काठमाण्डौ । सेयर बजारको ब्लुचिप स्क्रिप्टमध्येको एक नवील बैंक लिमीटेड र विदेशी लगानी समेत रहेको एभरेष्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ‘सरप्राइज लाभांश’ घोषणाको पूर्व तयारी गरिरहेका छन् । 

यी दुवै बैंकले राम्रो लाभांश घोषणा गर्ने योजनाका साथ आवश्यक प्रक्रियाहरुलाई तीव्र गतिमा अगाडि बढाएका छन् । 

दुवै बैंकको गत आर्थिक वर्षको ब्यालेन्ससिट अप्रूभलका लागि नियामक नेपाल राष्ट्रबैंक पुगेको छ । 

अहिले राष्ट्रबैंकमा धेरै बैंक तथा वित्तीय संस्थाको ब्यालेन्ससिट अप्रूभलका लागि गएकोले क्यूमा बस्नुपर्ने बाध्यता रहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । 

‘आज हामीलाई राष्ट्रबैंकले ब्यालेन्ससिटकै विषयमा छलफल गर्न बोलाएको छ ।’ उनले थपे –‘त्यहाँबाट अप्रूभल आउनेबित्तिकै हाम्रो संचालक समिति बसेर लाभांश घोषणा गर्नेछ ।’ 

उनकाअनुसार तिहारअघि नै लाभांश घोषणा गर्ने र मंसिर दोश्रो सातासम्म वार्षिक साधारणसभा गर्ने एभरेष्ट बैंकको योजना छ । ‘हाम्रो ब्यालेन्ससिटमा खासै ठूलो इस्यू छैन ।’ उनले थपे–‘चाँडै अप्रूभल आए यही सातामै पनि लाभांश घोषणा हुनसक्छ ।’ 

उता, नवील बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ब्यालेन्ससिट अप्रूभलका लागि राष्ट्रबैंक पठाइएको र सो विषय प्रारम्भिक छलफलकै चरणमा रहेको जानकारी दिए । 

नवील बैंकले पनि तिहारअघि नै लाभांश घोषणा गरिसक्ने उनको भनाई छ । 

कति आउला लाभांश ?
दुवै बैंकका उच्च अधिकारी र राष्ट्रबैंकस्थित स्रोतहरुको कुरालाई समेत आधार मान्दा नवील र एभरेष्ट बैंकले सेयरधनीका लागि ‘सरप्राइज लाभांश’ घोषणा गर्नसक्ने संभावना देखिन्छ । 

‘अवस्था हेर्दा नवील बैंकले यो पटक पनि ३० देखि ३५ प्रतिशतसम्म लाभांश घोषणा गर्नसक्ने देखिन्छ ।’ ब्यालेन्ससिट अध्ययन गरिरहेका राष्ट्रबैंकका एक अधिकारीले भने–‘३५ प्रतिशतसम्मको क्षमता देखियो भने ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश ल्याउनसक्ला ।’ 

ती अधिकारीका अनुसार एभरेष्ट बैंकले पनि योपटक २० प्रतिशतभन्दा बढी नै लाभांश घोषणा गर्नसक्छ । ‘बैंकको आशय तथा ब्यालेन्ससिट पनि त्यस्तै देखिन्छ ।’ उनले भने–‘एभरेष्ट बैंकको बढीमा २५ प्रतिशतसम्म लाभांश आउनसक्छ ।’