- आर.आर. हरिकृष्ण जोशी, बैंकर

हो ! मानिसको स्वभावअनुसार नै चाहना, सपना र इच्छा अनगिन्ती हुन्छन्। ती चाहना, सपना अनि इच्छा पूरा गर्न खोज्दा–खोज्दै जीवन बितिरहेको छ। हामीलाई सधैँ अगाडि बढ्न मन लाग्छ, चाहे त्यो जागिरे जीवनमा होस् वा विद्यार्थी जीवनमा अनि खेलकुदमा होस् या व्यापारव्यवसायमा। हरेक क्षेत्रमा हरेक मानिसहरुले अगाडि बढ्ने चाहनाका साथ आपना सपनाहरु सजाएका हुन्छन्। 

सबैभन्दा ठूलो, सबैभन्दा जान्नी, सबैभन्दा धनी वा सबैले मान्य बन्न कसलाई मन नहोला ? तथापि यत्राविधि चाहना भएर पनि हामी चाहनालाई पूरा गर्नतर्फ भन्दा पनि चाहनालाई बहाना बनाई हात्तीलाई सानो किल्लामा बाँधेर राखेजस्तो हामी आफूलाई पनि विभिन्न बहानाल बाँधेर राखेका छौँ। हामीलाई यो थाहा छैन कि कसैले कसैलाई परिवर्तन गराउन सक्दैन। स्वयं आफैँ परिवर्तन हुनुपर्दछ र स्वयं परिवर्तन हुनलाई आफैँ नै तयार हुनुपर्दछ। 

जहाँ समस्या त्यहाँ समाधान भन्ने त हामी सबैले सुनेकै हो। आफूले देखेका सपनामध्ये केही पूरा हुन्छन् भने केही सपना ‘सपना’ कै रुपमा रहन्छन्। सपना देख्ने मान्छेले आफ्नो सपनालाई चिन्तामा होइन चिन्तनमा बदल्न सक्नुपर्छ र समस्यलाई समस्या होइन तपस्याले मात्र ती सपना विपनामा परिणत गर्न मद्दत गर्दछ। सुनेको र भाग्यमा विश्वास गर्ने बानीले हामीलाई पछाडि पारेको छ। हामी हिन्दु धर्मअनुसार कतै नाग देखियो भनेर हल्ला सुन्यौँ भने सिदा बोकेर नागलाई पुज्न दौडेर पुग्छौँ। तर बाटोमा भेटिएका अशक्त, टुहुरा तथा गरिब गुरुवालाई ध्यान दिँदैनौँ। किनकि नागलाई पुज्दा भगवान् खुसी हुन्छन् र इच्छा–आकांक्षा पूरा हुन्छन् भन्ने भ्रम पालेका छौँ। 

हामी आफूलाई सर्वश्रेष्ठ मान्छौँ। आफ्नो जति ठूला गल्ती भए पनि कन्केभ लेन्सले हेर्छौं र अरुको सानो समस्यालाई कन्भेक्स लेन्सले हेरेर बढाइचढाइ गरी अनाहकमा मजाक उडाउने काम गर्दछौँ। हामी सधैँ ‘नेताले यो गरे–त्यो गरे, फलानाले यो गर्यो–त्योे गर्यो’ भनेर अरुका कुरा काटेर दिन बिताउँछौँ। एक चोटी तपाइँ आफूले आफूलाई फर्केर हेर्नुस् त तपाइँ आफूले चाहिँ के गर्नुभएको छ राष्ट्र, समाज अनि आफ्ना लागि ? के आफूले चिया पसलमा, साथीभाइको जमघटमा र चौतारामा बसेर गफ गर्दैमा परिवर्तन हुन्छ ? सोचौँ एकचोटी अनाहकमा समय खेर नफालौँ, अरुका काम र कुरालाई कन्भेक्स लेन्सले प्रयोग गरी लम्बा चौडा नगराऔँ र आफूलाई परिवर्तन गर्नतर्फ लागौँ।

१. सल्लाहकार असल बनाउनुहोस् 

हो ! सबै निर्णय मानिस आफैँले गर्न सक्दैन। त्यसका लागि कसै न कसैको सल्लाह लिने गर्दछौँ। चाहे जागिर खान होस् या जागिर परिवर्तन गर्न या कुनै ब्यवसाय गर्न पर्यो भने हामी सर्बभन्दा पहिला हाम्रोवरिपरि सजिलै उपस्थिति हुने व्यक्तिसँग सल्लाह माग्छौँ र उनीहरुको सल्लाहअनुसार नै आफ्नो योजना परिवर्तन गर्दछाँै। हामीले यो सोच्दैनौँ कि त्यो सल्लाह दिने व्यक्ति त्यो विषयमा ज्ञान प्राप्त हो कि होइन ? के उसले त्यो विषयमा पटक–पटक काम गरेको अनुभव छ ? के उसले  त्यो विषयमा कुनै पुरस्कार प्राप्त गरेको छ ? यदि कुनै पनि छैन भने किन हामीले उसलाई सल्लाहाकार बनायौँ त ?किनकि उसले सजिलै सल्लाह दिन्छ। उसको समय सजिलै उपलब्ध हुन्छ। ऊसँग म पटक–पटक सल्लाह गर्न सक्छु। हो ! त्यस्ता व्यक्तिलाई हामी सल्लाहकार बनाउँछौँ र हामी असफल हुन्छौँ। 

