‘प्रेम’ के हो ? ‘प्रेम’ शब्दले किन एउटा सम्मोहन सिर्जना गर्छ ? के प्रेम विपरीत लिङ्गीबीच हुने आकर्षण वा आशक्तिमात्र हो त ? वा, हो एउटा शास्वत प्राकृतिक सत्य । 

प्रेमले सेक्स, पैसा र विवाह जरुरी ठान्छ कि ठान्दैन ? प्रेम कसरी बाँच्छ ? हाम्रा मनमा जागिरहने यिनै प्रश्नमा केन्द्रित भएर बैंकर अनलराज भट्टराईले बिजशालालाई आफ्नो अनुभव, अनुभूति र विचार व्यक्त यसरी गर्नुभएको छ । 

पहिलो प्रेम

‘माया त लाउने मन थियो
खड्काको घरले छेक्दियो...’ 

मेरो पहिलो प्रेम मेरी जीवनसङ्गीनी सलिना बास्कोटा हुन् । उनलाई यस्तै गीत गाएर जिस्काउने गर्थें । यत्तिकैमा माया बसेको हामीलाई पत्तै भएन । 
मेरो घर र उनको घरबीचमा एउटा अर्को घर थियो । त्यो एकजना खड्काको घर भएकाले मैले यसो भन्ने गरेको थिएँ । त्यत्ति नजिकैको भएर होला हामीलाई कुरा गर्न र भेट्न कुनै अप्ठेरो थिएन । उनको घर १०० मिटर पनि पर थिएन । अर्थात सलिना मेरो छिमेकी, त्यो पनि जम्मा एक घर पल्लो । आज एक घर वल्लोपट्टि हामी सुमधुर प्रेमले बाँचिरहेका छौँ ।

बच्चैदेखि देखिराखेको हो उनलाई । सँगै हुर्केको र सँगै पढेको भएर पनि हामी एकदम नजिकका साथी बन्न सजिलो भयो होला । म दिल्लीमा पढ्न जाने भएको हुँदा भेट हुने क्रम चाहिँ एकदम कम थियो । भेट कम हुँदा पनि हाम्रो प्रेम भने ओइलाएन ।

प्रेम के हो ?
उमेरले ५ दशक काटे पनि प्रेम मेरा लागि रुचिकै विषय हो । यसको अर्थ के भने प्रेम कुनै उमेर वा सम्बन्धको पेवा होइन ।

प्रेम अथवा माया एउटा प्यासन हो । मानिसमा आकर्षण हुन्छ । विविध चाहना, इच्छा र आकांक्षा हुुन्छन् । जस्तो कि जन्मेपछि बा–आमाको आफ्नै खाले अपेक्षा हुन्छ । खासमा अपेक्षा पूरा भयो भने प्रेमको डिग्री बढ्छ । हामी सानो बेलाको प्रेम केलाई ठान्छौँ ? मलाई लाग्छ– खाना नै त्यति बेलाको प्रेम हो । सानामा मनपरेको कुरा खान पाउँ भन्ने हुन्थ्यो । सबैलाई हुन्छ ।

सलिना मेरो छिमेकी, त्यो पनि जम्मा एक घर पल्लो । आज एक घर वल्लोपट्टि हामी सुमधुर प्रेमले बाँचिरहेका छौँ ।

हामी प्रत्येक पाइला अपेक्षाका पछि हिँड्छौँ । हिँड्दा कहिले आशक्ति पनि बढ्छ । आशक्ति चाहिँ विल्कुल प्रेम होइन । सकारात्मक व्यवहार र केही अपेक्षा पूरा गरिदिने कर्मले मात्र प्रेम भावना विकास हुन्छ ।

अपेक्षा यस्तो होस् कि म आफैँ गर्छु भन्ने भावना होस् । आशक्तिमा चाहिँ प्रेमको आयु हुन्छ । अन्यथा निःस्वार्थ र अपेक्षा विनाको प्रेम चाहिँ सही अर्थमा प्रेम हो । सच्चा प्रेम हो ।

