-अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाली सेयर बजारमा ब्रोकर कम्पनीको संख्या बढाउन आवश्यक छ कि छैन ? बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले यही विषयमा अध्ययन गर्न जिम्मा दिएको एक निजी कम्पनीले केही सातामै प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । 

एक निजी कन्सलट्यान्ट कम्पनीले लगानीकर्ताको ब्रोकर संख्या थप्नुपर्ने मागमा आधारित रहेर गरेको अध्ययनको प्रतिवेदन केही साताभित्रै सार्वजनिक गर्ने भएको हो । 

ब्रोकर लाइसेन्स थप्नु पर्ने माग लगानीकर्ताबाट उठेसँगै नेप्सेले गत चैतमा कन्सल्टेन्ट कम्पनीलाई अध्ययन गर्ने जिम्मा दिएको थियो।

‘लगानीकर्ताहरूले लामो समयदेखि ब्रोकर सङ्ख्या थप्नु पर्ने माग राख्दै आएका छन्। त्यसका साथै उक्त विषय बोर्डको पनि चासोको विषय बनेकाले नेप्सेले कन्सल्टेन्ट कम्पनीलाई गत चैतमा नेप्सेले अध्ययनको जिम्मा दिएको छ।’ नेप्सेका एक उच्च अधिकारी भन्छन्,–‘अहिले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको सङ्ख्या बढ्दो छ। त्यसका साथै लगानीकर्ताहरूको सञ्चालनमा भएका ब्रोकरहरूले प्रदान गर्दै आएको सेवा सुविधाबाट असन्तुष्टि रहेको बुझिन्छ। त्यसैले नेप्सेले बजारको आवश्यकता मध्यनजर गर्दै वैज्ञानिक हिसाबले अध्ययन गर्न कन्सल्टेन्ट कम्पनीलाई जिम्मा दिएको छ। सम्भवतः केही साता भित्र उक्त अध्ययनको पहिलो रिपोर्ट आउने छ।’

नेपाली सेयर बजारमा अहिले ५० वटा ब्रोकरहरू सञ्चालनमा रहेका छन्। सञ्चालनमा भएको अधिकांश ब्रोकरहरूले प्रदान गर्दै आएको सेवा सुविधाबाट अधिकांश लगानीकर्ताहरूले असन्तुष्टि राख्दै आएका छन्।

लगानीकर्ता सङ्घ सङ्गठनका नेताहरू अहिले बजारमा लाखौँको सङ्ख्यामा लगानीकर्ताहरूले लगानी सुरु गरेसँगै सञ्चालनमा भएको ब्रोकर पर्याप्त नभएको भन्दै ब्रोकर सङ्ख्या थप्नु पर्ने माग राख्दै आएका छन्। लगानीकर्ता सङ्घ सङ्गठनका अगुवाहरू बैंक तथा वित्तीय संस्थाहरूलाई लाइसेन्स दिनुपर्छ भन्दै बेलाबखत आन्दोलित समेत हुँदै आएका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पनि विभिन्न कार्यक्रमहरूमा ब्रोकर लाइसेन्स थप्ने सङ्केत दिँदै आएका छन्। 

यता, नेप्सेले ब्रोकर सङ्ख्या थप्न अध्ययन सुरु गरेसँगै अधिकांश ब्रोकरहरूले भने असन्तुष्टि राखेका छन्। ब्रोकर सञ्चालकहरूको नेपाली पुँजी बजारमा अहिले थप ब्रोकर आवश्यक नभएको तर्क राख्दै आएका छन्।

‘पछिल्लो समय नेपाली सेयर बजारमा कारोबार सुस्ताएको छ। अहिलेको कारोबार रकमले ८० प्रतिशत ब्रोकरहरू अहिले पनि घाटामा छन्।’ एक ब्रोकर सञ्चालक भन्छन्–‘हामीले पछिल्लो एक दुई वर्षमा प्रविधि साथै कर्मचारीमा लगानी बढाएका छौ। तर बजारमा कारोबार यसरी सुस्ताउँदा कर्मचारीलाई तलब र घर भाडा तिर्न नै गाह्रो छ। ब्रोकरहरूको खर्च विगतको तुलनामा अत्यधिक बढेको अवस्था छ। यस्तो अवस्थामा ब्रोकर सङ्ख्या थप्दा हामी ब्रोकरहरू झन् मर्कामा पर्छौ। त्यसैले भोलिका दिन ब्रोकरहरू टाट पल्टिएर सडकमा आउने अवस्था सृजना नहोला भन्न सकिन्न।’

ब्रोकर सङ्ख्या थप्ने भन्दा भएका ब्रोकरहरूको क्षमता साथै कार्य क्षेत्र विस्तार गर्ने बारे सेबोन साथै नेप्सेले अध्ययन गर्नु पर्ने ती ब्रोकरले बताए।  

ब्रोकर कमिसन हरेक वर्ष घटाउने, कार्य क्षेत्र विस्तार बारे चासो नदिने, आफ्नै टिएमएस सञ्चालनमा ल्याउन नदिने जस्ता गतिविधिले नियामकबाट ब्रोकरहरूलाई सधैँ मर्कामा पार्ने काम मात्र गरिन्छ। अहिले फेरी ब्रोकर लाइसेन्स थप्ने भन्ने हल्ला छ। अहिले बजारमा थप ब्रोकर आवश्यक छ कि ब्रोकरको कार्य क्षेत्र र क्षमता विस्तार आवश्यक छ ? भन्ने प्रश्न गर्दै अर्का ब्रोकर सञ्चालक भन्छन्–‘नेपालमा नियामक निकायहरूको एउटै दाउ भएका ब्रोकरहरूलाई असफल बनाएर ब्रोकर लाइसेन्स कसरी थप्ने भन्नेमा मात्र केन्द्रित छ। नियामक निकायहरूको नेतृत्व गर्नेहरू सीमित स्वार्थ समूहको प्रलोभनमा नपरी बजार विकास र विस्तारका कामहरूलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ। समयमा नै सोचविचार सहित बजार विकासको काम नगरे नेपाली पुँजी बजार आज जहाँ छ अबको दस वर्षमा पनि त्यही नहोला भन्न सकिन्न।’