महाभारतमा दुर्योधनको सल्लाहाकार सकूनी र अर्जुनको सल्लाहाकार श्रीकृष्ण थिए। यदि दुर्योधनको सल्लाहाकार श्री कृष्ण र अर्जुनको सल्लाहाकर सकूनी भएको भए महाभारतको कथाले अर्को मोड लिन सक्थ्यो। तसर्थ सल्लाहाकार सबैभन्दा महत्वपूर्ण हो। र, तपाइँले पनि सल्लाहकार छान्दा सोच्नुहोस्।

२. आफ्ना कुराहरु स्पस्ट रुपमा राख्नुहोस् 

कुनै पनि क्षेत्रमा आफ्ना कुराहरु सम्बन्धित ठाउँमा स्पस्ट रुपमा राख्नुहोस् ता कि तपाइँका बोलाइ अथवा लेखाइमा दोहोर अर्थ नलागोस र तपाइँ विचारहरु सम्बन्धित व्यक्तिहरु पनि स्पस्ट होऊन्। उदाहरणका लागि एउटा कम्पनीमा काम गर्ने कर्मचारीहरुमध्ये कार्यालय सहायक र एकजना ‘कर्मचारी सर’ लाई कम्पनीले आवासको व्यवस्था गरेको रहेछ। एक दिन बेलुका कार्यालय सहायक जाँड–रक्सी खाएर आएछ। त्यो कुरा कर्मचारी सरले थाहा पाएछ। अनि उसले अतिथि पुस्तिकामा कार्यालय सहायकले जाँड–रक्सी खाई बितन्डा मच्चाएको कुरा उल्लेख गरेछ। भोलिपल्ट बिहान अतिथि पुस्तिकामा सो कुरा देखेपछि उसले त्यो कर्मचारी सरलाई अनुरोध गरेछ कि ‘सर ! मैले हिजो जाँड–रक्सी खाएको ठिक साँचो हो। मैले झुटो लेख्नुस् भन्दिनँ। तर, सर ! यो ५ वर्षको अन्तरालमा हिजोमात्र जाँड–रक्सी खाएको हो भनी पनि उल्लेख गर्दिनु न।’ तर त्यो कर्मचारीले मानेनछ। त्यसपछि कार्यालय सहायकलाई कार्यालय प्रमुखले सजाय दिएछ। केही दिनपछि कार्यालय सहायकले पनि अतिथि पुस्तिकामा ‘हिजो कर्मचारी सरले जाँड–रक्सी खानुभएन’ भनी उल्लेख गरिदिएछ र त्यो पुस्तिका भोलिपल्ट कर्मचारीले हेरेछ। अनि कार्यालय सहायकलाई बोलाइ भनेछ ‘अहिलेसम्म सरले जाँडरक्सी खानु भा छैन’ भनेर लेख्न भनेछ। तर उसले मानेन। त्यो अतिथि पुस्तीका कार्यालय प्रमुखले हेरेछ र ‘हिजो सरले जाँड–रक्सी खानु भा छैन’ भनी देखेपछि हिजो नखाको रहेछ, पहिला–पहिला सधैँ खाँदो रहेछ भनी उसलाई पनि कारबाही गरेछ। 

तसर्थ कुरा यथार्थ र साँचो भए पनि दुईवटा अर्थ दिने कुराले नकारात्मक असर पार्न सक्छ। त्यसैले सधैँ सीधा र स्पस्ट आफ्नो विचार राख्नुहोस्।

३. भगवान भरोसा नहुनुहोस् 

एक चोटी खोलामा ठूलो बाढी आउन सुरु गरेछ। त्यो बाढी गाउँबस्तीमा पस्ने थालेछ। सबै गाउँले भागाभाग गरेछन्। तर एकजना मानिस भागेनछ। गाउँले कराउन थालेछन् ‘किन नभागेको तँलाई बाढीले बगाउँछ, भाग–भाग।’ तर, त्यो मानिस भागेनछ। बिस्तारै खोलाको बहाव बढ्दै गएछ। गाउँले सबै भागेछन्। पछि उसलाई बचाउन एकजना मानिस डुंगा लिए गएछ तर ऊ आउन मानेन्। डुंगा लिएर गएको मान्छे फर्किएछ र ऊ घरको छतमा गई बसेछ। पानीको बहाव बढ्दै गई घरको छत डुबाउन थालेछ। गाउँलेले सरकारलाई गुहारेछन्। सरकारले हेलिकप्टर पठाएछ। तैपनि ऊ आएनछ र भनेछ ‘मलाई भगवानले बचाउँछ।’ 

