►चन्द्रसिंह साउद(सीइओ)-नेपाल स्टक एक्सचेञ्ज(नेप्से)

नेप्से प्रमुखको रुपमा २ महिनाको अवधि कत्तिको सुखद रह्यो ?
अफिस मात्रै फरक हो, यस्तो जिम्मेवारी पहिला पनि पूरा गरिसकेको छु । खासै केही फरक छैन । जुन पुरानो संस्थामा थिएँ, त्यसको दायरा सानो थियो, यसको दायरा ठूलो छ, फरक यत्ति मात्र हो । जिम्मेवारी केही बढेको अनुुभव मात्रै भएको छ, खासै धेरै फरक चाहि देख्दिँन । 

दुुई महिनाको अवधिमा तपाईले के के काम गर्नुभयो ? के उपलब्धि भए ?
व्यक्तिगत रुपमा जे अनुुभव थियो, त्यसको कार्यान्वयन गरेँ । विकास बैंक र माइक्रोफाइनान्सको इण्डेक्स एकैठाउँमा गणना हुन्थ्यो । माइक्रोफाइनान्सको प्राइसिङ एकदमै धेरै र विकास बैंकको एकदमै थोरैको आधारमा कतिपय लगानीकर्तालाई भ्रम सिर्जना हुने गथ्र्यो, यसलाई छुट्याउने पहिलो काम गरेँ। यस्तै, कारोबारसँग सम्बन्धित ऐन नियमहरु रिभाइज गर्ने प्रयास थालेर अन्तिम चरणमा पुर्याउने काम भयो । तेश्रो, नेप्सेमा सूचिकृत कम्पनीहरु छन्, ती कम्पनी कहाँ छन्, के गर्दैछन्, साधारणसभा समयमा गरेका छन् कि छैनन् भन्ने कुराहरु खोजी गर्ने काम गरेँ । यहाँ रेकर्ड हेर्दा ३४–३५ वटा कम्पनीमा समस्या देखे, तीमध्ये कतिपयले साधारणसभा नगरेका, कतिपय हराएका, सम्पर्कमा नभएका, कतिपयले नेप्सेलाई बुुझाउनुपर्ने शुल्कहरु नबुुझाएका, कतिपय मर्ज र एक्वीजिसनमा जाने क्रममा रहेका, कतिपय गइसकेका, तर उनीहरुले यहाँ जानकारी नदिएका रहेछन् । त्यस्ता कम्पनीहरुको  छनौट गर्ने काम भयो र त्यस्ता कम्पनीहरुलाई हामीले कम्पनीवाइज चिठी लेखेर पठाएका छौ । के हो, के कारणले यस्तो भएको हो, साधारणसभा किन नभएको हो, तपाईहरु हुनुहुन्छ कि हुनुुहुन्न, अस्तित्वमा छ कि छैन भन्ने जस्ता चिजहरु लेखेर हामीले चिठी पठाएका छौ । यो लगानीकर्ताको हितमै होला । 

म यहाँ आइसकेपछि धेरै मान्छेहरु लगानीकर्ता भनेर आउने, भेट्ने गर्न थाले । अफिसमा भीडभाड धेरै ठूलो देखियो । त्यसपछि लगानीकर्ताका यस्ता संगठन कति होलान्, नेपाल सरकारमा दर्ता भएका छन् या छैनन्, कानूनी छन् या यस्ता संस्था गैरकानूनी छन् भनेर खोज्ने काम गरेँ । कतिजनालाई भेट्ने ? पूँजीबजारसँग सम्बन्धित कुन–कुन संस्था हुन्, तिनीहरुलाई दर्ता हुनुुहोस् भनेर दर्ता गराउने काम गर्यौ । अब हामी छलफल गर्दा पनि अख्तियारीप्राप्त सरकोारवालाहरु मान्छेहरुसँग छलफल गर्न सजिलो हुन्छ ।

अर्को, दैनिक कारोबार गर्ने त छँदैछ, यसका लागि चाहिने विभिन्न किसिमका विज्ञहरु नेपालको बजारमा को–को छन् भनेर खोजी गर्ने क्रममा हामीले विज्ञहरुको सूचि मागिरहेका छौ । यो पनि ठूलै उपलब्धि हो जस्तो लाग्छ । पहिला त हाम्रो नेपालमा भएका त्यस्ता विज्ञहरुको पहिचान गरौं, पहिचान गरिसकेपछि उहाँहरुले नेप्सेको कुनै प्रडक्ट विकास गर्नसक्ने, अथवा यो संस्थालाई पुनरसंरचनाका लागि उहाँहरुको विद्धता हामीले लिनसक्छौ कि भनेर त्यो कामको थालनी गरेका छौ । विज्ञहरु सम्पर्कमा आउनुु भएको छ । 

