काठमाण्डौ । स्विस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको खबरमा कुनै सत्यता नरहेको दाबी गरिएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यस्तो दाबी गरेका हुन्। प्रम ओलीको प्रेस सल्लाहकारको फेसबुक पेजमा बुधबार पोष्ट गरिएको प्रेस नोट थापाले ‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिँदै केही नेपाली अनलाइनहरूले छापेको समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन्। पोस्टमा केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति ध्यानाकर्षण भएको उल्लेख छ। ‘स्विस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट सतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु’, पोस्टमा भनिएको छ, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरुको रवैया खेदजनक छ।’

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन तत्वहरू सक्रिय रहेको थापाको पोस्टमा उल्लेख छ। थापाले यस्ता दुष्प्रचारको भ्रममा नपर्न आम नेपालीलाई आग्रह गरेका छन्। 

थापाको पोस्टमा सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहीता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग गरिएको छ।