• किरणकुमार श्रेष्ठ(प्रमुख कार्यकारी अधिकृत)राष्ट्रिय वाणिज्य बैंक

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा सीइओ बनेर प्रवेश गर्दै गर्दा बैंकको अवस्था जस्तो थियो, त्यसमा ४ वर्षको अन्तरालमा निकै ठूलो परिवर्तन आएको छ । बैंकको वित्तीय अवस्था र भौतिक पूर्वाधारमा पनि निकै ठूलो सुधार देखिएको छ । यो कसरी संभव भयो ? 
तपाईले भनेजस्तो आजभन्दा लगभग ४ वर्षअघि म यो बैंकमा सीइओको रुपमा प्रवेश गरेको थिएँ । त्यसबेला मैले भनेको थिएँ–यो बैंकलाई देशकै राम्रो, सवल र नम्बर वान बैंक बनाइनेछ भनेर । हरेक हिसाबले यो बैंकलाई प्रतिस्पर्धी र अन्य बैंकको तुलनामा राम्रो बनाउँछौ भनेको थिएँ । नभन्दै आजको अवस्थामा हाम्रो वित्तीय सूचक सबैभन्दा सवल भयो । निक्षेप संकलनको सवालमा, कर्जा लगानीदेखि कमाईको सवालमा ठूलै खालको परिवर्तनका फिगरहरु देखिएका छन्। 

हामीले भौतिक कुराहरुमा पनि सुधार र परिवर्तन गरेका छौ । हाम्रा सेवाहरुमा समेत सुधार गर्ने प्रयास गर्यौं र गरिरहेकै छौ । 

पहिलो कुरा राष्ट्रिय वाणिज्य बैंकसँग स्रोतसाधनको कमी थिएन । जुन स्रोत साधनलाई हामीले भरपूर उपयोग गर्ने वा बिजिनेशको रुपमा लाने भन्ने कुरामा निकै ठूलो ग्याप थियो । तथ्याङ्ककै रुपमा भन्नुपर्दा नेपाल राष्ट्रबैंकको व्यवस्था अनुसार सीसीडी रेसियो ८० प्रतिशतसम्म जान पाइन्छ । अहिलेको बजारमा ८० प्रतिशतको सीसीडी पनि कम भयो भन्ने खालको अवस्था छ । तर, म यो बैंकमा आउँदा सीसीडी रेसियो जम्मा ५६ प्रतिशतमा सीमित थियो । यसको अर्थ ५६ र ८० बीचमा एकदमै ठूलो ग्याप थियो भन्ने हो । त्यो ग्यापलाई मैले क्रमशः साँघुरो बनाएँ । अहिले हामी लगभग ८० प्रतिशतको हाराहारीमा पुग्यौं । यसको अर्थ यो ४ वर्षे अवधिमा रिसोर्सेजलाई हामीले एकदमै धेरै उपयोग गर्यौं भन्ने हो । त्यसको मल्टिप्लायर इफेक्टहरु अहिले देखिएको हो । एउटा इफेक्ट–बिजिनेश भोल्यूम बढ्यो, यो बढ्नेबित्तिकै कस्टूमर बेस बढ्यो । यो बढाउनु भनेकै विभिन्न सेक्टरमा जाने अवस्था भयो । त्यसले गर्दा बिजिनेश विस्तारमा ग्रोथ भयो र त्यसको अन्तिम रिजल्ट प्रफिटमा देखियो । 

दोश्रो, यो बीचमा करिब १ हजार नयाँ कर्मचारी थपिए । ती कर्मचारीहरु लोकसेवाको ठूलो प्रतिस्पर्धाबाट छनौट भएर आएका थिए । यी जनशक्ति युवा, उत्साही र डाइनामिक खालका थिए । नयाँ जोश र जाँगरसहित आएकालाई तत्कालै ट्रेन गर्ने अवसर भयो र नयाँ शैलीमा उनीहरुलाई परिचालन गर्न सजिलो भयो । यद्यपि पुरानै जनशक्ति पनि धेरै थियो । त्यो ठूलो संख्यामा जाँदा केही पीडा महसुस पनि भएकै हो । करिब १३०० पुरानो जनशक्ति गयो । त्यो ग्यापको अवस्थामा नयाँले त्यसको परिपूर्ति गरियो । मानव संसाधन परिचालनमा समेत हामीले विशेष ध्यान दियौं । 

तेश्रो, हामीले तल्लोस्तरमा म्यासिभ ढंगले तालिम संचालन गर्यौं । ओरिएन्टेसन कार्यक्रम चलायौं र कर्मचारीलाई ट्रेन गर्यौं ।

