आज असार १५ गते । अर्थात, राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने दिन ।

आजको दिन खेतमा धान रोपाइँसँगै एक–अर्कालाई हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही–चिउरा खाने प्रचलन पनि छ। कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा रहेकाहरु पनि आज दही–चिउरा खाई असार १५ मनाउँछन्।

कुल ग्राहस्थ उत्पादनमा धानबालीले ठूलो योगदान पुर्याएको छ। तर, पछिल्लो समय मुलुकमा धान उत्पादनमा ह्रास आइरहेको छ। किनकि लाखौँ युवा रोजगारीको अभावमा विदेश पलायन भएका छन्। अर्कोतर्फ खेतीयोग्य जमिन प्लटिङका कारण कुरुप बनाइएका छन् ।

कुनै बेला नेपालबाट धान–चामल निर्यात हुने गथ्र्यो। अहिले अर्बौंको धान–चामल आयात गर्नुपर्ने अवस्था छ। 

यिनै विषयलाई समेटेर आज हामीले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्यायसँग कुरा गरेका छौँ। प्रस्तुत छ बिजशालाकर्मी रेखा चन्दले गरेको कुराकानीको सारसंक्षेप– 

हरेक वर्ष आउने असार १५ मा कुन कुरा तपाई स्मरण गर्नुहुन्छ?
-यसलाई चाडपर्वका रुपमा मनाउँदा र बाल्यकालको सम्झना गर्दा असार १५ भनेको रोपाइँ गर्ने नै हो। खासगरी ठूलो जनसंख्या कृषिमा आधारित छ।  खेती गर्न गाउँ–समाज मिलेर गोरु सापटी लिएर भए पनि रोपाइँ गरेको मैले देखेको छु। बाल्यकालमै पुुरुषले बाउसेका रुपमा काम गर्ने र महिलाले गीत गाएर रोपाइँ गरेको देखेको हो। 

मेरो बाल्यकाल रौतहटको गौरमा बित्यो। मामाघर काठमाण्डौ थियो। बुुवासँग विभिन्न ठाउँमा जाँदा रोपाइँको माहौल देख्दा रमाइलो महसुुस हुन्थ्यो ।

दही–चिउराले हाम्रो पाचनप्रणालीसँग सम्बन्ध राख्छ। पाचनप्रणाली र ब्याक्टेरियालाई सपोर्ट हुन्छ भनेर त्यो बेला दही–चिउरा खाइन्थ्यो। गाईवस्तुको दूध पनि राम्रै उत्पादन हुन्थ्यो। त्योबेला दूधको बजारीकरण पनि थिएन। 

आफूसँग भएको स्रोतलाई अधिकतम उपयोग गरेर चाडपर्वका रुपमा मनाउने प्रथालाई हामीले असार १५ का रुपमा बुुझेका छौँ। त्योबेला रोपाइँमा महिलाहरुले सारी लगाउने चलन थियो। मलाई समूहगत रुपमा महिलाहरु हिलोमा गएर गीत गाएर रोपाइँ गरेको सम्झना छ। पानी परेका बेला घूम ओडेर रोपाइँ गर्ने प्रचलन थियो। असार पानीकै सिजन भएकाले रोपाइँमा एउटाले अर्कोलाई निकै मद्दत गर्दथे।

रोपाइँको सिजनमा हामी बस चढेर यताउता जाँदा पनि गीतहरु सुुन्न पाइन्थ्यो। रमाइलो लाग्थ्यो। 

काठमाण्डौ र रौतहटमध्ये कहाँको रोपाइँ रमाइलो लाग्थ्यो ?
-यताउता जाँदा फर्पिङको बाटोमा हामी उभिएर सांस्कृतिक गीत गाएर रोपाइँ गरेको हेथ्र्यौं। त्यसबेला धेरै रमाइँलो लाग्थ्यो। मेरो मामाको जग्गा पनि लुुभुुमा थियो। त्यसैले जता पनि रोपाइँको माहौल देख्थ्यौँ। त्यो खालको परिवेशमा रमाइलोमात्रै हुन्थ्यो। सहयोगको भावना एकदमै हुन्थ्यो। गाउँमा त झन् कसैको रोपाइँ नै बाँकी रहँदैन्थ्यो। त्यो भाइचारा, सद्भाव चाहिँ असार १५ मा देखिन्थ्यो । 

