काठमाण्डौ । सरकारले सेयरको खरीद र बिक्रीमै स्थायी लेखा नम्बर(प्यान)लाई अनिवार्य गर्ने संकेत गरेको लगानीकर्ताका एक नेताले दाबी गरेका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बुधबार अर्थमन्त्रालयमा राजश्व सचिव लालशंकर घिमिरेले बोलाएको छलफलमा आफूले यस्तो संकेत पाएको दाबी गरेकी हुन् । 

‘राजश्व सचिव ज्यूकोे सेयर किन्नेले मात्र होइन, बेच्नेले पनि प्यान लिनुपर्ने स्पष्ट धारणा थियो।’पोखरेलले बिजशालासँग भनिन्–‘प्यानको विषयमा पर्याप्त अध्ययन गरेर यसलाई दीर्घकालीन रणनीतिअन्तरगत विस्तारै अनिवार्य गरिनुपर्ने लगानीकर्ताको मागमा राजश्व सचिव सकारात्मक देखिनुभएको छ ।’ 

सो क्रममा लगानीकर्ताले सेयर खरीदबिक्रीमा प्यान नम्बर अनिवार्य गर्दा बच्चा र विदेशमा भएकाहरुको  हकमा के गर्ने भन्ने प्रश्न उठाएका थिए । सो विषयमा सम्बद्ध निकायसँग आफूले छलफल गर्ने घिमिरेले वचन दिएका पोखरेलको भनाई छ । 

उनका अनुसार लगानीकर्ताका विभिन्न संगठनका प्रतिनिधिहरुबाट पूँजीबजारको समस्याको विषयमा सचिव घिमिरेले गुनासो टिपोट गर्ने काम गरेका थिए । 

सो क्रममा लगानीकर्ताहरुले बैशाखबाट अनिवार्य लगाइने भनिएको प्यानलाई अहिले स्वेच्छिक बनाएर पर्याप्त तयारीपछि मात्र अनिवार्य गरिनुपर्ने, क्यापिटल गेन ट्याक्सलाई नै अन्तिम मानिनुपर्ने, अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्था अन्त हुनुपर्ने र अर्थमन्त्रीले मुद्रा तथा पूँजीबजारको समस्या समाधानका लागि गठन गरेका कार्यदलबाट दिइएको ५८ बुँदे सुझावको अक्षरंश कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । 

लगानीकर्ताले ५८ बुँदाको कार्यान्वयन गरिए मात्रै पनि पूँजीबजारको ९५ प्रतिशत समस्या हल हुने सो क्रममा बताएका थिए । 

कार्यदलको ५८ बुँदे कार्यान्वयनमा सहजीकरणका लागि घिमिरे सकारात्मक देखिएका छन् ।  उनले लगानीकर्ताको समस्याप्रति चासो देखाउँदै अधिकांश मागलाई सम्बोधन गर्ने वचन समेत दिएका दाबी गरिएको छ । 

दुईघण्टा भन्दा बढी चलेको छलफलमा सचिव घिमिरेले बजारमा हुनसक्ने सुधारका काम किन गर्न सकिएन भन्ने विषयमा सोध्न बिहीबार नै बजारको नियामक निकाय धितोपत्र बोर्ड, बजार संचालक नेप्से, सिडिएससी, करको विषयमा कुरा बुझ्न आन्तरिक राजश्व कार्यालय र सेयर ब्रोकरहरुलाई समेत बोलाएर छलफल गरी उपयुक्त निकास निकालिदिने वचन दिएका छलफलमा सहभागी नेताहरुले बताएका छन् । 

छलफलमा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरुको सहभागिता थियो । 

आजको छलफलमा पूँजीबजार सुधारका लागि ३२ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको सेयर लगानीकर्ता दवाब समूह भने सहभागी भएन ।