अर्को काम, सबैको चासोको बिषयमा अनलाइन सिस्टम विकास गर्ने भन्ने हो, पूर्ण स्वचालित अनलाइन सिस्टम । बीचमा कात्तिक २१ गतेदेखि अनलाइन सुरु हुन्छ भन्ने कुरा समेत बजारले सुन्यो । मैले भेण्डर कम्पनीसँगको करार पनि हेरेँ । त्यो एग्रीमेन्ट जम्मा १४ महिनाको रहेछ । १४ महिनाभित्र यिनीहरुले विभिन्न मोडेलका १६ वटा एसआरएस गर्नुपर्ने रहेछ । तीमध्ये म यहाँ आउँदा ४ वटा मोडल मात्र एसआरएस भएर गएको थियो । र, त्यसलाई अहिले कम्प्लिट रुप दिने काम गरियो, १५ वटा जति हामीले पठाइसक्यौ । 

भेण्डर कम्पनीलाई बोलाएर हामीले छलफल गर्यौ । मेरो विचार चाहि अन्यत्र मुलुुकमा चलिसकेको र टेस्टेट भएको सफ्टवेयर लिन पाए सबैभन्दा राम्रो हुन्छ भन्ने थियो । सजिलो पनि हुन्थ्यो भन्ने लागेको थियो । तर, यहाँ आएर हेर्दा सबै सम्झौता भइसकेकोले त्यसलाई परिवतर्न गराउन सकिएन । सबै कुरा चाँडो गराउनुुपर्छ भन्ने उहाँहरुलाई भनेका छौ । उहाँहरुले पनि प्रतिबद्धता त्यही अनुसारको गर्नुभएको छ । त्यो काम पनि अगाडि बढेको छ । 

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कहिलेदेखि सुरु हुन्छ ? अहिलेसम्म अन्य प्रगति के–के भए ?
आधाजति त मैले अघि नै भनिसकेँ । १६ वटा मोडेलमध्ये १५ वटामा एसआरएस भएर गएको छ । नेप्से र भेण्डर कम्पनीबीचमा एसआरएस उपलब्ध गराएको १४ महिनाभित्रमा भेण्डर कम्पनीले अनलाइन उपलब्ध गराउने सम्झौता भएको छ । बीचमा नेप्सेको सीइओ खालि भएका कारण ३–४ महिना एसआरएस हुन सकेन, यो कुरा सबैलाई थाहा छ । हाम्रो अनुरोध उहाँहरुलाई के छ भने त्यो १४ महिनाभित्र नै अर्थात यो बैशाख जेठभित्र नै त्यो सफ्टवेयर हामीलाई उपलब्ध गराउनुपर्छ । उहाँहरुले पनि हुन्छ भन्नुुभएको छ । अहिलेसम्म सम्झौता अनुसार नै जाने कुरा भएको छ । भेण्डर कम्पनीले जतिसक्दो चाँडो बनाउन सकिन्छ, त्यति सहज हामीलाई पनि हुन्छ, समय लाग्दा हाम्रो पनि लागत बढ्छ भनेको छ । 

बैशाख जेठदेखि अनलाइन कारोबार प्रणालीको सुरुवात हुन्छ भनेर लगानीकर्ता ढुक्क बन्दा हुन्छ ?
बैशाख जेठमा नभए पनि नयाँ आर्थिक वर्षदेखि कुनै पनि हालतमा यो सिस्टम आउँछ । 

लगानीकर्ताहरुले लामो समयदेखि मार्केट मेकर, डिलर, एनआरएनको लगानी लगायतको बिषयलाई फोकस गरिरहेका छन् । यी बिषयमा तपाईहरुको पहलकदमी कस्तो छ नि ?
एनआरएनलाई पूँजीबजारमा भित्र्याउने सन्दर्भमा म आउनुुभन्दा अगाडि नै धितोपत्र बोर्डमा एउटा कमिटी गठन भइसकेको छ, त्यसले काम अगाडि बढाएको छ, हालै एकचरणको छलफल पनि भएको छ । त्यसका लागि मैले पनि उहाँहरुलाई व्यक्तिगत र संस्थागत रुपमा भेट्ने सोंच राखेको छुु । सरकारले भोलि सुुझाव माग्यो भने फिडब्याक दिन पनि सजिलो हुन्छ भनेर भेट्ने सोंच बनाइरहेको छुु । अहिलेसम्म उहाँहरुसँग भेट्न सकेको छैन । केही समयपछि उहाँहरुसँग म भेट्दैछुु, उहाँहरुले पनि भेट्ने इच्छा राख्नुुभएको छ । 

