काठमाण्डौ । कोरोना भाइरसविरुद्धको लडाईमा विश्व नै होमिएको बेला नेपालमा समेत चैत ११ गतेदेखि लकडाउन जारी गरिएको छ । 
यो अवधिमा धेरै मानिसहरु घरमै सेल्फ क्वारेन्टाइनमा छन् । 

यो बेला राजनीतिक दलका नेता, निजी क्षेत्रका नेता, व्यवसायी, उद्योगी, बैंकर, लेखक लगायतका लकडाउन डायरी प्रकाशित भइरहेको छ । 

यस्तो अवस्थामा राजनीतिक दलका ठूला नेताहरु चाहि कसरी समय बिताइरहेका होलान् ? सधैंको बैठक, छलफल र दौडधूपमा व्यस्त हुने शीर्ष नेताहरुको समय कसरी कटिरहेको होला ? यो विषय रोचक बन्नसक्छ । 

प्राइम टेलिभिजनको पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि लकडाउन डायरीको बिषयमा बेलीबिस्तार लगाएका छन् । 

लकडाउन अवधिभरि प्रचण्ड के गर्छन् होला त ? कसरी दिन कटाउँदा हुन् ? प्रचण्डले के भने धमलासँग ? हेरौं प्रचण्डकै शब्दमाः

म विहान प्रायः पाँच बजे उठिसक्छु । उठिसकेपछि आधा घण्टा मेरो संगीत सुन्नेमा जान्छ । पूराना गीत सुन्छु । एकदम पूराना गीत सुन्छु । म आधुनिक गीत पनि सुन्छु । त्यसपछि नित्यकर्म गरेपछि मेरो एक्सरसाईज सुरु हुन्छ । म विहान चालिस मिनेट जति एक्सरसाईज गरेर खलखल पसिना निकाल्छु । म दैनिक पसिना निकाल्छु । नुहाईधुहाई गरेपछि पत्रपत्रिका हेर्ने गर्छु । 

पत्रपत्रिका अध्ययन गरेपछि मेरो घरमा अहिले सबैले एक्सरसाईज गर्ने गरिएको छ । घरको कम्पाउण्डमा कोही हिँड्ने, कोही साईकल चलाउने, म आफैंपनि २० देखि २५ मिनेट साईकल चलाउँछु । मेरो म्याडम त विरामी छन, पहिले दैनिक थेरापी गरिन्थ्यो । तर, अहिले दैनिक थेरापी गराउन अस्पताल लैजान सकिँदैन् । हामी परिवारका सबै सदस्य मिलेर उनलाई यहाँ घुमाईन्छ । तपाईले पनि देखिसक्नुभयो । मेरो दायित्व छ । डाक्टरले पनि यो उपचारको क्रममा भने क्या, अब सीताजीले झण्डै तपाईलाई ५० वर्ष सेवा गर्नुभयो, अब तपाईले पनि सेवा गर्नुपर्ने हुन्छ, उहाँलाई भने । यो विराम यस्तो हो कि सबैले सेवा गर्यो भने बाँच्ने हुन्छ, नत्र अप्ठ्यारो हुन्छ भनेर भनेको कुराले पनि मलाई छोएको छ । हामी परिवारका सबै सदस्यले त्यो फिल गर्छन् । अहिले अलिक प्रगति पनि भएकोजस्तो लागेको छ । अहिले अलिक सजिलोसँग हिँड्ने भएकी छिन् । त्यसमा पनि हामीलाई सन्तोष नै छ ।

त्यसपछि हाम्रो समय जान्छ खानपिनमा । हामीले खानपिनको नियम बनाएका छौं अहिले । परिवारमा बसेर कसरी खाने ? बिहान ननभेज र बेलुका भेज खाने । बेलुका थोरै खाने नियम छ । विहान चाहि भयो भने (सधैं हुनपर्छ भन्ने छैन) भयो भने माछा, मासु खाने । 

अहिले समय भएकोले घरको छतमा दाउरामा खाना पकाउने गरिएको छ । त्यसो गर्दा अलिकति मेहनत पनि देखिने भयो । सामूहिकजस्तो पनि भयो । खाने कुरा पनि मिठो हुने भयो । युट्युबमा हेरेर खाना बनाउनतिर पनि लागिएछ ।

दिउँसो चाहीँ म पढ्छु । खासगरी अहिले यो विश्व व्यवस्थासम्बन्धी, अहिलेसम्म पुँजीवादले विकास गरेको विश्व व्यवस्थाले के ल्यायो ? के भयो ? भन्नेबारेका किताबहरु मैले पढ्छु । 

थोमसले लेखेको क्यापिटल भन्ने पुस्तक पढेको छु । यो किताब धेरै महत्वपूर्ण छ । मेरो अहिले त्यसमा ध्यान छ । 

अर्को एउटा फ्युचर ईज एसियन भन्ने पराग खन्नाको पुस्तक पनि पढ्दैछु । दिउँसो दुई तीन घण्टा पढ्ने, लेख्ने गरेको छु । 

बेलुका फेरि हाम्रो घुम्न निस्किने हुन्छ । फेरि एक्सरसाईज । विहान ब्रेकफाष्टपछि आवश्यक हेरेर नेताहरुसँग फोनमा कुरा गर्ने गरेको छु । प्रधानमन्त्रीले बोलाउनुभयो भने भेट्न जाने गर्छु।