अर्को, म आफैंले हाम्रा कर्मचारी साथीहरुलाई प्रष्ट भिजन भनेको थिएँ सुरुमै । ‘हामीसँग यत्रो सरकारको ब्याकअप, नेकटवर्क र स्रोत छ । अब हामी–तपाई मिलेर यो बैंकलाई औसत बनाउने होइन’ । औसत त थियौ नै । यी सबै कुरा हेर्दा मैले नम्बर वान हुनसक्छ, नम्बर वान बनाउन सकिन्छ भनेर घोषणा गरेको थिएँ । ममा विकास भएको आत्मविश्वास साथीहरुसँग सेयर गरेँ । मानिस(कर्मचारी)हरुमा त्यो जुनुन सवार गर्न प्रेरित गरेँ । सबै इण्डीकेटरमा हामी एकनम्बर बन्न सकिन्छ भन्ने आत्मविश्वास हाम्रो टिममा जागृत भयो, तलदेखि माथिसम्मै । कहाँ जाने भन्ने लक्ष्य हामीले पायौं । सगरमाथाको चुचुरोमा पुग्नुछ भने बेसक्यापबाट कसरी जाने भन्ने कुरा हुन्छ । हामीमा पनि एउटा मानसिकता तयार भयो, जागृति आयो । हामी सबैले इमानदारितापूर्वक त्यो दिशामा काम गर्यौं, जसले गर्दा जागिरे प्रवृतिभन्दा पनि फरक ढंगले काम सुरु भयो । १० बजे अफिस आएर ५ बजे घर जाने प्रवृतिर्लाइ त्यागेर साथीहरुले पनि मैले देखेको सपनालाई साझा सपना बनाएर त्यसलाई यथार्थमा परिणत गर्ने अभियानमा लाग्नुभयो । हामीले लक्ष्यलाई अर्जुनदृष्टिमा राख्यौं । लक्ष्य प्राप्तिको निश्चित अवधि नै तोकेर अगाडि बढ्यौं । हाम्रा तल्ला लेभलका कर्मचारीसम्मै पनि यो कुरालाई राम्रोसँग बुझाउन सक्यौं । 

वित्तीय सूचकमा मात्र सुधार गरेर हुन्न, भौतिक पूर्वाधारमा समेत ठूलो सुधार र परिर्वत गर्नुपर्छ भन्ने कुरा महसुस भयो । त्यो बेला हाम्रा धेरै शाखामा आधारभूत र अति आवश्यक वस्तु पनि नभएको पाइयो । उदाहरणका लागि इसीसी मेसिन नभएको, एटीएम पनि कम संख्यामा भएको । तराईको गर्मीमा शाखा कार्यालयहरुमा एसीको सुविधा पनि नभएको अवस्था थियो । साइनबोर्ड पनि धूलामैला र फोहोरमैला देखियो । आधारभूत कुरा सबै पुर्याउनतर्फ लाग्यौं । त्यो ग्यापलाई पूरा गर्यौ । यसले तलसम्मै सकारात्मक परिवर्तनको संचार भयो, ‘अब त हामीसँग सबै छ है’ भन्ने सबै कर्मचारीलाई अनुभूत भयो ।  ‘इसीसी मेसिन छैन, फोटोकपी मसिन छैन, फर्निचर, कम्प्युटर छैन। कसरी काम गर्ने ?’ भन्ने गुनासो आउन बन्द भयो । यसले कर्मचारी तथा शाखाहरुमा सेटिस्फेक्सन लेभल बढ्यो । कर्मचारीहरुमा अभूतपूर्व आत्मविश्वास बढेको देखियो । पुराना र डेटएक्सपायर चिजहरुलाई नष्ट गरेर अगाडि बढ्यौं । ५० वर्षदेखि कागजहरु थुप्रिएर बसेका थिए, पुराना सामाग्री सबै तह लगाउने काम गर्यौं । 

यी २–३ वटा कुराहरुले यो सुधार संभव भएको हो । अब हामी प्रतिस्पर्धामा जान सकिन्छ भन्ने फिल भयो । यो कुराको कम्बिनेशनले प्रत्येक वर्ष रिजल्ट देखाउन थाल्यो । २ अर्ब ३५ करोडबाट नाफा बढेर ५ अर्ब बढीको अवस्थामा पुग्यो ।