अर्को, नेपाल सरकारले बजेटमै उल्लेख गरेको(ठ्याक्कै त्यही शब्द चाहि छैन), कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषलाई पूँजीबजारको  विकासमा सहयोग गर्न भित्र्याउने भन्ने आशय छ । त्यसका लागि नागरिक लगानीकोषसँग २–४ पटकसम्म कुरा गरेको छुु, उहाँहरुले पनि त्यो इच्छा जाहेर गर्नुभएको छ । कतै ऐन नियममा कुनै संसोधन गर्नुपर्छ कि भन्ने चासो छ उहाँहरुलाई, मैले कहाँ के गर्नुपर्छ पहल गरौ, यो काम गरौं भन्ने कुरा भएको छ । अहिलेसम्म सञ्चयकोषसँग चाहि कुरा भएको छैन । त्यहाँ हामी गएका छैनौ, अब केही दिनमा त्यहाँ समेत हामी पहल गर्छौ । 

यो भयो संस्थागत रुपको कुरा । कुनै पनि चिज दिंदा व्यक्तिगत वा संस्थाको मोडालिटी कस्तो हुने भन्ने बिषय धितोपत्र बोर्डसँग नै समन्वय नगरी हामीले केही गर्न सक्दैनौ । मार्जिन ट्रेडिङको कुरा आएको छ, पहिला यसलाई कार्यान्वयनमा लैजाऔं, त्यसपछि मात्र अन्य बिषयमा छलफलमा लैजाऔं भन्ने कुरा भएको छ । 

पछिल्लो समय सेयर कारोबारमा भ्याट लाग्ने बिषय बजारको हटकेक भएको छ । यो बिषयमा तपाईको धारणा के हो ?
यसमा एकदुुई चरणमा मसँग पनि कुराहरु भएका छन् । अब हामी पूँजीबजारलाई विकास गर्ने ठाउँमा छौ । यो भन्दैमा भ्याट लगाउन हुन्न भन्ने पनि होइन । ब्रोकरको कारोबारलाई बित्तीय क्षेत्रमा हालेको भेटिन्छ । त्यसकारण यदि उहाँहरुको कारोबार बित्तीय क्षेत्र हो भने उहाँहरुले अहिले २५ प्रतिशत तिर्नुभएको छ, बित्तीय क्षेत्र हो भने ३० प्रतिशत तिर्नुपर्छ र यसैमा टुंगिनुपर्छ भन्ने हो । यदि यो वित्तीय क्षेत्र होइन भन्ने हो भने पुराना केशहरुलाई सरकारले समेत कन्सिडर गरिदिए हुन्छ । पुरानो टुङ्ग्याएर अनि कसरी जाने भन्ने छलफलमै छौ । मेरो व्यक्तिगत धारणा भन्दा पनि सबै सरोकारवालाहरुसँगको छलफलबाट नै अगाडि जानुपर्ने हुन्छ । 

तपाईको व्यक्तिगत धारणा चाहि के हो नि ?
मेरो व्यक्तिगत धारणा स्पष्ट छ । मैले बुुझेको पनि यो बित्तीय क्षेत्र हो, बित्तीय क्षेत्र भएको हुनाले भ्याट लाग्नुु हुँदैन । 

भ्याटको बिषयमा सरोकार राख्नेहरुको धारणा चाहि के पाउनुुभएको छ ? घटनाक्रम कसरी अगाडि बढिरहेको छ ?
सबै सकारात्मक नै हुनुहुन्छ । मन्त्रालयले पनि सकारात्मक रुपमा लिएको छ । पुरानोलाई कसरी गर्ने भन्ने बिषयमा उहाँहरु छलफलमै हुनुहुन्छ । फाइनल्ली यस्तै गर्ने भन्ने भएको छैन । केही दिनपछि यो बिषयमा सबै पक्ष बसेर छलफल गर्छौ । ब्रोकर साथीहरु पनि सकारात्मक नै हुनुहुन्छ । उहाँहरुलाई अप्ठ्यारो भनेको पहिला फाइनल कन्ज्युमरले भ्याट तिरेको होइन, हामीले कहाँबाट ल्याएर तिर्ने भन्ने रहेछ । यत्रो वर्षसम्म बित्तीय क्षेत्र भनेर हामी रनभूूल्लमा पर्यौ भन्ने उहाँहरुको कुरा छ । यसैमा मात्र अड्किएको हो, बाँकी कुरामा समस्या हुँदैन । 

