काठमाडौ । प्रदेश १ का उद्योग कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ का साना उद्योग व्यवसाय र उनीहरुका उत्पादनलाई प्रविधिमैत्री बनाउनका लागि प्रदेश सरकारले वातावरण बनाउने बताएका छन्। 

नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधबार विराटनगरमा भएको साना उद्यमीका सदस्यका लागि विद्युतीय सचेतीकरण कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले यस्तो बताएका हुन्। विद्युतीय अर्थतन्त्रको विस्तारले ठूला उद्योग र उत्पादनले मात्रै बजार प्रवर्द्धनको अवसर पाएको भन्दै उनले सरकारले साना उद्यमीहरुलाई पनि ई–कमर्समा अभिप्रेरित गर्न मन्त्रालयका तर्फबाट सहयोग पुर्याइने बताए।

मन्त्री सिटौलाले विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारको विकासले परम्परागत कारोबारहरु पछि पर्दै गएको बताए। 

आर्थिक क्षेत्रको समस्याले उद्यम व्यवसायमा नयाँ मान्छेहरुको उत्साह नदेखिएको अवस्थामा प्रदेश सरकारले साना उद्यमीहरुलाई सहयोग पुग्ने वातावरणको निर्माण गर्ने मन्त्री सिटौलाले जानकारी दिए। ‘सरकारले सहयोगको वातावरण बनाउँछ, साना उद्योग र उत्पादनलाई हौसला प्रदान गर्छौं’, उनले भने। 

कार्यशालामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा साना उद्यम समितिका सभापति डीबी बस्नेतले कार्यशालाको सीप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रुपमा बजारमा पुग्ने बाटो तयार हुने विश्वास व्यक्त गरे। उनले कार्यक्रमलाई अझ बढी अघि बढाउनुपर्नेमा जोड दिए। 

संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ)का कन्ट्री रिलेसनसिप म्यानेजर सरोज नेपालले पछिल्लो समयमा विकास भएको डिजिटल फाइनान्सले मुलुकको आर्थिक गतिविधिलाई नयाँ तरिकाले अघि बढाउन सहयोग पुगेको बताए। उनले टाठाबाठाले मात्रै डिजिटल प्रविधिको फाइदा लिने र उनीहरुको मात्रै व्यवसाय प्रवर्द्धन हुने अवस्थामा साना उद्यमीहरुलाई समेत त्यसतर्फ अघि बढाउनका लागि कार्यशाला केन्द्रित रहेको जानकारी दिए। 

स्विस सरकार विकास सहयोग (एसडीसी) की सुब्रिना श्रेष्ठले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र विकासको कामलाई अझ अगाडि बढाउनुपर्नेमा जोड दिइन्। उनले कार्यशालाका माध्यमबाट साना उद्यमीको उत्पादन र त्यसको बजार विस्तारमा सहयोग पुग्ने जानकारी दिइन्। 

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यशालामा महासंघका केन्द्रीय सदस्यहरु नरेन्द्रकुमार खड्का, उमेश डालमिया, तारानाथ घिमिरे लगायतको उपस्थिति रहेको थियो।