केही वर्षअघिको एउटा कुरा तपाईलाई स्मरण गराउन चाहन्छु। गोकर्णमा बैंकको एउटा कार्यक्रम थियो । मैले ५ अर्ब नाफा कमाउन सक्छु भनेँ, त्यो भन्दा धेरैलाई विश्वास पनि लागेन । धेरै बैंकको नाफा २ अर्बमा सीमित थियो त्यो बेला । धेरैले सरले यो चाहि असंभव कुरा गर्नुभयो पनि भने । तर, आज आएर मैले बोलेको कुरा यथार्थमा परिणत भयो । किनभने मैले त्यसबेला हिसाबकिताब गरेरै बोलेको थिएँ । 

तपाई प्रवेश गर्दै गर्दा र अहिलेको केही प्रमुख वित्तीय सूचकहरुको तुलना गरी हेरौं न ।
त्यतिबेला मैले प्रवेश गर्दा २ अर्ब ३५ करोडको प्रफिट थियो । त्यो अहिले आएर ५ अर्ब ४ करोड ६५ लाख माथि पुगेको छ । लोन ८५ अर्ब थियो, अहिले १ खर्ब ४६ अर्ब माथि पुगेको छ। डिपोजिट १ खर्ब ४६ अर्ब बढेर १ खर्ब ९० अर्ब भएको छ । नेटवर्थ ८६ करोड थियो, अहिले २ अर्ब १५ करोड भएको छ । खूद ब्याज आम्दानी त्यतिबेला ५५ करोड ४९ लाख बढेर ९९ करोड भएको छ । सीडी रेसियो बढेको छ । शाखाको संख्या १५७ बाट बढेर २३८ शाखा भइसकेका छौ । ८० एटीएम थिए २०५ पुगिसकेको छ । ग्राहक २८ लाख थिए अहिले आएर ३२ लाख पुगिसकेका छन् ।

हाम्रो पछिल्लो रिपोर्टमा पनि हामी एकनम्बरमै छौं । पहिलो त्रैमासका आधारमा मात्र होइन, दोश्रो त्रैमासको आधारमा पनि हामी नम्बर वानमै छौ । 

यो वर्ष चाहि प्रफिट कति पुग्ला ?
बैंकिङ क्षेत्रमा नेपाल राष्ट्रबैंकले स्प्रेड रेटको नयाँ व्यवस्था गरेको छ । असारसम्ममा हामीले ४.४ प्रतिशतमा त्यसलाई सीमित गर्नुपर्नेछ । त्यसले गर्दा प्रफिटको ग्रोथमा केही संकुचन आउन सक्ला । 

हामीमाथि आरोप र गुनासोहरु पनि थिए कि राबा बैंकमा डिपोजिटरले न्याय पाएनन् भनेर । हामीलाई धेरैतिरबाट ‘डिपोजिटरमैत्री हुनुपर्छ’ भन्ने कुरा बारम्बार आएको थियो । यो वर्ष हामीले सुरुदेखि नै डिपोजिटमा ध्यान दियौं, राम्रोसँगले बढ्यो पनि । हिजो हाम्रो साधारण डिपोजिटमा ब्याज २ प्रतिशतसम्म थियो भने अहिले ४ प्रतिशत पुर्याएका छौ । विशेष बचतको ६ प्रतिशत र मुद्धतिको ९.७५ प्रतिशत पुर्याएका छौ । यसरी हेर्दा पनि हाम्रो बैंकको नाफा यो वर्ष पनि ५ अर्ब घट्दैन । तर, प्रफिटको ग्रोथमा चाहि तुलनात्मक रुपमा केही कमी आउनेछ । 

राबा बैंकमाथि लाग्ने गरेको अर्को एउटा आरोप पनि छ–यो बैंकले सबै कुरामा सुधार ल्यायो, धूलोमैलो सफा गर्यो, वित्तीय स्वास्थ्य राम्रो बनायो । तर, सेवा प्रवाहमा अझै ढिलासुस्ती छ । निजी क्षेत्रको बैंकको तुलनामा कस्टूमर सर्भिस झूर छ भन्ने आरोप छ । यो कुुरामा किन सुधार नभएको ?
हो अहिले धेरै आएको गुनासो हो यो । यसमा दुईवटा कारण छन् । पहिलो कारण, अहिले हाम्रो बैंकमा जति दरबन्दी किटान गरिएको छ, त्यसमा १ हजार मानिस कमी छन्, यो ठूलो ग्यापको अवस्था हो । ६६१ जनाको एक वर्षअघि विज्ञापन गरेका थियौं, लामो प्रक्रियाले गर्दा, अदालतमा मुद्धा परेका कारण, ती मानिस ब्लक भए । ३५० को नयाँ विज्ञापन पनि रोकियो । ६६१ कर्मचारी नहुँदा त्यसको प्रभाव कस्टूमर सर्भिसमा पर्यो । यो मुख्य कारण हो । 