भनेपछि भ्याटको इस्यूूलाई लिएर लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था छैन ? 
लगानीकर्ताले भ्याट आउँछ र के के न हुन्छ भनेर तर्सिनुपर्ने कारण नै छैन । भ्याट लाग्ने भनेको कमिसन फिगरमा हो, ट्रान्जेक्सन फिगरमा होइन । त्यो कारणले बजारमा धेरै ठूलो असर पर्दैन । कन्ज्युमरमा लाग्ने कि कमिसनमा एडजस्ट हुने भन्ने बिषय अहिले नै निर्णय भइसकेको छैन । भनेपछि आत्तिनुुपर्ने अवस्था नै छैन । पहिला नेपालमा भ्याट आउँदा व्यापारीहरु कत्ति अत्तालिएका थिए, पछिबाट त सही ट्रयाकमा आए नि त । खालि यो सैद्धान्तिक कुरा मात्र हो । वित्तीय क्षेत्रमै राखिदिए राम्रो हुन्थ्यो । तपाई हामीले हेर्दा पनि सेयर कारोबार त बित्तीय क्षेत्र नै हो नि । त्यो कारणले हामीले अनुरोध गर्ने हो, भ्याट लगाउने कुरा सरकारी कुरा भयो । सरकारले गरेको निर्णयमा हामीले नाई भन्न सक्दैनौ, तर सही सल्लाह चाहि दिन्छौ । 

तर, भ्याट प्रकरण चर्किएपछि पछिल्लोकालमा बजार निरन्तर घटेको देखियो नि ? यो बिषयलाई भजाएर बजारमा चलखेल भएको हो ?
भ्याटले मात्रै त्यस्तो भएको होइन । बजारमा अहिले सप्लाई सेयर बढी भयो । राष्ट्रबैंक र बिमाा समितिको पूँजीवृद्धिको निर्देशनले गर्दा पूँजी ह्वात्तै बढ्यो । 

त्यसो त लगानीकर्ता पनि बढे नि त ?
होइन, जुन मात्रामा लगानी बढ्यो, त्यो मात्रामा लगानीकर्ता बढेका होइनन् । एउटा त्यो कारणले समेत डिमाण्ड कम भयो । अर्को, बिमा समितिले हालै लाइफ र ननलाइफ इन्स्योरेन्स भनेर ह्वात्तै बजारमा छाडिदियो । अब ती कम्पनी खोल्नेहरु पनि यही बजारका हस्तीहरु हुन् । पैसा कहाँ गयो ? त्यहाँ गयो । त्यो कारणले गर्दा पनि बजारमा असर गर्यो । अर्को, भर्खरै चुनाव भयो । पैसा गाउँ गयो, त्यो पैसा बिस्तारै सहरी एरियामा आउँदैछ । बिस्तारै  डिमाण्ड बढ्छ । 

अर्को, यो २ वर्षमा पूँजी बढाउनैपर्ने हुनाले बजारमा विभिन्न संस्थाहरुले बोनस सेयर ह्वात्तै दिन थाले । त्यो कारणले पनि बजार अलिकति घटेको हो कि भन्ने भान हो । तर, प्राविधिक रुपमा तपाईले विश्लेषण गर्ने हो भने पहिले किनेर केही समय राखिसकेका सेयर होल्डरलाई वास्तवमा केही घटेको होइन । तपाईले यो बीचमा कति प्रतिशत बोनस सेयर खानुुभयो, अहिले प्राइस कति छ, त्यो हेर्ने हो भने बजार धेरै तल गएको जस्तो मलाई लाग्दैन । 

भनेपछि आत्तिनुुपर्ने अवस्था छैन ?
छैन । यो त पूँजीबजार हो नि । बजार भनेकै घटबढ हुन्छ नि । 

उत्साहजनक ढंगले निर्वाचन भयो । निर्वाचनपछि आर्थिक समृद्धि र विकासको युुग सुरु हुँदैछ भनिदैछ । कतिपय लगानीकर्ता सरकार गठनको पर्खाइमा पनि होलान् । तपाईलाई के लाग्छ, अब सरकार गठनपछि आर्थिक समृद्धि सँगैसँगै पूँजीबजार बढ्ला ? के नेपालको पूँजीबजारको स्वर्णिम युुग सुरु हुन लागेको हो ?
जुन देशमा राजनीतिक स्थिरता हुन्छ, त्यो देशमा आर्थिक विकास भएको तपाई जहाँ पनि देख्न सक्नुुहुन्छ । हाम्रो देशमा एउटा खुशीको कुरा, अब बहुमतको सरकार बन्छ र नेपालको संविधानले पनि कम्तीमा २ वर्षसम्म सरकारलाई हटाउन नमिल्ने भन्ने व्यवस्था गरिदिएको छ । त्यो कारणले अब बुुझ्नुुहोस् नेपालको पूँजीबजारको स्वर्णिम युुग पक्कै सुरु भइसकेको हो । त्यसका लागि हामी पूँजीबजारसँग सम्बन्धित लगानीकर्ता होस्,  ब्रोकर होस्, हामी नियमन निकाय होस्, हामीले यसलाई हाम्रो तर्फबाट लगानीकर्तालाई दिनुुपर्ने ज्ञान, जनचेतना, जानकारीका कुराहरु दिन सक्यौं भने पूँजीबजारको विकास हुन्छ र पूँजीबजारको विकास  हुनुु भनेकै राष्ट्रको विकास हुनुु हो । किनभने आर्थिक उन्नतिबिना त कुनै पनि उन्नति संभव छैन । अब नेपालको राजनीतिक दलहरुसँग राजनीतिक एजेण्डा केही पनि छैन । अब त विकास गर्ने हो, आर्थिक समृद्धिमा केन्द्रीत हुने हो । यसो हुँदा पूँजीबजार त त्यसै पनि अगाडि जान्छ । म विश्वस्त छुु । 

