काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चौतर्फी असहयोग भएको उल्लेख गर्दै सरकार चलाउँदा चलाउँदा आफू दिक्क भइसकेको बताएका छन् । 

बालुवाटारमा सम्पादकहरुसँग छलफल गर्दै उनले आफू सरकार चलाउँदा चलाउँदा दिक्क भइसकेको बताएका हुन् । 

‘मलाई विश्वास चाहिएकै छैन । त्यही भएर अर्को वैकल्पिक सरकार बनाऊ भनेर बाटो खोलेको छु । सरकार गठन गर्ने सबैलाई अवसर छ।

प्रतिनिधिसभाका हरेक सदस्यलाई त्यो अवसर छ । भरपर्दो आधार प्रस्तुत गर्ने अधिकार छ ।’ उनले भने–‘म मेरो अधिकार प्रयोग गर्न चाहन्न । न कोही समर्थन गर्छ, न कोही साथ दिन्छ, यस्तोमा पनि सरकार चलाउन सकिन्छ ? दिनैपिच्छेको विरोध, असहयोग, बदनाम गरेको छ, चरित्रहत्या गरेको छ । असहयोगीभन्दा बढी भयो यो त । विरोधका लागि विरोधको अवस्थामा सरकार चलाउनु छैन ।’ 

उनले आफूले सरकार चलाउने नै भए विश्वासको मत लिनुपर्ने अवस्था बन्ने थियो भन्दै अगाडि भनेका छन–‘मलाई सरकार चलाउनु नै छैन, त्यही भएर मैले राष्ट्रपतिजीलाई अर्को प्रक्रिया सुरु गरिदिन आग्रह गरेको हुँ ।’ 

तर, उनले आफू प्रतिनिधिसभा सदस्यको हिसाबले आफूले पनि सरकारमा दाबी गर्न भने सक्ने बताए । ‘बाहिर जे भने पनि १२१ को मतभार छ मसँग । १२१ मतभार भएको हुनाले मलाई अलिक सजिलो होला कि भनेरव सरकारमा दाबी गर्ने कोशिश गरिरहेको छु ।’ उनले भने–‘समर्थन प्राप्त भयो भने, राष्टपतिलाई भरपर्दो आधार लाग्यो भने प्रम नियुक्त गर्न सक्नुहुन्छ । मैले सरकार बनाउँछु ।’

उनले अहिले आफूलाई समर्थन नगर्ने र हलो अड्काइरहने, अनि पछि संसद विघटन र चुनाव घोषणाको अपजस आफ्नो टाउकोमा नथोपर्न समेत विपक्षी दलहरुलाई आग्रह गरे ।