– रेखा चन्द

काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा नेपाल राष्ट्र बैंक रहेको छ। उद्योगी, व्यवसायी, बैंकर, निजी क्षेत्र केही लचिलो मौद्रिक नीति आउने आशामा छन्। सरोकारवाला निकाय र व्यक्तिहरुले राष्ट्र बैंकलाई मौद्रिक नीतिका लागि सुझाव पठाइरहेका छन्। 

पूर्वबैंकर एवं वित्त विश्लेषक अनलराज भट्टराईले वित्तीय स्थायित्वलाई प्राथमिकतामा राखेर राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन्। बिजशालासँगको कुराकानीमा उनले भने, ‘किनकि ब्याजदर र मुद्रास्फीति कम हुने देखिँदैन।’ 

विश्व बजारमै मुद्रास्फीति बढ्दै गएको र आन्तरिक व्यवस्थापनबाट नेपालको मुद्रास्फीति कम वा समाधान हुने नदेखिएको भट्टराईको भनाइ छ। गत वर्षमा बजारलाई व्यवस्थित गर्ने खालको मौद्रिक नीति आएको उनले बताए। ‘आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो खालको आउने देखिन्छ’, उनले भने, ‘पहिलाको मौद्रिक नीति कोभिडले निम्त्याएका समस्यालाई न्यूनीकरण गर्नका लागि सुविधाहरु दिइएको थियो। अहिले त्यो दिन सक्ने क्षमता छैन।’

यता गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकालले राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि तरलता सहज हुने खालको मौद्रिक नीति ल्याउनुपर्ने बताए। उनले बैंकमा लगानीयोग्य रकमको अभावसहित अन्य समस्या रहेकोले सहज नीति ल्याउनुपर्नेमा जोड दिए। 

ढकालले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मुख्यतय मुद्रास्फीति रोक्ने नीति ल्यानुपर्ने बताए। ‘अहिले बैंकहरुलाई रिकभरीमा अप्ठ्यारो भएको छ’, उनले भने, ‘कोरोनामा दिइएको सुविधाको असर अहिले बैंकहरुले फिल गरिरहेका छन्।’ 

राष्ट्र बैंकले कोभिडका समयमा दिइएका रिल्याप्सन छुटलाई अहिले नै भन्दा पनि विस्तारै हटाउनेलगायतका विषयहरु राष्ट्र बैंकलाई सुझाव दिइसकेको सीईओ ढकालले बताए। पूनरकर्जा, रिफाइनान्स, सीआरआर, एसएलआर, सीडी रेसियोका समस्यालाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। 

बैंक तथा वित्तीय संस्थाहरु असहज अवस्थामा रहेको र ती असहजतालाई सम्बोधन गर्ने खालको मौद्रिक नीति आउने आशामा आफूमा रहेको ढकालले बताए। उनले आफूहरुले विभिन्न सुझाव राष्ट्र बैंकमा बुझाइसकिएको बताए।