काठमाण्डौ । कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाण्डौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन्। 

कार्यक्रममा पूर्वगर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए। उनले किसानहरुलाई उत्पादनसँगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए,। 

किसानको उत्पादनलाई सीधै वा प्रशोधन गरेर किसान आफैँले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको क्षेत्रीको भनाइ थियो। ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई संगसंगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए। 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसान नै रहेको बताए। 

सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए। 

कार्यक्रममा साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठकले नेपालका दूरदराजका गरिब किसानहरुको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखि निरन्तर काम गर्दै आएको बताए। ग्रामीण क्षेत्रमा साना किसानले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एकमात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको दाबी उनले गरे। 

पाठकले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका साना किसानहरुलाई गोलबद्ध गर्दै पुँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए। पुँजीको पहुँच वृद्धिसँगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाती, महिला लगाएतलाई सूसुचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मूलधारमा ल्याउन सफल भएको दाबी गरे। 

पछाडी परेको समुदायलाई आवश्यक पर्ने वित्तीय पहुँचमा जोड्दै साना किसान विकास लघुवित्तले पूँजी, प्रविधि, तालिम, चेतना, नेतृत्व विकासलगायतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पाठकले बताए।