अर्को कारण, हाम्रो टेक्नोलोजी पनि हो । हिजोको म्यानुअलबाट टेक्नोलोजीमा त आयौं । तर, त्यो टेक्नोलोजी युगअनुकूल भएन कि भन्ने हो । यसकारण प्रविधिको इन्ह्यान्समेन्ट गर्नतर्फ हामी लागेका छौं।

तेश्रो, हामी सरकारी बैंक भएकोले अरुभन्दा बढी नीतिनियममा टाइट हुनुपर्ने अवस्था छ । नेपाल राष्ट्रबैंकको सुपरीभिजन छँदैछ, त्योबाहेक पनि हामीलाई हेर्ने अरु निकाय छन् । धेरै ठाउँप्रति हाम्रो जवाफदेहिता हुन्छ । त्यसकारण हामी अलिक बढी नियमहरुमा ध्यान दिन्छौ । अलिक बढी कागजपत्र चाहिन्छ । र, एउटा फेयरनेश चाहिन्छ भन्ने हाम्रो नीति हो । तलदेखि माथिसम्म हामीमा यो मानसिकता र प्रक्रिया छ । बन्देजहरुले पनि यस्तो भएकै हो भन्ने बुझ्नुपर्छ । 

तर, अस्ती आइतबारदेखि नयाँ भर्नाको केही पदहरु खुलेको छ । अघि मैले भनेको ६६१ मध्ये २५० जना मानिस फागुनको पहिलो सातासम्म आइपुग्ने भए । यसले पनि कस्टूमर सर्भिसमा केही सुधार होला । 

यस्तै, हामीले नयाँ आइटी रोडम्याप पनि बनाएका छौ । एकवर्षभित्र ठूलो परिवर्तन गदैैछौ, त्यसको सुरुवात भएको छ । यसपछि यो गुनासो अझै कम होला ।  

तेश्रो, जति पनि नियम तथा प्रोसिडरहरु छन्, त्यसमा पनि सुधार आवश्यक छ । यो कुरा बोर्ड लेभलमा पनि महसुस भएको छ । हाम्रो सेवामा जनशक्तिलाई ल्याउनुपर्छ, प्रविधिमा सुधार, अनावश्यक प्रक्रिया छ भने हटाएर जानुपर्छ भन्ने महसुस भएको छ । यी तीन सुधारले हामीले यो गुनासो कम गर्न सक्छौ होला । 

मैले यो पटकको बजेटको नारा नै राखेको छु–‘क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन’ । क्लिनको कुरा गरेँ, फिजिकल र बुक क्लिनको कुरा । स्मार्टको कुरा टेक्नोलोजी, मानव संसाधनसँग जोडेँ । कन्सोलिडेसनमा सिस्टम डेभलपममेन्ट, पोलिसी प्रोसेस रिभ्यू लगायतका कुराहरु छन् । यी काम पनि कम्प्लिट भयो भने राबा बैंक निकै राम्रो बैंक बन्नेछ । हामी डिपोजिट, प्रफिट, कस्टूमरमा मात्र होइन, सबैमा नम्बर वान बन्नेछौ । 

यहाँसँग सहमत हुँदा राष्ट्रिय वाणिज्य बैंकलाई अझै धेरै कोणबाट सुधार गर्न बाँकी नै छ । सुधार गर्नुपर्ने कामहरु बाँकी रहेकै अवस्थामा तपाईको कार्यकाल चैतमा सकिँदैछ । अब के हुन्छ ? राम्रो काम गरिरहेको व्यक्तिको यही जिम्मेवारीमा निरन्तरता दिइनुपर्ने माग पनि हुनसक्ला ? अथवा तपाईको भनाई र योजना के हो ?
हाम्रो ठूलो बैंक हो । लामो इतिहास बोकेको बैंक हो । यसको आफ्नै पृष्ठभूमि, लिगेसी, परम्पराहरु छन् । अर्कोतर्फ, यो उद्योगमा निकै ठूलो प्रतिस्पर्धा बढिरहेको छ। मर्जरका कारण ठूला–ठूला बैंक बनिरहेका छन् । आगामी दिनमा नयाँ खालका ठूलो चुनौतिहरु छन् । हिजो पनि चुनौति त थिए, तर अब नयाँ खालका ठूला चुनौतिको सामना गर्नुपर्नेछ । यो अवस्थामा राबा बैंकको नीति के हुन्छ त ? निकै ठूलो चुनौति छ ।

