काठमाण्डौ । नेपाली मौलिक सिंगिङ रियालिटी शो ‘वाइवाइ नेपाल स्टार’ को डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउन्ड सम्पन्न हुने तयारीमा रहेको छ।

दोस्रो राउन्ड षडज्का चारमध्ये चारै एपिसोडको छायांकन सकिएको छ भने तीन एपिसोड प्रशारण भइसकेका छन्। देशका सातै प्रदेशमा सम्पन्न अडिसनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो षडज् राउन्डमा आफ्नो सहभागिता जनाएका थिए। विभिन्न प्राविधिक कारणले बाँकी तीनजनाले भने यो राउन्डमा आफू सहभागी हुन नपाएको बताएका छन्। 

प्रशारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउन्डका लागि छानिएका छन् भने अब डिजिटल राउन्डको चौथो तथा अन्तिम एपिसोड प्रशारण हुन बाँकी छ। तेस्रो राउन्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुनसमेत बाँकी छ। यही शनिबार राती प्रशारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोडमा बाँकी प्रतिस्पर्धीको नाम सार्वजनिक हुनेछ।

अडिसनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउन्डको सुरुआत गर्नुअगावै तयारी गर्दै यो रियालिटी शो प्रशारणमा आएसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण काठमाण्डौ अडिसनदेखिको प्रशारण मितिसमेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो। 

पहिले तय गरिएको फम्र्याटबाट अलि बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउन्डलाई सुरु गरिएको कार्यक्रम निर्माता की इन्टरटेन्मेन्टले जनाएको छ। जहाँ अडिसनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइएको की इन्टरटेन्मेन्टको भनाइ छ। 

प्रतिस्पर्धीले गाएको गीतमा संगीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडमा संगीत बजाउँदै साथ दिने सांगीतिक समूहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ। अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टिमको स्वास्थ्यको समेत ख्याल गर्दै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन् वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ। 

कार्यक्रमका निर्णायक रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री छन्। 

नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रशारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ। यो कार्यक्रम नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ।