ। सानो टाइम फेरेममा डाउ थेउरीमार्फत हेर्दा बजारले लोवर लो बनाएको छ। यसले बजार बियरिस हुँदै गएको देखिन्छ। तर, बजारलाई क्यान्डल स्टिक प्याट्रनबाट हेर्दा भने विस्तारै घट्ने क्रम अब रोकिन सक्ने देखिन्छ। तीन साताको क्यान्डल हेर्दा बुलिस स्यान्डविच क्यान्डल बनेको देखिन्छ। यसले आगामी साता बजार सम्हालिन सक्ने अवस्था पनि त्यत्तिकै देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।