बाल्यकालमा तपाइँ आफैँ बाउसे बनेको, हिलाम्मे भएको र रमाइलो गरेको क्षण छ ?
-म आफैँले खेतमै गएर काम भने गरेको छैन। पर्यटकीय हिसाबले हिलाम्मे हुने, रमाइँलो गर्ने, फोटो खिच्ने कुरा त हुन्थ्यो। गाउँघरमा हुुँदा रोपाइँको सिजनमा काम गरिरहेको खेतमा गएर उभिने, उनीहरुले खाएको कुरामा रमाइँलो गर्ने कुरा स्वभाविक हो। कतिपय ठाउँमा त दही–चिउरा नखाएर रोटी खाने चलन थियो। दही–चिउराको प्रभाव तराईमा भन्दा पहाडी भेगमा बढी छ। तराईका मान्छेलाई दही–चिउराभन्दा अझै दरिलो रोटी हुने परिवेश थियो। 

खेतमा जाँदा हामी पनि हिलो नै हुन्थ्यौँ। अहिले हिलो छ्यापेर रमाइलो गर्ने फेसन नै बनेको छ। तर, अहिले र पहिलेको रोपाइँ फरक छ। त्योबेला अहिलेजस्तो अनुुहारभरि हिलो छ्यापेर बस्नुुपर्ने थिएन। अहिले खेलकुुद नैजस्तो गरी रोपाइँ हुुन्छ।

असार १५ मा मिडियाहरुमा हिलाम्मे मानिस देख्दा कस्तो भाइब्स आउँछ ?
-असार १५ अहिले फेसन र फेस्टिबलजस्तो बनेको छ। यर्थाथमा गयो भने आ–आफ्नो काममा सबै व्यस्त छन्। रोपाइँमा हिलो त हुन्छ नै जीउमा। तर, पूरै जीउमा हिलो लाउँदा जिस्काएर लगाएको पनि हुन सक्छ। उमेरअनुसार रोपाइँमा जिस्किएको पनि पाइन्छ। जस्तो बढी उमेरका मानिस जिस्किने कम हुन्छन्। कम उमेरका मानिस जिस्किएर हिलाम्मे हुुने गर्दछन्। अहिले रोपाइँलाई चाँड जसरी मनाउँदा फोटोग्राफीले पनि स्टोरी बनाउने गर्छ। तर, त्यसलाई हामीले अन्यथा भन्दा पनि राम्रै मान्नुपर्छ।

अहिलेको नयाँ पुस्ताले पहिलाजस्तो रोपाई महोत्सवको अर्थ थाहा पाउदैन । यो पुस्तालाई धानको योगदान, धान दिवसको महत्व लगायतको विषयमा अभ्यस्त कसरी बनाउन सकिएला ?
-नेसनल फेस्टिबलका रुपमा उत्पादन बढाउनु पर्नेछ। आयातलाई निरुत्साहित गर्नुपर्छ। राज्यले नेसनल फेस्टिबलका रुपमा यसलाई महत्व दिनुुपर्छ। जस्तो अहिले श्रीलंकामा खाद्यान्न संकट भएकाले साताको ३ दिन रोपाइँ गर्नका लागि छुट्याइएको छ। यसबाट हामीले पनि केही सिकेर एउटा प्याकेज बनाएर प्रमोट गर्नुपर्दछ। यसबाट आजको आजै प्रतिफल आउँदैन। तर, यसबारे अहिले केही म्यासेज दिनसक्यो भने त्यसको प्रतिफल बिस्तारै आउन थाल्छ । 

उत्पादन बढ्नुु भनेको आयात घट्नु हो। त्यसकारण रोपाइँ महोत्सवलाई बिजनेस र सांस्कृतिक हिसाबले हेरेर नेसनल फेस्टिबलका रुपमा प्रमोट गर्नुपर्छ। हाम्रो मुलुकको जीडीपीमा धानको महत्व, धान उत्पादनलाई प्रवद्र्धन गर्ने हिसाबले मनाइने रोपाई महोत्सवको महत्व लगायतका विषयमा नयाँ पुस्तालाई बुझाउन आवश्यक छ । योसँगै आधुनिक प्रविधिमा आधारित खेतीमा समेत कृषिमा निर्भर जनसंख्यालाई अभ्यस्त बनाउनुपर्नेछ । 

धेरै खेत बाझै छन्। युुवापुुस्ता वैदेशिक रोजगारीका लागि बाहिर गएका छन्। यस्तो अवस्थामा वर्षेनी अर्बौंको धान–चामल आयात गर्नुपर्ने अवस्था पनि छ। धानको उत्पादन बढाउनका लागि नीतिगत रुपमा के परिवर्तन हुन आवश्यक छ ? 
-हाम्रो खुला बोर्डर छ। भारतसँग प्रतिस्पर्धा एउटा छ। हामीले दिने बीउका कुरा छन्। यसका प्राविधिक कुरा, मूल्यका कुरा, मलका कुरा यी सबै सुनिश्चितता गर्न सक्यौँ र कमान्ड एरियामा सरकारको कार्यक्रम, अनुुदानका कार्यक्रम जोड्न सक्यौँ भने पनि धानको उत्पादन बढाउन सकिन्छ। सबै पुस्ताले कृषि नै गर्नुपर्छ भन्ने पनि होइन। थोरै जनसंख्याले धेरै उत्पादन गर्ने पद्धति बनाउनुपर्छ। किसानले आफ्नो उत्पादनको उचित मूल्य पनि पाउनुपर्छ। 