तपाईले पूँजीबजारको बिषयमा जनचेतना फैलाउने कुरा गर्नुभयो । अहिलेसम्म पूँजीबजारको बिषयमा जनचेतना जगाउने बिषयमा नेप्सेले किन कञ्जुुस्याई गरेको त ?
यसमा हामी पनि गम्भीर छौ । अब हामी नेप्सेमै पनि एउटा प्लेटफर्म राख्छौ । त्यो बनाउन केही समय लाग्ला । लगानीकर्ता, स्कूल कलेजका विद्यार्थीलाई समेत पूँजीबजारको ज्ञान बाँड्ने सोंच बनाएका छौ । पूर्वाधारको विकास पनि हुन्छ, भर्खरै आगलागी भयो, यो भवन बन्दैछ, यो पूरा भएपछि त्यो एउटा काम गर्छौ । अर्को काम, बाहिरी जिल्लामा पनि हामी जाने कार्यक्रम छ । जनचेतनामूलक कार्यक्रम लिएर जान्छौ । यो हाम्रो सानो पहल मात्र हो । अब हामी जाने भनेको तपाईहरुजस्ता मिडियामार्फत हो । नेपालको पूँजीबजारको विकास गर्नलाई नेप्से जस्ता संस्थाहरु भन्दा पनि तपाईहरुको जस्तो मिडियाले धेरै ठूलो भूमिका खेलेका छन् । आर्थिक अनलाइन तथा पत्रिकाहरुले यति राम्रो र सकारात्मक सूचना प्रवाह गरेका छन् कि यसले निकै ठूलो परिवर्तन ल्याएको छ । हामीले एकदिन गएर कुनै कार्यक्रम गरे के नै होला र ? तपाईहरुजस्ता मिडियाको सहयोग समेत लिन्छौ । एकैचोटि हुँदैन, बिस्तारै बिस्तारै अझ बढी विकास हुन्छ पूँजीबजारको । 

अहिले ज्ञानकै अभावमा सोझा लगानीकर्ता डूूबिरहेका अवस्था छ। आफूसँग ज्ञान नहुँदा ह्वीमको पछाडि लाग्ने, अरुले भनेको भरमा सेयर खरीदबिक्रीको निर्णय लिने अवस्था छ । अर्कोतर्फ, सूचनासम्म सामान्य लगानीकर्ताको पहँुच समेत छैन । तपाईकै वेबसाइटबाट सूचिकृत कम्पनीहरुको बिषयमा यथेष्ठ सूचना नपाउने यो बिडम्बनापूर्ण अवस्थाको अन्त चाहि कहिले होला ?
हिजोको पूँजीबजार भन्दा आज ठीक छ । आजभन्दा भोलि ठीक हुनेछ । सबैले खोजेको ठाउँमा सबै कुरा पुर्याउन त गाह्रो छ, तर पनि तपाईले हाम्रो वेबसाइटमा अहिले दिनभरिको पूँजीबजारको कारोबार माइक्रो लेभलमा नपाए पनि म्याक्रो लेभलमा पाउनुुहुन्छ, छ । सूचना छ । 

तर, सूचिकृत कम्पनीको बिषयमा पर्याप्त सूचना छैन तपाईहरुको वेबसाइटमा ?
सूचिकृत कम्पनीहरुको ब्यालेन्ससिट लगायतका कुरा खोज्नुुभएको होला तपाईले, त्यसमा हामी गृहकार्य गरिरहेका छौ । त्यो राख्ने कुरा पनि भएको छ । जो सेयरमा लगानी गर्ने लगानीकर्ता हो, त्यसको केही सूचनाहरु राख्न हाम्रो वेबसाइटमा नभए पनि तपाईहरुजस्ता अनलाइन मिडियाहरु हुनुहुन्छ नि, नेप्सेले गर्ने काम तपाईहरुले गरिदिनुुभएको छ ।  लगानी गर्ने मान्छेले त्यो हेरेकै छ । 