सबै बैंक आक्रामक छन् । मर्जरको प्रयासमै देखिन्छन् । सबैलाई नम्बर वान बन्ने चाहना छ । हिजो पो सरकारी बैंक नम्बर वान हुँदैन भन्ने थियो, त्यसको कुनै थ्रेट कसैलाई थिएन । आज त यो थ्रेट बन्यो, हामीले बनायौं । सरकारी बैंकका लागि पनि आगामी दिन अझै चुनौतिपूर्ण छ । यस्तो अवस्थामा मैले दुई तरिकाले हेरेको छु । एउटा–मलाई दिइएको जिम्मेवारी तथा मैले गरेका सम्झौताहरु एक–एक पूरा भएका छन् । सबै पूरा मात्र गरिन्, प्रतिबद्धता नगरेका सुधारका काम पनि गरेको छु। हिजो टार्गेट सेट नगरेका, सम्झौतामा नभएका कुराहरु पनि गरेको छु । मैले देखेका, अनुभवका कुरा पनि मैले गरेको छु। एउटा हदसम्म पुर्याउने काम भएको छ । राम्रा रिजल्टहरु आएका छन् । कत्तिको परिवर्तन भयो, बाहिरका व्यक्तिले भन्ने कुरा हो । तर, हामीलाई पनि त्यो अनुभूति भएको छ । हामीले केही फरक गरेका छौ भन्ने हाम्रो बुझाई छ । यो हिसाबले म सन्तोषजनक अवस्थामा छुजस्तो लाग्छ । 
र, आगामी दिनमा यसको मूल्याङ्कन गर्नेहरुको जिम्माको कुरा पनि हो बाँकी कुरा । उहाँहरुले के चाहनुुहुन्छ भन्ने कुराले आगामी दिन बनाउँछ । 

तर, राम्रो काम गर्ने व्यक्तिको आफ्नो इच्छाको कुरा पनि त हुन्छ होला नि त ?अवसर दिनेले अवसर दिए अर्को कार्यकालका लागि पनि म तयार छु भन्ने पनि त हुन्छ नि ! 
अहिले म ठ्याक्कै त्यो ठाउँमा पुुगेको छैन । अझै पनि काम गर्न बाँकी छ । केही काम सुरु गरेका अझै पूरा हुन बाँकी छ । केही समयपछि यो विषय तपाईसँग सेयर गर्छु । 

सहुलियतपूर्ण कर्जा प्रवाहमा राबा बैंक अरुभन्दा अगाडि छ । अहिलेको अवस्था के छ ?
सहुलियतपूर्ण कर्जा अहिले ९ वटा क्षेत्रमा दिइन्छ । सरकारको बैंक भएकोले हाम्रो यसमा विशेष प्राथमिकता पनि छ । देशका २६ वटा वाणिज्य बैंकबाट जति पनि सहुलियत कर्जा वितरण भएका छन्, त्यसमा ५० प्रतिशतभन्दा बढी हामीबाट मात्रै प्रवाह भएको छ । संख्यात्मक र रकमको हिसाबले हामी अगाडि छौ । तर, सबैभन्दा बढी गुनासो पनि यसैको विषयमा छ । 

एउटा गुनासो, बैंकहरुले कर्जा दिएनन् भन्ने छ । दोश्रो, यो कर्जाको शीर्षकलाई अलिकति समस्याको रुपमा लिन्छन्, यसलाई राम्ररी सम्बोधन गर्दैनन् । तेश्रो, कागजी प्रक्रिया लेन्दी भयो भन्ने कुरा छ । 

अब हामी यसलाई सम्बोधन गर्ने कोशिश गरिरहेका छौं । ब्याजदरको सिस्टम–बेस रेटमा प्लस टू प्रतिशत प्रिमियम लगाउने, महिलाको हकमा ६ र पूरुषको हकमा ५ प्रतिशत अनुदान दिने व्यवस्था छ । हाम्रोजस्तो थोरै बेस रेट भएको बैंकमा यो कर्जा ‘महासहुलियत कर्जा’को रुपमा पाउने अवस्था बनेको छ । यहीकारण अरुमा भन्दा हामीमा बढी चाप परेको छ । 

