– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत बुधबार एउटा एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई भदौ ८ गतेभित्र सेयर धितो कर्जालाई तोकिएको सीमाभित्र ल्याउन निर्देशन दिएको छ। निर्देशनअनुसार १२ करोड रुपैयाँ माथि सेयर धितो कर्जा लिएकाहरुले भदौ ८ भित्र ऋण तिरिसक्नुपर्ने भएको छ।

राष्ट्र बैंकले जारी गरेको २०७८–७९ को मौद्रिक नीतिमा एक बैंकबाट एकल ग्राहक सेयर कर्जा ४ करोड र अधिकतम कर्जा १२ करोडसम्म लिन सकिने व्यवस्था गरिएको थियो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्थामा परिमार्जन गर्दै ४ करोडको सीमा हटाई एक व्यक्तिले एक वा अन्य कुनै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको छ। तर, भदौ ८ सम्म १२ करोड रुपैयाँको सीमासम्म कर्जा नघटाएमा बैंकहरुले १०० प्रतिशत प्रावधान राख्नैपर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ। यसअघि उक्त अवधि असारसम्म तोकिएको थियो।

राष्ट्र बैंकको निर्देशनपश्चात् ठूलो करेक्सनपछि बढ्न सुरु गरेको नेप्से परिसूचकमा निरन्तर गिरावट आएको देखिन्छ। आज पनि बजार ४३.३५ अंकले घट्दा २ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ। ब्रोकर सञ्चालकहरु भदौ ८ पर्खेको र उक्त समयसम्म बजारमा थप गिरावट आउने सक्ने प्रक्षेपण रहेको बताउँछन्। 

‘४–१२ को नीति आउँदा बजारमा मौद्रिक समीक्षामा केही परिमार्जन हुन्छ कि भन्ने आशा थियो। तर, केही पनि परिमार्जन भएन। त्यसपश्चात् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा परिमार्जन हुने आशा थियो। त्यो पनि भएन। अब फेरी राष्ट्र बैंकले भदौ ८ सम्मको मिति तोकेको छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘बढ्दो सेयर बजारलाई अंकुश लगाउने काम समय समयमा राष्ट्र बैंकबाट हुने गरेको छ।’

‘सेयर धितो कर्जा र ब्याजदर त राष्ट्र बैंकलाई बजारमा उतारचढाव गराउने टुल्स बनेको छ। ठूलो करेक्सनपछि केही स्थिर बनेको सेयर बजारलाई फेरि सेयर धितो कर्जाको प्रोभिजनको नाममा राष्ट्र बैंकबाट घटाउने काम भइरहेको छ’, अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘मार्जिन कारोबार ब्रोकरमार्फत व्यवस्थित रुपमा अघि नबढेसम्म राष्ट्र बैंकले सेयर धितो कर्जामा बजारमा अंकुश लगाउने काम भइरहन्छ। त्यसैले छिटोभन्दा छिटो मार्जिन कारोबार सञ्चालनमा ल्याउन आवश्यक छ।’