नेप्सेले गर्ने काम अहिलेसम्म मिडियाले गरिदिए । तपाई नेप्सेले नै चाहि आफ्नो काम कहिले गर्ने भन्ने मेरो प्रश्न हो ?
म आएको भर्खर २ महिना भो । सूचिकृत कम्पनीको ब्यालेन्ससिट राख्नुुपर्छ भन्ने पनि लागेकै हो । मैले अघि नभनेको कारण चाहि, राखेको छैन यो बिषय किन कोट्याइरहनुु भनेर मात्र हो । सूचना हामी राख्छौ । 

अर्को बजारमा विज्ञ भनिएका मानिसहरुलाई विज्ञता कसले दियो, कसरी प्रमाणित हुनुपर्ने हो, त्यो पनि खोजी गर्दैछुु म । म यो बिषयमा सेबोनसँग पनि छलफल गर्नेवाला छुु । इण्डियामा जाँच दिएर पास गरेपछि मात्र उसलाई सेयर बजारको विज्ञ भन्ने चलन रहेछ । हाम्रो देशमा चाहि कोही पनि छैन । तपाईहरुको मिडियाले विज्ञ बनाएपछि विज्ञ भइदिए । यसरकाण त्यो विज्ञ व्यक्तिवादी हुन्छ, उसले आफ्नो स्वार्थ अनुुकुल बोलिदिन्छ, जिम्मेवार नभएपछि जे बोले नि भयो नि । त्यस्ता विज्ञहरुको गलत सल्लाहकै कारण कतिपय अवस्थामा सर्वसाधारण लगानीकर्ता मारमा परेका हुन् कि भन्ने मलाई लागेको छ, तर मसँग प्रमाण चाहि छैन है । 

अर्को, सेयर बजारको तालिम समेत निकै भइरहेको देख्छुु सुन्छुु । त्यो तालिमको कोर्स अफ स्टडी कस्तो हो, कहाँबाट ल्याएको हो, कसरी गरेको छ यो पनि दायराभित्र रहनुुपर्छ । उहाँहरुले राम्रो काम गर्नुभएको छ, तर यो काम दायराभित्र रहनुुपर्छ र आउनुुपर्छ । कानूनको दायराभित्र रह्यो भने त्यो राम्रो हुन्थ्यो कि भन्ने मलाई पनि लागेको हो । 

नेप्सेले इन्साइडर ट्रेडिङ नियनत्रण गर्न सकेन भन्ने आरोप छ । कारोबारमा कालोधन समेत भित्रिएको छ भन्ने आरोप पनि लाग्छ । केही समयअघि छानबिन समिति पनि गठन भयो, तर त्यसले कालोधनको बिषयमा ठोस कुरा बाहिर ल्याउन सकेन, समिति नै हराएजस्तो भयो । यी बिषयमा केही काम गर्ने सोच्नुुभएको छैन ? 
हामीले सक्यौं भने सिडिएसमार्फत हरेक लगानीकर्तालाई क्लाइन्ट आइडी दिने हो । कसैको धन कालो हो या सेतो हो भन्ने कुरा हेर्ने निकाय हामी होइनौं । हामीले गर्ने के हो भने पूँजीबजारमा हाम्रा लगानीकर्ताले यति लगानी गरे, यति आम्दानी गरे, यति खर्च गरे भन्ने हो । त्यो भन्दा बढी हामीले गर्न सक्दैनौ । हाम्रो सूचनाकेन्द्र हुन्छ, क्लाइन्ट आइडीकोको आधारमा हामी सूचना दिनसक्छौ, त्यसका आधारमा सम्बन्धित निकायले त्यो हेर्नका लागि सजिलो हुन्छ । अर्को कुरा, इन्साइडर ट्रेडिङ भन्नुुभयो, पहिला पहिला थियो होला, तर अहिले मार्केटको आकार किनै बढिसकेको छ । तपाईले भनेजस्तो त्यति सजिलै त्यो काम होला जस्तो चाहि मलाई लाग्दैन । विगतमा त्यो थियो होला, म मान्छुु । तर अहिले त्यस्तो अवस्था कमै होला जस्तो लाग्छ । अहिले मार्केट डेप्थ हेर्न सकिन्छ, त्यहाँ खरीद र बिक्रीकर्ता सहजै हेर्न सक्नुुहुन्छ । त्यसमा केही सुधार गर्नुपर्ला आफ्नो ठाउँमा छ, तर जुन मात्रामा हल्ला छ, त्यो मात्रामा भएको छैन । खालि कुनै कुनै संस्थामा भएका निर्णयहरु सम्प्रेषणमा ढिलाई भएका कारणले २–३ वटा कम्पनीको कारोबार रोकेका छौ । हाम्रो जानकारीमा आए हामी काम गर्छौ । सूचना लुकाउने काम भएको भए हामी अगाडि बढेका छौ । त्यस्तो भएको भए हामीलाई भन्दा तपाईहरुलाई बढी सूचना हुन्छ, त्यस्तो छ भने भन्नुहोस् हामी कारबाही गर्छौ । 