दुईवटा समस्या छ । एउटा, जेन्यून मान्छे छ, कुरा सुन्यो, काम गर्ने खालको छ । तर, उसले प्रपोजल बनाउन जान्दैन । मेरो आम्दानी कति हुन्छ, कति खर्च हुन्छ, कति नाफा हुन्छ, ५ वर्षभित्र कसरी लोन तिर्छु भन्ने जान्दैन । हामीले फरम्याट दिंदा पनि ऊ जान्दैन । यो खालको ग्यापमा सहजीकरण गर्न आवश्यक छ । 

युवा परिषदका साथीहरुले यो कुरा थाल्नुभएको छ । यो कुरामा सहजीकरण गर्न आवश्यक छ, सरकारी वा अन्य निकायको तर्फबाट । ताकि उसले भनेको कुरा एसेप्टेबल फरम्याटसहित बैंकमा प्रस्तावको रुपमा आओस् ।

अर्को, नकारात्मक खालको सोंच पनि छ । अन्ततगोत्वा यो कर्जा मिनाहा हुनसक्छ भन्ने गलत मानसिकता पनि छ । ‘यो तिर्नुपर्दैन, यो जसरी पनि लिइहालौं’ भन्ने खालका मानिस पनि देखिएका छन् । ‘भनसुन गरेर हुन्छ कि, प्रभावमा पारेर हुन्छ कि लिइहालौं’ भन्ने कतिपयको मानसिकता देखिन्छ। प्रोजेक्ट अर्काको देखाएर लोन लिने प्रवृति पनि देखिएको छ । पढेलेखेका जान्नेहरु पनि जेन्यून्लि आइरहेका छैनन् । पैसा कसरी लिने भन्ने मात्र ध्याउन्न छ । 

यसकारण पनि मैले पाइँन भन्ने धेरै गुनासा आइरहेका छन् । 

यही विषयलाई ध्यान दिएर हामीले केही व्यवस्था गरेका छौ । कर्मचारी अभावले पनि हामीले समयमा काम गर्न सकेका छैनौ । उपत्यकामा हामीले यसका लागि विशेष व्यवस्था गरेका छौ । उपत्यकाव्यापी म्यानेजरको भेलामा दिउँसो २ बजेपछिको डेडिकेटेड समय छुट्याउन भनेका छौ । २ बजेपछिको समय सहुलियत कर्जालाई मात्र दिन भनेका छौ । युवा परिषदका साथीहरुलाई पनि यो कुरा सेयर गरेका छौ । 

यो कर्जा उद्यमी बनाउनका लागि हो, बाँड्नका लागि होइन भन्ने कुरा बुझाउन आवश्यक छ । 

हामीले अहिलेसम्म ९५४ वटा सहुलियत कर्जा स्वीकृत गरेका छौ । ७८ करोड ७८ लाख ८० हजार पुस २७ गतेसम्म प्रवाह गरेका छौ । आएकामध्ये ४४७ अस्वीकृत पनि भए । जम्मा १४०१ वटा प्राप्त गरेका थियौं । सबैभन्दा बढी ५८ करोड बढी महिलामा गएको छ । अर्को खुशी लागेको चाहि दलित समुदायको कर्जा ७४ जनामा गएको छ । राम्रै खालको मान्नुपर्छ यो अवस्थालाई । हिजोको दिनमा आरन चलाइरहेको, जुत्ता सिलाइरहेको थियो, सिलाईको काम गरिरहेकाले समेत कर्जा लिएका छन् । भूकम्पपीडितलाई पनि गएको छ । 

हामीले अनुदानसहितको कृषि कर्जा पनि दिएका छौ । यो सबै जोडियो भने ७ अर्ब ९१ करोडको कर्जा गएको छ । अनुदानसहितको कृषि कर्जामा ७ हजार ५०० स्वीकृत भएको छ । 

सरकारी कार्यक्रम हो । हामी जतिसक्दो सक्छौ, अझै आक्रामक रुपमा जानेछौ । 

अर्कोे अघोषित कुरा, हामीले १ प्रतिशमा जानुपर्छ भनेर मैले भनेको छु। कुल कर्जाको १ प्रतिशत सहुलियत कर्जामा जानसक्ने हो भने हामीले मात्र यो शीर्षकमा १ अर्ब ६० करोड लोन प्रवाह गर्नुपर्ने रहेछ । आन्तरिक रुपमा साथीहरुलाई यो कुरा भनेको छु। सरकारी बैंक भएकोले सरकारी नीति तथा योजना लागू गर्दो रहेछ भन्ने विश्वास दिलाउनुछ । नभए निजी र सरकारी बैंकबीचको अन्तर के त ? सरकार र जनतामा पनि सावित गर्नुपर्छ कि सरकारी बैंकले साच्चिकै सरकारी कार्यक्रम लागू गर्दोरहेछ । भोलिका दिनमा हामीले १ अर्ब ६० करोडसम्म लोन प्रवाह गर्नसक्छौ । यसलाई बोझको रुपमा लिनुहुन्न भनेको छु साथीहरुलाई । 