प्राकृतिक प्रकोप र जोखिमहरुसँग पनि जोगिन सक्ने नीति हुनुुपर्छ। किसानले राम्रो प्रतिफल पाएपछि मात्रै अरु पनि आकर्षित हुन्छन्। नयाँ–नयाँ टेक्नोलोजी अगाडि बढाइयो भने मलाई लाग्छ उत्पादनमा केही बढोत्तरी हुन्छ। हाम्रोजस्तो सानो मुलुुकमा लक्षित र इमान्दारीतापूर्वक काम गर्न सक्यौँ भने धान, फलफूल, तरकारीलगायतको उत्पादन बढ्नसक्छ। कृषि पेसा भनेको संसारभर संरक्षित पेसा हो। यो पेसा सरकारको संरक्षणमा हुुन्छ। भण्डारणका लागि वेयरहाउस पनि हुनुुपर्छ अनिमात्रै उत्पादन बढ्न सक्छ। उत्पादनलाई बीमासँग पनि जोडेर लैजानुपर्छ। 

पहिले हामी धान–चामल निर्यात गरेको मुलुुक हो। उत्पादन नभएको पनि होइन। हामीकहाँ धेरै जग्गाहरु घरायसी र व्यावसायिक लाइन बने कि ? बढी जग्गा घडेरी बने कि ? त्यसकारण यस्तोमा सरकारले कस्तो–कस्तो सहुुलियत दिँदा मानिस उर्वर जमीनलाई घडेरी बनाउन निरुत्साहित हुन्छ भन्नेतर्फ हेर्नुपर्छ। किसानलाई पेन्सन दिने कुरा पनि छन्, यस्ता नीतिले किसानलाई कृषि पेसातिर आकर्षित गर्न सक्छ। पेसा र व्यवसायलाई संरक्षण गर्ने नीति राज्यले लिनुपर्छ। 

कृषि क्षेत्रको डेडिकेटेड बैंक कृषि विकास बैंक हो। यस बैंकको भूमिका चाहिँ कस्तो रहन्छ ?
-हामीले आफ्नो सीमित स्रोतका आधारमा बजेट कार्यक्रम बनाएका हुन्छौँ। बजेट कार्यक्रमभित्र रहेर आफ्नो लक्ष्य पूरा गर्ने हो। बैंकले नै कृषि गर्ने भनेको होइन। हामीले जनताबाट पाएको पैसाको केही हिस्सा कृषिमा पनि लैजान्छौँ। जुन माग र आपूर्तिबीचको सम्बन्ध हो। मागलाई सम्बोधन गर्ने क्षमता राख्नुपर्छ। माग ४००–५०० अर्बको छ तर हामीसँग स्रोत चाहिँ १०० अर्बको पनि छैन भने पूर्ति गर्न सकिँदैन। र, नीतिले पनि सबै बैंकलाई कृषिलाई प्राथमिकतामा राख भनेको छ। तर, हामी अरुभन्दा विशिष्टीकृत बैंक भएको हुनाले हामीले कृषिलाई बढी नै फोकस गरेका छौँ। सम्भवतः अहिले हामीले कुुल पोर्टफोलियोको ३६ प्रतिशत लगानी कृषिमै गरेका छौँ। हाम्रो टार्गेट अरुलाई जोड्ने र कृषिलाई नछोड्ने हो। 

स्रोत भयो भने सबै बैंकले कृषिमा काम गर्छन्। स्रोत सीमित छ। त्यही स्रोतभित्र रहेर हामीले काम गर्नुपर्ने हुनाले हामीले मागलाई पूर्ति गर्न नसकेको हो कि ? 
-अर्को, धानको उत्पादन आज गर्नुछ भने लगानी कहिलेदेखि गर्ने ? आज लगानी गरेको हुनाले आयातलाई सब्सिटाइज गर्ने हो। हामी कृषि विकास बैंक अगुवा भएको हुनाले गएको वर्ष र यसपालि १६ अर्बजति कृषिमा लगानी गरिसकेका छौँ। तर, कृषि कर्जाको माग अझै धेरै छ। एउटै क्षेत्रमा लगानी गर्दामात्रै पनि जोखिम धरै हुन्छ। त्यसैले हामीले कृषिसँगै अरु क्षेत्रमा लगानी गरेर जोखिमलाई भाग लगाएका हुन्छौँ। कृषिलाई हामीले लिड गरेकै छौँ। 