नेप्सेलाई स्वायत्त बनाउने भन्ने बिषय पनि उठिरहेको छ नि ?
राष्ट्रबैंकले आफ्नो सेयर छाड्नुुपर्ने भएको हुनाले बिक्रीका लागि प्रक्रिया अगाडि बढाउनुु भन्ने चिठी आएको थियो । नेप्सेको हाल कायम सेयरहोल्डर जो जो हुनुहुन्छ, उहाँहरुबाट सल्लाह मागौं र त्यो सल्लाहका आधारमा अगाडि बढौला भन्नेसम्मको काम भएको छ । नेप्सेमा ३४.५ प्रतिशत सेयर स्वामित्व छ राष्ट्रबैंकको । उसले बिक्री गर्न लागेको सेयरमध्ये केही सेयर नेपाली संघसंस्थालाई दिने हो । केही सेयर विदेशी रणनीतिक साझेदारलाई दिन सकियो भने अझ राम्रो होला । हाम्रो नेप्सेको धारणा पनि त्यही हो । त्योसँग सँगै नेप्सेमा कार्यरत कर्मचारीले पनि त्यो पब्लिक्ली जान थालेपछि सेयर पाउनुुपर्छ भन्ने धारणा हो । अब सेयरहोल्डरको सुुझाव के आउँछ, त्यसपछि मात्र हामीले अर्थमन्त्रालयमा सिफारिस गरेर पठाउनेछौ । 

अर्को स्टक एक्सचेञ्जको कुरा पनि अहिले भाइरल बनेको छ । अर्थमन्त्रालयमा भएको एउटा छलफलमा दोश्रो स्टक एक्सचेञ्जको कुरा हुँदा तपाईले मौन समर्थन गर्नुभयो भन्ने कुरा पनि आयो नि ? 
नेपालमा नेप्सेमा सूचिकृत कम्पनी २ सय भन्दा बढी थिए । अहिले मर्जर एक्वीजिसन र विभिन्न कारणले सूचिकृत कम्पनीको संख्या २ सय भन्दा तल घटिसकेको छ । यो स्टक एक्सचेञ्जले गर्ने काम नै होइन । स्टक एक्सचेञ्जले त खाली लगानीकर्तालाई सेकेण्डरी मार्केटको प्लेटफर्म उपलब्ध गराउने हो । त्यसका लागि हामीले अनलाइन सिस्टम ल्याउन सक्यौं भने अर्को स्टक एक्सचेञ्ज चाहिने आवश्यकता देखेको छैन मैले । 

अर्को कुरा, मैले मौन समर्थन गरे भन्ने कुरा झूठा हो । मलाई कसैले सोधेको पनि छैन, मैले ल्याउनुपर्छ पनि भनेको छैन, ल्याउनुुहुन्न पनि भनेको छैन । म त्यसको आधिकारिक निकाय हो त ? होइन नि । अर्को स्टक एक्सचेञ्ज नै आउन लाग्यो भने पनि आफूलाई आधुनिक बनाएर, सेवाको गुणस्तरमा आमूल सुधार भई कसरी अगाडि जाने, अर्को भन्दा कसरी अब्बल हुने भन्ने बिषय पो हाम्रो चिन्ताको बिषय हो त । सरकारलाई आवश्यकता छ, अर्को ल्यायो भने रोक्ने हामी को हो र ? हामीले कहाँ रोक्न सक्छौ ? हामीले सक्दैनौ नि । तर, यदि सरकारले हामीसँग सुुझाव माग्यो भने हाम्रो भनाई स्पष्ट हुनेछः दोश्रो स्टक एक्सचेञ्जको आवश्यकता छैन । बरु यसैलाई सक्षम बनाऔं पहिला । सरकारको लगानी भएको निकायलाई सवल बनाऔं । प्रतिस्पर्धामा जानसक्ने भएपछि अनि अगाडि बढौं । यो पहिला स्वायत्त हुुनुपर्यो नि । सानो कामका लागि समेत प्रक्रिया लामो हुन्छ । एक्सचेञ्जको संख्या चाहिने नै होइन, प्रविधि चाहिने हो । प्रविधि भएपछि त सक्किगो नि । गाउँ गाउँमा इन्टरनेटको व्यवस्था गर्नुपर्छ । सेयर सँग सम्बन्धित ज्ञान दिनतिर लागौं । अर्को कुरा, नेपालमा एफडीआई भित्रिने कुरा छ, एफडीआईकै मात्र काम गर्ने गरी बरु अर्को स्टक ल्याए हुन्छ । प्रोडक्ट खोज्नुुपर्यो नयाँ । भएकै चिजलाई बाँड्ने होइन कि अर्को केही बनाउने कोशिश हुनुपर्यो । त्यसकारण मेरो विचारमा नयाँ स्टक एक्सचेञ्ज आउन गाह्रै होला । 