विस्तारै पानीको बहाव बढ्दै गएछ र घर पनि डुबाई उसलाई पानीले बगाएछ। तसर्थ सबै गाउँलेसित उसले पनि त्यस ठाउँ छोडेको भए ऊ पनि बाँच्थ्यो। तर, भगवान्को भर पर्दा उसले अकालमा ज्यान गुमाउन पर्यो। आस्था राख्नुहोस् तर भगवानको नाममा घमन्ड नगर्नुहोस्। 

४. सोचमा शक्ति छ मनमा, सकारात्मक सोच पैदा गरौँ 

एउटा देशमा एक दिन अकस्मात आकाशवाणी भएछ– ‘अब यहाँ ४ वर्ष पानी पर्दैन।’ सबै किसान निराश भएछन्। अब के गर्ने ? कसो गर्ने ? भन्ने बारेमा सोच्न थालेछन्। कुनै उपाय ननिस्किएपछि सबै निराश हुँदै घर गएछन्। घर पुग्दा एउटा किसानको सानो छोरा कागजको पानी जहाज बनाई रहेको रहेछ। अनि बाबुले सोधेछन्– ‘बाबु ! आकाशवाणी भएको छ, अब ४ वर्ष पानी पर्दैन, यो बनाएर के गर्ने ?’

अनि छोराले भनेछ– ‘अब ४ वर्ष मैले पानीजहाज नबनाउने हो भने पानी परेपछि अर्थात ४ वर्षपछि बनाउन खोजेँ भने त मैले भुलिहाल्छु नि। त्यही भएर पानी परोस् वा नपरोस् तर म बनाउन छोड्दिनँ।’

छोराको कुरा सुनेपछि बाबुको मनमा कुरा खेल्न सुरु गरेछ। उसलाई रातभरि निन्द्रा परेनछ। बिहान उठेर सोचेछ– ‘मैले पनि ४ साल काम गरिनँ भने काम गर्न भुलिहाल्छु नि।’ 

उसले पनि काम सुरु गरेछ। त्यो देखेर छिमेकीले सोधेछन्– ‘किन काम गरेको ? पानी पर्दैन क्यारे !’

अनि उसले पनि छोराले दिएकै उत्तर दिएछ– ‘मैले ४ वर्ष काम गरिनँ भने त मैले काम गर्न भुलिहाल्छु नि अनि पानी परेर के गर्ने ?’

त्यसपछि छिमेकीहरु पनि काम गर्न सुरु गरेछन्। हुँदाहुँदा बाँकी सबैले काम गर्न सुरु गरेछन्। त्यो देखेर भगवान पनि छक्क परेछन्– ‘मैले ४ वर्ष पानी पर्दैन भनेको छु। तैपनि यी किसानहरुले काम गर्न छोडेका छैनन्।’

किन यस्तो गरे होलान् भनी बुझ्नु पर्यो भनी भगवान भेष बदलेर किसानहरुले काम गरिरहेको ठाउँमा पुगेछन्। अनि किसानहरुलाई बेग्ला–बेग्लै सोधेछन्– ‘अब ४ वर्ष पानी पर्दैन भनेर आकाशवाणी भएको छ अनि किन काम गरिरहेको छौ ?’ 

सबैको एउटै उत्तर आएछ– ‘हामीले ४ वर्ष काम गरेनौँ भने त काम गर्ने तौरतरिका नै भुलिहाल्छौ अनि के गर्ने ४ वर्षपछि ? त्यही भएर पानी परोस वा नपरोस् हामी काम गर्न छौड्दैनौँ।’

त्यसपछि भगवान त्यहाँबाट फर्केछन्। अनि सोचेछन्– ‘हो ! मैले पनि ४ वर्षसम्म पानी पारिन् भने मैले पनि त भुल्न सक्छु पानी पार्न। त्यही भएर पानी त पार्न पर्यो।’

अनि भगवानल पानी पारेछन्। किसानहरु खुसी भएछन्। 

एक बच्चाको सोचले पूरै गाउँको सोचमा परिवर्तन आयो र आवश्यक परेको बेलामा काम गर्न खोज्यो भने सफल नहुन सकिन्छ। तसर्थ कामलाई निरन्तर गरिरहनुहोस्।