सहुलियत कर्जाकै कुरा गर्दा तपाईहरुले बढी प्रवाह गर्नुभएको छ । त्यो कति क्वालिटीको योजनामा गयो भन्ने कुरा पनि त आउला नि ? कर्जा लिनेले त्यसको उपयोग गर्यो कि गरेन, जीवनस्तर र आयस्तरमा सुधार भयो कि भएन भन्ने पक्षलाई कसरी जाँचिरहनुभएको छ ?
तपाईले एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो । हामीले कर्जा त दियौं, तर त्यो बाँड्ने पैसा होइन । हामीले यो विषयको अध्ययन गर्न थर्डपार्टीलाई जिम्मा दिंदैछौ । यसको प्रभाव मूल्याङ्कन हुनुपर्छ । साच्चिकै गर्यो कि गरेन काम भन्ने कुरा हेरिनुपर्छ । यो विषयमा सेकेण्ड क्वार्टरभित्रमा रिभ्यू गर्ने भनिएको छ । यस्तो कर्जाको सदुपयोग हुनुपर्छ, नभए उद्देश्य नै पूरा हुँदैन । 

मर्जर, एक्वीजिसनपछि ठूलो बैैंक बन्ने र नम्बर वान हुने प्रतिस्पर्धा छ अहिलेको बैंकिङ उद्योगमा । आरबीबीको अबको बाटो के हुनसक्ला ? कसरी अगाडि बढ्नुपर्छ ?
मेरो व्यक्तिगत विचार हो है यो । निजी क्षेत्र र निजी तथा सरकारी मिश्रण भएको बैंकहरु छन् नेपालमा । एउटा सरकारी बैंक पनि छ । त्यसकारण राष्ट्रिय वाणिज्य बैंकलाई सरकारी बैंककै रुपमा राख्नुपर्छ भन्ने लाग्छ । तर, मर्जर र एक्वीजिसनले निम्त्याएको चुनौतिको सामना गर्न यसको पनि पूँजी वृद्धि चाहि हुनैपर्छ । सरकारले यसमा थप लगानी गरेर प्रतिस्पर्धी बन्न सक्नुपर्छ । भोलिका दिनहरुमा लाभांश प्लान गर्दा पनि ठूला बैंकसँग प्रतिस्पर्धा गर्ने ठूलो सरकारी बैंक बनाउने हिसाबले लान सक्नुपर्छ । 

यो विषयमा कुनै छलफल भएको छ ? 
औपचारिक छलफल त भएको छैन । तर, मोरललेस सबैको मानसिकता चाहि म यही देख्छु। सबै तहमा यो मानसिकता देख्छु। सुदृढ र बलियो एउटा सरकारी बैंक चाहिन्छ, यसलाई ठूलो पनि बनाउनुपर्छ भन्ने सोंच सबै तहमा छ । 

बैंकहरुलाई स्प्रेड दरमा कसियो । नियामकीय व्यवस्थाका कारण खर्चहरु बढे । यो वा त्यो नाममा बैंकको प्रफिट हिट हुने अवस्था पनि आयो ।

तपाईको व्यक्तिगत धारणामा स्प्रेड दरलाई घटाउनुपर्ने, सामान्य कर्जामा करचुक्ता प्रमाणपत्र चाहिने लगायतका व्यवस्था आएर ठीक भयो ? यसले हाम्रो विजिनेशमा हिट गरेको छ या छैन ? यी व्यवस्थामा परिमार्जन हुनुपर्छ या यही ठीक छ?
स्प्रेड रेट चाहि केही समयपछि ४.४ बाट ४ मै आउँछ होला जस्तो लाग्छ । अन्तराष्ट्रिय रुपमा पनि यो कुरा स्वीकारयोग्य नै मानिएला । अब हाम्रो विजिनेशको मानिसकताहरु फराकिलो पार्दै लैजानुपर्छ । नियमनमा जाने कुरामा सबै तयार हुनुपर्छ । हरेक कुरालाई ट्रयाकमा ल्याउने कुरा गर्नैपर्छ । तर, यसलाई दुईवटा कुरा गरे व्यवहारिक हुन्छ । कतिसम्मको विजिनेशले यो कुरा गर्ने, सानातिना व्यवसायलाई कुन खालको लचकता दिने, कुन टाइमलाइन दिने भन्ने व्यवस्था चाहि हुनुपर्छ । एकैपटक सबैलाई एउटै नियमले बाँध्दा समस्या आउनसक्छ । यसलाई समयबद्ध तालिका बनाएर अगाडि बढ्नुपर्छ । 

