काठमाण्डौ । नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सीसीड़ी रेसियो हटाएर ९० प्रतिशत सीडी रेसियो कायम गर्दा व्यवसायीहरु मर्कामा परेको बताएका छन्।

‘कोभिड–१९ को संक्रमणले अर्थतन्त्र खस्किएको छ’, नेपाल आर्थिक पत्रकार संघद्वारा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष मल्लले भने, ‘गत वर्ष ८५ प्रतिशत सीसीडी रेसियो हुँदा बैंकहरुको ब्याजदर एकल दरमा थियो। अहिले बैंकहरुले सीडी रेटियो ९० प्रतिशत राख्नुपर्ने राष्ट्र बैंकको निर्देशनसँगै बैंकहरुले महँगोमा निक्षेप लिएकाले ब्याजदर ह्वात्तै बढ्दा व्यवसायी सबै मर्कामा परेका छन्।’

कार्यक्रममा उपस्थित गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गर्दै मल्लले भने, ‘ब्याजदरलाई ट्रयाकमा ल्याउन पहल गर्नुहोस्।’ 

अहिले आयत बढेको उल्लेख गर्दै मल्लले पुँजीगत खर्च नभएकाले तरलतामा चाप परेको बताए। ‘निर्यात प्रमोसन गर्नुका साथै राष्ट्रलाई उत्पादनशील, स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘राष्ट्रलाई आत्मनिर्भर बनाउने भनेर ल्याएको नीति बोलीमा मात्र नभएर व्यवहारमा पनि उतार्नु पर्छ। त्यसका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ।’ 

मल्लले सरकारले व्यवसायीहरुको जायज कुरा सुनिदिन आग्रहसमेत गरेका थिए।