काठमाण्डौ । सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फन्ड–दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ। 

गत असार ९ गते विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यो कार्यक्रमको घोषणा गरिएको थियो। यो कार्यक्रममा दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्ने छन्। आवेदकहरुले प्रदेश नं. १ मा दुग्धजन्य उद्योगक्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधीकरणसँग सम्बन्धित चुनौतीहरुलाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ। 

आवेदन आउँदा साउन ६ गतेसम्म दिन सकिनेछ। आवेदकहरुको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यावसायिक सम्भाव्यता भएको हुनु पर्नेछ।

सहज च्यालेन्ज फन्डको दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँको हुनेछ। यस फन्डअन्तर्गत निजी व्यवसाय तथा उद्यमीहरुले न्यूनतम ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म प्राप्त गर्नेछन्। यसरी छनौट गरिएका आवेदकले नगद राशिसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन्।