केटा–केटी उमेरमा नियमित रुटिन तोड्ने विषयमा प्रेम हुन्छ । उमेरअनुसार विविध विषयमा कौतुहलता पनि बढ्दै जान्छ । रमाइलो गर्न, खेल्न, घुम्न मन लाग्दै जान्छ । यसो भन्नुको अर्थ के भने प्रेमको आकाश फैलिँदै जान्छ भन्नु हो । क्रमशः मनको भावनामा परिवर्तन आउँछ, विपरीत लिंगीप्रति पनि आकर्षकण हुन थाल्छ । त्यसलाई प्रेम भावनाका रुपमा लिन्छौँ ।

दुव्र्यसनी हुनु पनि त्यो भावनाप्रतिको प्रेम हो । तर यो राम्रो होइन । कतिपय प्रेमले राम्रो परिणाम नदिन सक्छ, त्यसतर्फ भने प्रेम गर्ने मानिसको सोच, विचार र सपनाले भूमिका खेल्दछ ।

कुनै पनि असल उद्देश्य पूरा गर्ने प्रेमले चाहिँ मानिसलाई सफल बनाउँछ ।

चोट पु¥याउने कुरा प्रेम होइन ।

प्रेम गर्न पैसा चाहिन्छ ?
प्रेमका लागि पैसा चाहिन्न ।

पैसा नभएको बेलामा पनि प्रेम थियो । प्रेमका लागि पैसा चाहिँदैन भन्ने यो ज्वलन्त प्रमाण हो । तर, दैनिक आवश्यकता र अनिवार्य कामका लागि भने पैसा चाहिन्छ । 

भावनाले मात्र खान मिल्दैन । त्यसैले पैसा चाहिन्छ । सिर्फ त्यत्ति हो ।

प्रेममा सेक्स कि सेक्समा प्रेम ?
व्यवहारिक कुरा र असीमित चाहना हेर्नुपर्छ । प्रेमलाई बाँध्न सेक्स आवश्यक नै हुन्छ । समाज र विश्व परम्परामा चलेकै कुरा हो यो । तर, असीमित चाहना हुन्छन् मानिसका । आफू कत्तिको सीमामा बस्ने भन्ने हो । असीमित चाहनालाई घटाउनुपर्छ, नियन्त्रण गर्नुपर्छ ।

सेक्स प्रेमका लागि अपरिहार्य पनि हो अनि होइन पनि । आफ्नो आदर्शलाई व्यवस्थापन गरेर व्यवहारिक बनाउनुपर्छ । सनातनदेखि चलिआएको हुँदा खराब कुरा भने होइन ।

प्रेममा कुनै पनि विन्दुमा केही पनि कुराले कसैगरी अड्काउनु हुँदैन । नत्र त प्रेम नै भएन नि ।

प्रेममा कुनै पनि विन्दुमा केही पनि कुराले कसैगरी अड्काउनु हुँदैन । नत्र त प्रेम नै भएन नि ।

प्रेम विवाहकै निम्ति हो त ?
प्रेमको परिभाषा बुझ्नुपर्ने हुन्छ । प्रेम सम्मान हो अनि हो, जीवनको अनुपम उपलब्धि । ‘लभ एट फस्र्ट साइट’ भन्छन् नि । निःस्वार्थ भावको समर्पण प्रेम हो । भावनामा भिज्नु हो ।

अल्टिमेट उद्देश्य जीवनभर सँगै बाँच्ने भन्ने हो भने प्रेम ठूलो कमिटमेन्ट पनि हो । तर, सँगै बाँच्दाको अवस्थामा भने कम्प्रोमाइज हुन्छ । के गर्ने ? कसो गर्ने ? भन्ने विचार गर्नुपर्छ । प्रेम कुनै विचार गरेर गरिने कुरा होइन ।

