काठमाण्डौ । निकै लामो समयको उतारचढावलाई पार गर्दै मेगा बैंक लिमीटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्ने सबै प्रक्रिया पूरा गरी आइतबारदेखि एकीकृत बित्तीय कारोबार सुरु गरेको छ । 

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित टुरिजमलाई आफूमा गाभेसँगै मेगा बैंक नामजस्तै ‘मेगा’ भएको दाबी गरिएको छ । एकीकृत कारोबार प्रारम्भ हुँदाको मितिमा टुरिजमलाई गाभेपछि बनेको मेगा बैंकको चुक्तापूँजी ९ अर्ब २९ करोडको उचाईमा पुगेको छ । 

टुरिजमको प्राप्तिसँगै मेगा बैंक चुक्तापूँजीको हिसाबले देशकै तेश्रो ठूलो बैंक बन्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन् । उनकाअनुसार मेगा र टुरिजमले आफ्ना सेयरधनीका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

लाभांशको रुपमा आएको बोनस सेयरको पूँजीकरण र मेगा बैंकको हकप्रद निश्कासनको क्रममा नबिकेको १८ लाख कित्ताभन्दा बढी सेयरको लिलामीपछि बैंकको चुक्तापूँजी बढेर १० अर्ब ५० करोड माथि पुग्नेछ ।

आइतबार एक कार्यक्रमका बीच राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले एकीकृत बित्तीय कारोबारको शुभारम्भ गरेका थिए । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै बैंककी सीइओ खुञ्जेलीले मेगा बैंक नामले मात्र नभई चुक्तापूँजीको हिसाबले समेत मेगा(विशाल) भएको दाबी गरिन् । उनका अनुसार मर्जरपछि मेगाको निक्षेपको आकार ५७ अर्ब ५५ करोड तथा कर्जाको आकार ५५ अर्ब ७० करोडमा फैलिएको छ । यस्तै, शाखा सञ्जाल ९१ वटा पुगेको छ भने बैंकले यो आर्थिक वर्षको अन्तसम्म शाखाहरुको संख्या १०२ वटा पुर्याउनेछ । 

मेगा र टुरिजमको गरी ग्राहकहरुको संख्या करिब ५ लाख पुगेको तथा कर्मचारीको संख्या समेत १ हजार पुगेको उनले जानकारी दिइन् । मेगा बैंकले सेवा बिस्तारमा मितव्ययीताको मन्त्रलाई अनुसरण गर्दै शाखारहित बैंकिङमा विशेष ध्यान दिएको उल्लेख गर्दै हालसम्म ५८ वटा शाखारहित बैकिङ रहेका र यो संख्या यो वर्षभित्र थप ६१ वटा पुर्याउने योजना रहेको सुनाइन् । 

उनले मेगा बैंक पञ्चवर्षीय योजनासहित अगाडि बढेको उल्लेख गर्दै आफूले आगामी दिनमा लगानीकर्तालाई दोहोरो अंकको रिटर्न दिने घोषणा समेत गरिन् । यस्तै, ५ वर्षभित्र ग्राहकको संख्या दोब्बर पार्ने समेत उनको उद्घोष थियो । 

एकीकृत कारोबारकै दिनदेखि मेगाले अनलाइनबाटै खाता खोल्न सकिने फिचर कार्यान्वयनमा ल्याएको जानकारी दिंदै उनले कर्मचारीका लागि पनि निकट भविष्यमै मेगा ट्रेनिङ सेन्टर खोलिने बताइन् । 

उनले प्रत्येक प्रदेशमा फैलिएका शाखाबाट प्राप्त आम्दानीको १ प्रतिशत सोही प्रदेशको सामाजिक उत्तरदायीत्वअन्तर्गत खर्च गरिने समेत उद्घोष गरिन् । 

खुञ्जेलीले टुरिजमलाई गाभेपछिको मेगाको ठमेल शाखालाई पर्यटनमैत्री र मैतीदेवी शाखालाई महिलामैत्री बनाइने उद्घोष समेत गरिन् । मैतीदेवी शाखाको प्रबन्धकदेखि सबै कर्मचारी महिला मात्र हुने उनको भनाई थियो ।

२ हप्तामा सेयर कारोबार
सीइओ खुञ्जेलीले लामो समयदेखिको मर्जर ढिलाईका कारण निलम्बनमा रहेको मेगा बैंकको सेयर कारोबार अबको २ हप्ताभित्रमा खुलाउने गरी काम अगाडि बढाउने जानकारी दिइन् । मेगा र टुरिजमको मर्जरका कारण महिनौदेखि लगानीकर्ताको लगानी बन्धक भएको भन्दै मेगा तथा टुरिजम व्यवस्थापनको लगानीकर्ताहरुबाट आलोचना हुने गरेको थियो ।