विगतमा हामी स्रोतको समस्याले पनि त्यति एग्रेसिभ थिएनौँ। १–२ वर्षयता हामीले स्रोतको रामैै्र व्यवस्थापन गर्यौँ र व्यवसाय पनि वृद्धि हुँदै गएको छ। 

कृषिलाई प्रविधिमैत्री बनाउनेमा हामी केन्द्रीकृत भएका छौँ। यस्तै किसान कार्डहरु ल्याएर सहज बनाउने काम गरिरहेका छौँ। केही स्थानमा लागू पनि भइसकेको छ। जसबाट कृषकलाई ऋणमात्रै नभएर पैसा पनि दिने कुरा हामी जोडेर लैजाने तयारीमा छौँ। 

कृषक र कृषि कर्मलाई सहज बनाउने गरी कृषि विकास बैंकका नवीन अवधारणाहरु के–के छन् ? 
-अहिले हामीले किसान एप डेभलप गरेका छौँ। एप लिएका कृषकले मौसमको अवस्था के छ ? बाली काट्न मिल्छ कि मिल्दैन ? पानी कति पर्छ ? तरकारीको मूल्यलगायत आधिकारिक क्षेत्रका जति पनि सूचना हामीले पाएका छौँ, त्यो सबै हामी जोड्दै लगिरहेका छौँ। 

जस्तो धानमा कीरा लाग्यो भने कसलाई सम्पर्क गर्ने ? त्यो जानकारी पनि इन्टिग्रेसन गरेका छौँ। अर्को हामीले कृषिमा ४० वटा उत्पादनका नम्र्स बनाएका छौँ। त्यसको व्यवस्थापनमा छौँ।

तपाइँ दुईवटा भूमिकामा हुनुहुन्छ। एउटा एनबीएको अध्यक्ष र अर्को कृषि विकास बैंकको सीईओ। केही समयअघि राष्ट्र बैंकले एउटा अध्ययन गरेको थियो। जसमा कृषि कर्जा चाहिँ बढी सहरमुखी भयो र उपभोग गर्ने पनि सहरकै मान्छे भए भन्ने तथ्य बाहिरियो। बेला–बेला कृषि कर्जाको दुरुपयोगको कुरा पनि उठ्छ। यसलाई कसरी व्यवस्थापन गर्ने ? वा रियल किसानले यस्तो कर्जा कसरी पाउने ?
-मेरो फरक धारणा के छ भने कि त रियल किसान यी हुन भनेर डेटा बेस हुनुपर्यो। जसले बैंकमा पुगेर आफ्नो योजना देखाउन सक्यो उसलाई बैंकले ऋण दिने हो। बैंकले आफ्नो जोखिमको पहिचान पनि गर्छ। जनतासँग लिएको पैसा र अनुदानको कुरा जोडिएको छ। अहिले मानिस बाहिरबाट आएर सहरमै बस्ने प्रवृत्ति छ। त्यस हिसाबले पनि कर्जा बढेको हो।

गाउँमा शिक्षा, स्वास्थ्य, बजारको व्यवस्थालगायतको सुविधा हुन्थ्यो भने त को आएर सहरको एउटा कोठामा बस्छ ? माग र क्यासफ्लो बजार वा सहरसँग जोडिन्छ।  त्यसैले यस्तो समस्या देखिएको हो। कृषकले गरेका काम पनि १०० प्रतिशत नै सफल हुन्छ भन्ने पनि छैन। म्याक्सिमम ९५ प्रतिशत सफल भए पनि हाम्रा लागि ठूलो एचिभमेन्ट हो। 

कर्जाको दुरुपयोग भएको छ भने कारबाही त हुन्छ नै। सबैलाई ऋण दिन सकिएन भने पनि आलोचना हुन्छ। हामीसँग २० अर्बसम्मको बजेट हुन्छ, त्यही बजेटभित्र वर्ष दिन काम गर्नुपर्छ। २२०० जनशक्तिबाट देशभरको शाखा हेर्नुपर्ने हुन्छ। 

दोसारोपण भन्दा पनि कहाँ फ्रड छ ? कहाँ चुनौती छ ? कहाँ समस्या छ ? त्यसलाई हामीले सुधार गर्दै लैजाने हो। बैंकको उद्देश्य भनेको पैसाको सदुपयोग होस्, उत्पादन होस् भन्ने हुन्छ। बैंकले पैसा दिएर अपजस कमाउन पनि खोज्दैन। बैंकको सुधार, समझदारी नै एउटा बाटो हो। त्यसैले कृषि क्षेत्रलाई अझै व्यवस्थित र सुदृढ बनाउँदै लैजानुपर्छ।