– रेखा चन्द

काठमाण्डौ । अहिले बजारमा मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिने व्यवस्थाका विषयमा निकै बहस हुन थालेको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जर प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गर्दै यस विषयको सम्पूर्ण जिम्मा नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई छोडिदिएको छ। 

सेबोन अध्यक्ष रमेशकुमार हमालले पनि हिजो बिहीबार सेबोनको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गर्ने विषयमा आवश्यक कार्यविधि बनाएर १० दिनभित्र सार्वजनिक गर्ने घोषणा गरेका छन्। सेबोनलाई भने सरोकारवालाहरुले मर्जर प्रयोजनका लागि सेयर कारोबार लामो सयमसम्म रोक्का गर्न नहुने सुझाव दिएका छन्। 

सरोकारवालाले मर्जर प्रयोजनका लागि लामो समयसम्म सेयर कारोबार रोक्का हुँदा सेयरधनीलाई समस्या पर्ने तथा सेयरमूल्यमा चलखेल हुन सक्ने भन्दै सेबोनको ध्यानाकर्षण गराएका छन्। त्यसैले मर्जर हुँदा सकेसम्म समय नलम्बयाउने गरी सेबोनले कार्यविधि ल्याउनुपर्ने उनीहरुको भनाइ छ। 

एनएमबि बैंक तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि र संयुुक्त कारोबार नहुँदासम्म मात्रै बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का हुुनुुपर्ने बताउँछन्। उनले मर्जरमा जानेसम्बन्धी पहिलो सम्झौता गर्नेबित्तिक्कै सेयर कारोबार रोक्का हुुँदै आएकोमा अब सेबोनले रोक्काको समय लामो नराखी सेयरमा चलखेल नहुुनेगरी कार्यविधि ल्याउनुपर्ने सुझाव दिए। ‘मर्जरको पहिलो एग्रिमेन्ट हुनेबित्तिक्कै सेयर कारोबार रोक्का हुुुुुनुुहँुदैन’, उनले बिजशालासँग भने, ‘जब मर्जरमा जाने फाइनल एग्रिमेन्टमा साइन हुन्छ र त्यसपछि एकीकृत कारोबार सुरु गर्न १ महिनाजति समय लाग्छ, त्यो बेलामात्रै बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुनुुपर्छ।’

अन्तिम सम्झौतापछिको संयुुक्त कारोबार नहुँदासम्म मात्रै सेयर कारोबार रोक्नुपर्ने गोल्यानको भनाइ छ। ‘त्योभन्दा अगाडि कारोबार रोकेर कामै छैन, किनकि त्योबेला चलखेल हुन सक्छ, त्यसैले सेबोनले ‘स्पेकुलेसन’लाई ठाउँ नदिने गरी कार्यविधि ल्याउनुपर्छ।’

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका सीईओ प्रकाशराज शर्मा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार लामो समयसम्म रोक्का नहुने गरी सेबोले कार्यविधि ल्याउनुपर्ने बताउँछन्। ‘सेयर कारोबार रोक्का गर्ने व्यवस्थाको सम्पूर्ण जिम्मेवारी सेबोनमा गएपछि सम्रग पुँजीबजारको हित हुने गरी कार्यविधि बताउनुुपर्छ’, उनले भने, ‘लामो समयभन्दा पनि बढीमा ३ महिना नकट्ने गरी तथा प्रक्रिया हेरेर केही निश्चित समयका लागिमात्रै सेयर कारोबार रोक्का हुनुुपर्छ।’

यस्तै लामो समय सेयर कारोबार रोक्का गर्दा सेयरधनीको लगानी फ्रिज हुने र खरिदबिक्री गर्न नपाउने समस्या हुने हुँदा सेबोनले त्यसलाई समाधान गर्ने गरी नीति ल्याउनुुपर्ने शर्माले सुझाव दिए। 

हाल मर्जर सम्झौता हुनेबित्तकै सेयर कारोबार रोक्का गर्ने व्यवस्था छ। जसका कारण लगानीकर्ताको सम्पत्ति लामो समयसम्म बन्धक हुँदै आएको छ।