काठमाण्डौ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उपत्यकामा सभा–सम्मेलन र धार्मिक तथा सांस्कृतिक मेला–जात्राजस्ता क्रियाकलाप स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न कुनै पनि प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ।

प्रशासनले आज विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘प्रशासनले असोज १४ गतेदेखि लागू हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १(क)मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताका रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले  कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक तथा साँस्कृतिक मेला, जात्रा पर्वलगायत चाडपर्व लक्षित अन्य क्रियालापहरु स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी गर्न गराउन कुनै बन्देज नलगाएको विज्ञप्तिमा जनाइएको छ। 

यसअघि हिजो (असोज १४ गते) स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेर आदेशको बुँदा १ (क) मा उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिबन्ध लगाएको थियो। त्यस्तै सोही आदेशमा नजिकिँदो चाडपर्वलाई सांकेतिक रुपमा घरभित्रै परिवारका साथ मनाउन प्रशासनले आग्रह गरेको थियो।