अहिलेको नेप्सेलाई प्रतिस्पर्धी बनाइयो भने चाहि त्यो अवस्थामा अर्को स्टक एक्सचेञ्ज आए पनि फरक पर्दैन ?
हामीलाई केही फरक पर्दैन । नेपालको पूँजीबजार सरकारको नियन्त्रणमा छैन । सबै निजी क्षेत्रको नियन्त्रणमा छ । नियमन निकायले नियमन कसरी गर्छ, ती चिजहरु पनि हेर्नुपर्छ । सोच्नुुपर्ने बिषय धेरै छन् । 

रियल सेक्टरलाई नेप्सेमा ल्याउने बिषय के भइरहेको छ ?
चारपाँचवटा कम्पनी केही दिनभित्रै पब्लिकमा जाँदैछन् । त्यो बिषयमा उद्योग वाणिज्य महासंघसँग अनौपचारिक रुपमा छलफल गरिएको छ । उद्योगीहरु सकारात्मक हुनुहुन्छ । सरकारले दिएको अहिलेको सुविधामा केही थप्नुुपर्छ भने पनि पहल गर्छौ भनेका छौ । त्यसमा सबै सकारात्मक हुनुहुुन्छ । आउने आर्थिक वर्षभित्र केही कम्पनी आउँछन् । रियल सेक्टरमा नआएका कम्पनीहरुलाई पनि ओटिसीमार्फत कारोबार गर्ने पहल गर्दैछौ । यहाँ हामीले  एउटा टिम बनाउँदैछौ, नयाँ मेन पावर पनि आउँदैछन । त्यसपछि हामीले उहाँहरुलाई यहाँमार्फत कारोबार गर्यो भने बढी लिगलाइज हुन्छ है भन्ने किसिमको पब्लिक अवेरनेश गर्छौ । सो क्रममा हामी कम्पनी रजिष्टार र सेबोनसँग पनि सल्लाह गर्छौ, अर्थमन्त्रालयको पनि सुुझाव लिन्छौ । 

अन्तमा, तपाईले आफ्नो कार्यकालभरि नेपालको पूँजीबजारलाई कहाँ पुर्याउनुुहुन्छ ?
पहिलो काम, यो पूँजीबजारसँग सम्बन्धित जे जति निकाय छन्, ती निकायलाई सन्तुुष्ट पारेर काम गर्ने कोशिश गर्छु । सतप्रतिशत कोही पनि सन्तुुष्ट बन्न नसक्ला, तर मेजोरिटीले यसमा चित्त बुुझाउन् भन्ने मेरो इच्छा हो । अर्को, पूँजीबजारको विकासका लागि प्रविधि जसरी पनि भित्र्याउनुपर्छ भन्ने मेरो सोंच हो । यो चारवर्षभित्र यो पूर्ण रुपमा जान्छ । 

राज्य संघीय संरचनामा जाँदैछ, स्टक एक्सचेञ्जको भूमिका कस्तो रहनुुपर्छ, ती चिजहरु पनि हामी गराउँछौ । संघीय स्वरुपमा रुपान्तरण हुनुपर्ने अवस्था आयो भने पनि जान्छौ । 

अहिलेको पूँजीबजारको बजार पूँजीकरणलाई कम्तीमा पनि ४ गुणासम्म बढाउने भन्ने कुरा छ, त्यो जान्छ । अर्को, नेपाल सरकारले पूँजीबजारबाट राजश्व संकलन गरेको छ, त्यसको दायरा कहीँ बढाउन सक्ने ठाउँ छ कि वा नबुुझेर यहाँ धेरै चार्ज भएको छ कि । दायरा फराकिलो बनाई तथा चुुहावट नियन्त्रण गरेर राजश्व बढाउने कुरामा समेत हामी चारवर्षमा उपलब्धिमूलक काम गर्नेछौ ।

प्रादेशिक र नगरपालिकाहरुको बण्ड पनि हुन्छन् । त्यसका लागि कस्तो मोडालिटी हुने, विज्ञबाट ती चिज लिन्छौ । नेपालमा ऋणपत्रको कारोबार एकदम कम छ । सकियो भने हामी डेरिभेटिभ मार्केटको कन्सेप्टमा समेत जाँदैछौ । केही भारतीय मानिसहरुसँग म सल्लाह गर्दैछु, किनभने हामी नयाँ छौ, हाम्रो बजार नयाँ छ । यसलाई कुन मोडालिटीमा लाँदा राम्रो होला भनेर उहाँहरुको सुझाव लिएर मात्र म मेरो बोर्डमा राख्छुु । सँगै, स्थानीय सरकारलाई समेत हामी प्रोमोट गर्छौ ।