यसरी के भन्न सकिन्छ भने प्रेमका लागि विवाह नै हुनुपर्ने, सँगै बस्नुपर्ने भन्ने हुँदैन । किनभने प्रेममा कुनै पनि किसिमको त्रास हुनुहुन्न । रत्तिभर दबाब हुनु भएन । तर्सेर, डराएर गरेको कुरा प्रेम हुन्न । र, प्रेम वैवाहिक सम्बन्ध पनि होइन ।

विवाह गरेपछि प्रेम बाँँच्छ कि बाँच्दैन भन्ने सवालमा चाहिँ भावना कस्तो रहन्छ भन्ने कुरामा निर्भर हुन्छ । वैवाहिक जीवनमा अब्लिगेसन चाहिँ आउँछ । त्यसलाई दायित्व हो, मैले पूरा गरिराछु भन्ने नसोचेर एउटा जीवन प्रक्रिया सम्झिने हो भने समस्या आउन्न । 

प्रेम त पृथ्वीलाई जोगाउनु, देशप्रेम, माटोप्रतिको प्रेम पनि त हो नि । केटा र केटीबीच हुने आशक्ति प्रेम हुँदै होइन ।

प्रेम र नेपाली समाज
प्रेम वर्जित छ, नेपाली समाजमा । प्रेम शब्दको अर्थमा भ्रम छ । माया भनेको र प्रेम भनेको फरक मान्ने चलन आजपर्यन्त जीवित छ ।

कृष्ण, सीता, द्रौपदी, सतीदेवीका प्रेम प्रसङ्ग थाहा छ नि ? हामी कत्ति धनी छौँ प्रेम कथामा ।

प्रेमले आफ्नो जीवनको पहिचान बढाइरहेको बोध हुन सक्यो भने सातौँ जुनीसम्म पनि प्रेम उस्तै हुन्छ । अन्यथा हीनताबोध र फ्रस्ट्रेसन हुन जान्छ । प्रेम हुनका खातिर मूलतः निःस्वार्थ हुनु जरुरी छ ।

म नेपाली समाजमा प्रेमका बाधाहरु धेरै नै पाउँछु ।

प्रेमका बाधाहरु
प्रेमका नाममा हाम्रो समाजमा धेरै दुर्घटनाहरु भए अनि भइरहेका छन् । विभेदकारी सामाजिक संरचनाले गर्दा पनि यस्तो भइरहेको पाइन्छ ।
प्रेममा हत्या, हिंसा, झगडा केही हुँदैन । जहाँ प्रेम छ, त्यहाँ शान्ति हुन्छ, शालीनता हुन्छ ।

मान्यताहरु भूगोलअनुसार फरक छन् । सामाजिक मूल्य र मान्यताअनुसार विविधता हुन्छन् । तर केही मान्यता यस्ता छन्, जसलाई परिवर्तन गर्नुपर्नेछ ।

प्रेमले आफ्नो जीवनको पहिचान बढाइरहेको बोध हुन सक्यो भने सातौँ जुनीसम्म पनि प्रेम उस्तै हुन्छ । अन्यथा हीनताबोध र फ्रस्ट्रेसन हुन जान्छ ।

जातीय विभेद, अन्धविश्वास हटाउनु जरुरी छ । प्रेममय समाजमा त कुनै विभेद नै नहुनुपर्ने हो । मैले यो काम गर्दा के हुन्छ ? मलाई समाजले के भन्छ ? म बहिस्करणमा पर्छु कि ? जस्ता त्रासले गर्दा प्रेमविरोधी घटना दिनानुदिन भइरहेका छन् ।

दुई प्रेमीको जीवन सुखद् हुनुपर्छ भन्ने कुरा प्रमुख हुनुपर्छ । दीगो र प्रेमिल सम्बन्ध एउटा अपरिहार्य कुरा हो । तर हाम्रो समाजमा रुढिवाद छ । केटीलाई केटासरहको मूल्य नदिने अर्को समस्या पनि छ ।

