– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आफ्नो आशय सेयरमा लगानी गर्नै हुन्न भन्ने नरहेको स्पष्ट पारेका छन्। 

बिजशालाकर्मीसँग पोखरास्थित आफ्नै निवासमा कुराकानी गर्दै पूर्वगभर्नर क्षेत्रीले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘यदि तपाइँले बचतको पैसाबाट कमाउन चाहनुहुन्छ भने बैंकमा राखेर ब्याज खानुभन्दा सेयरमा लगानी गर्नु उपयुक्त हुन्छ’, उनले भने, ‘आफ्नै पैसा हो र लामो समय कुर्न सक्नुहुन्छ भने सेयरमा दीर्घकालीन लगानी उचित हुन्छ, कम्पनीले दिने लाभांशले राम्रै रिटर्न हात पार्न सकिन्छ।’ 

गत भदौ २५ गते बिजशालामा प्रकाशित (नेप्से ७०० विन्दूमा झर्नुपर्छ, सुन्निएर ३२०० पुगेको हो) समाचारबाट निकै आलोचित बनेका राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्षसमेत क्षेत्रीले आफ्नो अडान कायमै राखे। अघिल्लो समाचारमा आएको आलोचनाप्रति कटाक्ष गर्दै क्षेत्रीले भने, ‘बिजशालामा प्रकाशित उक्त समाचारमा ९३ वटा कमेन्ट आएका रहेछन्, २ वटा त सकारात्मक नै छन् नि।’ क्षेत्रीले आफूले सही र सत्य कुरा गर्दा धेरैलाई नपचेको पनि बताए। 

अहिले नेपालको सेयर बजारको अवस्था विस्तार हुँदै गएको पनि क्षेत्रीले बताए। ‘तर, भारतको यति भयो, उति भयो भन्दै नेपालको सेयर बजारसँग दाँज्न उपयुक्त हुँदैन’, उनले भने। 

भारतको सेयर बजार उद्योगधन्दामा आधारित भएर बढेको चर्चा गर्दै क्षेत्रीले नेपालको सेयर बजार त्यसरी इन्डस्ट्रियल बेस नभइसकेको बताए। ‘सरकारले राजस्वलाई मात्रैभन्दा पनि रोजगारीलाई बढी ध्यान दिनुपर्छ’, उनले भने, ‘देशलाई कुन क्षेत्रबाट के–कति योगदान भयो, त्यो पनि हेरिनुपर्छ।’ 

सेयर बजार बढ्दा सबैले राम्रो भन्ने गरेको उल्लेख गर्दैै क्षेत्रीले घट्न थालेपछि बजारको अवस्थामा गम्भीर हुन सक्ने पनि चेतावनी दिए। ‘ऋण गरेर लगानी गर्दा भोलि आत्महत्या गर्न सक्ने अवस्थासम्म आउन पनि सक्छ’, उनले भने।

हाल कार्यान्वयनमा ल्याइएको सीडी रेसियोका विषयमा क्षेत्रीले समर्थन नै गरे। बैंकहरुले सानो ऋण तथा निक्षेप वास्ता नगरेको भन्दै उनले संस्थागतहरुलाई मात्रै हेर्ने र निक्षेपमा कमिसन खाने नराम्रो चलन रहेकोप्रति गुनासो गरे। ‘निक्षेपको ब्याज निकै कम छ। मलाई एउटा बैंकले २.५ प्रतिशत ब्याज भनेर म्यासेज गर्यो’, उनले भने, ‘यति कम ब्याजमा बैंकमा पैसा राख्नुभन्दा त बरु रक्सी खाएर सिसी बेचेमा फाइदै हुन्छ।’ 

‘अहिले ५ प्रतिशत मुद्रास्फीति रहेको अवस्थामा त्योभन्दा पनि कम बैंकको ब्याज भएपछि किन बैंकमा पैसा राख्ने ?’, क्षेत्रीले प्रतिप्रश्न गरे। 

आफू गभर्नर हुँदाको समय सम्झँदै क्षेत्रीले आफूले एउटा पोखराकै विकास बैंकलाई जोखिम नै लिएर बन्दै गरिदिएको सुनाए। ‘जनताको निक्षेप लिएर बैंकहरुले जथाभावी गर्न मिल्दैन’, उनले भने। 

जम्मा ६ महिना गभर्नर भए पनि आफूले अरु कसैले गर्न नसकेको काम गरेको क्षेत्रीको दाबी थियो। ‘तत्कालीन सरकारले मैले अख्तियारको जिम्मा माग्दा गभर्नरको जिम्मा दियो’, उनले भने, ‘खासमा म अख्तियारका लागि उपयुक्त व्यक्ति हुँ।’ 

आउँदै गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षाको विषयमा क्षेत्रीले भने, ‘खासै परिवर्तन हुने सम्भावना छैन।’