काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय माध्यमबाट कारोबार गर्दा फाइदैफाइदा रहेको बताएका छन्।

भाटभटेनी सुपरमार्केटले बिहीबारबाट सुरु गरेको क्यूआर कोड भुक्तानी सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विद्युतीय कारोबारले भुक्तानी प्रणालीको समय छोट्याइदिएको र सबै पक्षलाई फाइदैफाइदा भएको बताएका हुन्। ‘यसअघि बैंकबाट पैसा झिक्नुपथ्र्यो, त्यसपछि पसलमा गएर सामान किन्नुपथ्र्यो अनि पैसा दिनुपथ्र्यो’, उनले भने, ‘तर अहिले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा त्यसो समय बचत भएको छ। यसका सथै विद्युतीय माध्यमबाट गरिएको भुक्तानी बैंकमा क्रेडिट हुनासाथ त्यही प्वइन्टबाट बैंकले ब्याज दिन सुरु गर्छ। यसले सबैलाई फाइदा गरेको छ।’

क्यूआर सेवाले आम्दानीलाई धेरै सपोर्ट गर्ने अधिकारीले बताए। ‘एकजनासँग कारोबार गर्ने समयमा क्यूआरबाट ५ जनासँग कारोबार गर्न सकिने भएकोले यसले आम्दानीलाई धेरै सपोर्ट गर्छ’, उनले भने।

क्यूआर कोड पेमेन्टका आधारमा बैंकले आफ्ना ग्राहकको हैसियत हेरेर भविष्यमा बिना धितो कर्जा पनि उपलब्ध गराउन सक्ने गभर्नर अधिकारीको दाबी छ। ‘तपाइँको हैसियत छ तर विद्युतीय माध्यमबाट कारोबार नगर्दा त्यो देखिएको छैन’, उनले भने, ‘तर अब क्यूआर कोडजस्ता विद्युतीय कारोबार गर्दा तपाइँको हैसियत देखिनेछ र बैंकले पनि बिना धितो तपाइँलाई ऋणत्र दिन सक्नेछन्।’

गत वर्ष पुस १० गते पहिलोपटक क्यूआर भुक्तानी सेवाको उद्घाटन गरेपछि आफैँले पनि कमै नगदको प्रयोग गरिरहेको गभर्नर अधिकारीले बताए। ‘विद्युतीय भुक्तानीको इकोसिस्टम बनाउन राष्ट्र बैंक र सरकार अग्रसर छ’, उनले भने। 

भाटभटेनीले प्रभु बैंकको सहकार्यमा क्यूआर भुक्तानी सुरु गरेको हो। 

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अबको युग प्रविधिमा आधारित भएकोले यसले अर्थतन्त्रमा टेवा पुग्ने बताए। विद्युतीय माध्यमबाट हुने भुक्तानीले कारोबार पनि पारदर्शी हुने उनको भनाइ थियो।

क्यूआर भुक्तानीलाई प्रवर्द्धन गर्न आफ्ना १० लाख सदस्यलाई प्रोत्साहन गरिने भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बताए। उनले क्यूआरबाट भुक्तानी गर्ने ग्राहकलाई पाइरहेको प्वइन्टमा २५ प्रतिशत बढी उपलब्ध गराउने घोषणा गरेका छन्।