हाम्रै परिवार र नातागोतामा कुरा गर्ने हो भने हामीले ‘इन्टरकास्ट’ सम्बन्ध स्वीकार गरिसकेका छौँ । हाम्रोमा कल्चरल एक्सेप्टेन्स भइसक्यो । अब विस्तारै सबैतिर यस किसिमको परिवर्तन आउन जरुरी छ । र, समय लागे पनि सुध्रिन्छ भन्ने कुरामा विश्वास राख्छु । 

विवाहेत्तर सम्बन्ध र प्रेम
मान्छेको आ–आफ्नो जीवनशैली हो । कसले कसरी बाँच्ने भन्ने हुन्छ । तर म चाहिँ विवाहेत्तर सम्बन्ध स्वीकार्दिनँ । मैले के पाएँ या पाइनँ भन्दा पनि मैले के दिन सकेँ भन्ने सोच्नुपर्छ । सेक्स रिलेसन नै सबै कुरा मान्ने हो भने यस्तो अवस्था निम्तिन सक्छ ।

फ्रिडमका लागि भन्नेहरुलाई म भन्छु, ‘फ्रिडम भनेको एनार्की होइन । परिवारलाई शिक्षा, सुरक्षा दिनका लागि राम्रो अवस्था हुनु फ्रिडम हो कि ? मनपरी गर्नु फ्रिडम हो ? खासमा के हो भन्ने बुझ्नुपर्छ ।’

बुद्धले घर त्याग गर्दा परिवारलाई त पीडा भयो नि । तर, जब बुद्धत्व प्राप्त गरेर संसारलाई ज्ञानको ज्योति फिँजाए, तब उनको गृहत्यागको मूल्य गहन हुनपुग्यो । स्वीकार्य भयो ।

मलाई चाहिँ सामाजिक मान्यतालाई लत्याउने काम राम्रो मान्दिनँ । आफू स्वयम् भिक्टिम हुनु पनि त असर हो नि ।

आफ्नो मस्तिष्कको अवमूल्यन त हुनुभएन नि, हैन र ? परिवार छैन भने, परिवार सिर्जना नगर्ने हो भने अर्कै कुरा ।

युवालाई प्रेम टिप्स
प्रेममा भौतिक आनन्द होइन मानसिक रुपमा आनन्द हुनुपर्छ । 

संघर्ष प्रेममा गर्ने होइन । सङ्घर्ष गर्नका लागि त जीवनमा अन्य धेरै कुरा छन् । प्रेम त ‘स्मुथ’ हुनुपर्छ ।

अभावले समाजमा टिक्न दिँदैन । सक्षम बन्नु पहिला, प्रेम समयले आफैँ बचाउँछ ।

आमा–बालाई खुला रुपले आफ्ना कुरा राख्न सक्ने हुनुपर्छ ।

अन्तमा
बैंकरका लागि हुने प्रेम अनुभूति पनि अरुको जस्तै हो । पढ्ने समयमा म मिसनमा थिएँ । आफू लायक बन्नु थियो । स्वीकारिनका लागि पनि लायक बन्नु जरुरी छ ।

सीएमा फेल हुनु साधारण हो म पनि केही पटक फेल भएको हुँ ।

सीएमा फेल हुनु साधारण हो म पनि केही पटक फेल भएको हुँ ।

म सीए पढेर आउँदा जम्मा ८० जना सीए थिए, नेपालमा । नेपाल बैंकमा एकैपल्ट दसौँ तहमा नियुक्त भएँ । अहिलेको अवस्था त्यत्ति सहज छैन । बाधाहरु धेरै हुन्छन् जीवनमा ।

हाम्रो प्रेममा कुनै बाधा भएन । मेरो अरेन्ज म्यारिज भएको हो ।

आमाले भन्नुभयो, ‘यो केटीलाई बुहारी बनाउन मन छ ।’ त्यो मेरै मनको कुरा थियो ।

अहिले पनि अगाध प्रेममा छौँ । मधुर सम्बन्ध छ, हाम्रो ।

प्रस्तुति: नरेन्द्रकुमार नगरकोटी