काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ नचल्दा आज फागुन २१ गतेबाट निष्कासन भएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ भर्न लगानीकर्ताहरुलाई सकस भइरहेको छ। 

ज्योति लाइफ इन्स्योरेन्स आईपीओ फागुन २३ गते आइतबारबाट निष्कासन हुने भनिएको थियो। तर सीडीएससीले धितोपत्र कारोबार हुने दिन ‘मेरो सेयर’ लोड पर्ने भन्दै यो आईपीओ निष्कासन मिति २ दिनअगाडि सार्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडलाई आग्रह गर्यो। सोहीअनुसार एनएमबी क्यापिटलले ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ २ दिनअगावै अर्थात फागुन १ गतेबाट निष्कासन हुने जानकारी गरायो। तर आज फागुन २१ गते आईपीओ निष्कासनको पहिलो दिनै लगानीकर्ताहरु ‘मेरो सेयर’ चल्दा हैरान भएका हुन्। 

काठमाण्डौ नयाँबानेश्वरका सुदीप निरौलाले बिहान १० बजेदेखि ‘मेरो सेयर’ बाट आईपीओ भर्न कोसिस गरिरहे पनि चल्दा समस्या भएको गुनासो गरे। ‘खोइ झन् शुक्रबार धितोपत्र कारोबार नहुने र लोड कम हुने भनिएको थियो’, उनले भने, ‘तर किन हो मेरो सेयर नै चलिरहेको छैन।’

सीडीएससीको ‘मेरो सेयर’ मा बारम्बार समस्या आउँदा आफूजस्ता लाखौँ लगानीकर्ताहरु प्रभावित भइरहेको निरौलाले आक्रोश पोखे। ‘यो समस्या तत्काल समाधान गर, गर्न सक्दैनौ भने आईपीओ भर्ने अन्य सहज माध्यम बनाऊ’, उनले भने। 

चाबहिलकी अर्की लगानीकर्ता ममता पौडेल पनि ‘मेरो सेयर’ नचल्दा आईपीओ भर्न नपाएको गुनासो गर्छिन्। ‘आज त यस्तो छ, आइतबार र सोमबार झन के होला ?’, उनले भनिन्, ‘मेरो सेयरमा देखिने बारम्बारको समस्या छिटै समाधान गर्नुपर्यो, सम्बन्धित निकाय यस विषयमा गैरजिम्मेवार देखियो।’

सीडीएससीका एक अधिकारीले आईपीओ निष्कासन भएको पहिलो दिन प्रायः आवेदन दिनेको संख्या धेरै हुने भएकोले सिस्टममा लोड परेर ‘मेरो सेयर’ समस्या देखिएको हुन सक्ने बताए। ‘पहिलो दिन धेरै आवेदकले आईपीओ भर्न खोज्छन्, जसका कारण सिस्टममा लोड पर्दा ‘मेरो सेयर’ मा खुल्न समस्या भएको छ’, उनले भने, ‘तर समाधान समस्याको प्रयास भइरहेको छ, आइतबारबाट सहज रुपमा आईपीओ भर्न सकिन्छ।’