दोश्रो, अहिलेको बैंकिङ कसूर ऐनले पनि बैंकरहरुमा त्रासको अवस्था सिर्जना गरेको छ । केही अघि यस्तै घटना पनि भयो । यसले गर्दा हाम्रो बैंकिङ क्षेत्रको मौलिक खालको डिसिजन प्रक्रिया, अभ्यास, संरचनागत सिस्टमलाई हेरेर त्यो कानूनलाई परिमार्जन गर्नुपर्छ । गलत गर्नेलाई दण्डित गर्ने कुरामा विवाद भएन, तर हाम्रो मौलिक बैंकिङ अभ्यास के हो, कसरी बैंकिङ निर्णय हुन्छ, कसको जवाफदेहिता र जिम्मेवारी कति हुन्छ, कुनै निर्णय प्रक्रियामा डाइरेक्ट र इनडाइरेक्ट सहभागिता कसको कति हुन्छ भन्ने विषय पनि हेरिन आवश्यक छ । त्रासको वातावरण बनाइनुहुन्न । बैंकरहरुले त्रासरहित वातावरणमा काम गर्ने अवस्था बन्नुपर्छ । 

सरकारी बैंकको नेतृत्व गरिरहनुभएको छ । बैंकको सीइओ राम्रो विश्लेषक पनि हो । पछिल्लो कालको नेपालको अर्थतन्त्रलाई कसरी विश्लेषण गर्नुभएको छ ? हाम्रो अर्थतन्त्रको गाडी सही दिशातर्फ छ ? कतिपय बैंकर तथा विश्लेषक भन्छन्–बैंकबाट लोन माग हुन छाड्यो, उद्योगी कर्जा लिन चाहदैनन्, स्रोतको उपयोग भएन, आदि इत्यादि । तपाईको विश्लेषण के हो ?
सरकारको बैंकको सीइओ भएको हिसाबले भन्दिँन म । व्यक्तिगत हिसाबले भन्दा हाम्रो अर्थतन्त्र राम्रो दिशातर्फ अगाडि बढेको छ । अधिकांश आर्थिक परिसूचक राम्रा छन् । 

हिजो हामीले नियमन भोगिरहेका छौ, यसकारण कतिपय अवस्थामा कडाई महसुस गरेका छौ । विजिनेशमा ठूलो खालको ह्रास आएको छैन । १८ प्रतिशतसम्मको कर्जा ग्रोथ छ भने माग नभएको भन्न त मिलेन । १० वर्षदेखिको ट्रेण्डमा यही देखिन्छ । तर, यो डिमाण्डमा यो ग्रोथ अझै माथि जान सक्थ्यो, पथ्र्यो । हामीमा लोनेबल फण्डको अभाव छ । कर्जाको माग जसरी बढेको छ, डिपोजिट बढेको छैन । हाम्रोमा वित्तीय पहूँच अझै पुगेको छैन । 

अर्को, आन्तरिक स्रोतले मात्र पुग्दैन । ठूला परियोजनामा वैदेशिक लगानी चाहिन्छ । ५०० मेगावाटको आउन लाग्यो भने २० करोड हिसाब गर्दा ठूलो रकम चाहिन्छ । यस्ता योजनामा बैंकबाट जाँदा ठूलो पैसा जान्छ । ठूलो खालको परियोजनालाई वैदेशिक स्रोत ल्याउने काम गर्नुपर्छ । मौद्रिक नीतिले क्रमशः खुकुलो पार्दै ल्याएको छ डिपोजिट ल्याउने सवालमा । बैंक वित्तीय संस्था बाहेक अरु ठाउँबाट पनि ल्याउन पाउने भनिएको छ, यसलाई अझै फराकिलो पार्दै लगिनुपर्छ । 

वित्तीय पहुँच बढाउने, आन्तरिक निक्षेप बढाउने, वैदेशिक स्रोत भित्र्याउने र फण्ड ल्याउनका लागि सहजीकरण गरियो भने अझै यसले गति लिन्छ ।