काठमाण्डौ । भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले प्रिमियम विद्युतीय मोटरसाइकलमा सहकार्य गर्न अमेरिकी कम्पनी जिरो मोटरसाइकलसँग सम्झौता गरेको छ। 

हिरो मोटोकर्पले अब जिरो मोटरसाइकलसँगको सहकार्यमा प्रिमियम विद्युतीय बाइकहरु निर्माण गर्नेछ। जिरो मोटरसाइकल क्यालिफोर्नियास्थित इलेक्ट्रिक टु–ह्विलर कम्पनी हो। जसले लामो समयदेखि इलेक्ट्रिक टु–ह्विलर निर्माण क्षेत्रमा काम गरिरहेको छ।

सेप्टेम्बर २०२२ मा हिरो मोटोकर्पको बोर्डले क्यालिफोर्नियामा रहेको जिरो मोटरसाइकलमा ६० मिलियन अमेरिकी डलरको इक्विटी लगानी स्वीकृत गरेको थियो। जिरो इलेक्ट्रिक मोटरसाइकल र पावरट्रेन निर्माणका लागि परिचित छ। 

हिरो मोटोकर्पका प्रेसिडेन्ट र सीईओ पवन मुंजालले भने, ‘हाम्रो साझेदारको हैसियतमा हामी भारत र हाम्रो विश्वव्यापी बजारमा विद्युतीय गतिशीलतालाई गति दिन तत्पर छौँ।’ 

जिरो मोटरसाइकलका सीईओ साम पासलले भने, ‘दुवै कम्पनी सवारी अनुभव र नयाँ उत्पादन विश्वभर बजारमा ल्याउन प्रतिबद्ध छन्।’

जिरो मोटरसाइकल सन् २००६ मा नासाका पूर्व इन्जिनियर नील साईकीले स्थापना गरेका थिए। यो इलेक्ट्रिक पावरट्रेन्समा विश्वव्यापी अग्रणी मानिन्छ र हाल जिरो एस र एसआर स्ट्रिट बाइक, एफएक्सएस सुपरमोटो, डीएस र डीएसआर डुअल–स्पोर्ट बाइक, एसआर÷एफ र एफएक्स भनिने मोटोक्रस बाइकसहित इलेक्ट्रिक बाइकको विस्तृत शृंखला निर्माण गर्दछ।

हिरो मोटोकर्पले भर्खरै आफ्नो पहिलो विद्युतीय गाडीका रुपमा भिडा ब्रान्डअन्तर्गत पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। 

नयाँ सम्झौताअन्तर्गत जिरो मोटरसाइकलले इलेक्ट्रिक पावरट्रेन विकास गर्नेछ र हिरो मोटोकर्पको उत्पादन, सोर्सिङ र मार्केटिङको फाइदा उठाउनेछ।

हिरो मोटोकर्प विद्युतीय सवारीसाधन र पूर्वाधारमा धेरै सचेत देखिन्छ। भर्खरै कम्पनीले बेंगलुरु, दिल्ली र जयपुरमा आफ्नो पब्लिक चार्जिङ पूर्वाधार पनि सञ्चालन गर्न थालेको छ। कम्पनीले सार्वजनिक प्रयोगका लागि तीन सहरमा करिब ३०० चार्जिङ प्वाइन्ट स्थापना गरेको छ। 

अब यो नयाँ सम्झौतासँगै हिरो मोटोकर्पले उत्कृष्ट र अत्याधुनिक प्रविधिले सुसज्जित विद्युतीय सवारीसाधन निर्माण गर्नेछ। जसलाई विश्व बजारमा बिक्री गरिनेछ। –एजेन्सी