काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्।

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५ औँ स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पुँजी निर्माण, बचत परिचालन र लगानीका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन्। मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई बचत तथा ऋण कारोबारमा बढी केन्द्रित हुँदै गइरहेको, केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको कमजोर अवस्था र वितीय सुशासनको कमजोर हुँदा सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गइरहेको देखिएको पनि उल्लेख गरिन्। 

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरुलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा देखिएको भन्दै मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरको पूर्ण परिपालन, सहकारी मुल्य, मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने बताए। 

अहिलेको सरकार सहजीकरण, नियमन र उत्प्रेरकको भूमिकामा आफूलाई केन्द्रित गर्दै साझेदारी प्रवर्द्धनको दिशातर्फ अघि बढिरहेको भन्दै श्रेष्ठले समग्र राष्ट्रिय विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताइन्। उनले नियामक निकाय र सहकारीबीचको उपयुक्त सहकार्यबाट मात्रै सहकारी क्षेत्रको शुद्धीकरण सम्भव छ भन्दै नियामक निकायका रुपमा रहेको सहकारी विभाग तथा प्रदेश एवं स्थानीय सरकारवीच प्रभावकारी साझेदारीको माध्यमबाट अघि बढ्ने गरी प्रयास भइरहेको पनि बताइन्।