काठमाण्डौ । नेपाल उद्योग परिसंघले अन्तर्राष्टिय स्तरको आर्थिक एवं प्राविधिक क्षेत्रको परामर्शदाता संस्था “फ्रस्ट एण्ड सुलिभान” सँगको साझेदारीमा कार्तिक २८ गते “नेपाल बिजनेश एक्सिलेन्स एवार्ड, २०१७” को आयोजना गर्ने भएको छ । 

नेपालका उद्योग व्यवसायले आफ्नो व्यवसाय सञ्चालन गर्दा लागत न्यूनीकरण, गुणस्तर सुधार, उपभोक्ताको सन्तुष्टी, जनस्वास्थ्य र प्रतिस्पर्धात्मक क्षमता बढाउन निर्वाह गरेको भूमिकाको आधारमा उत्कृष्ट ठहरिएका व्यवसायिक संस्थालाई सन् २०१७ का लागि नेपाल बिजिनेश एक्सिलेन्सी एवार्ड प्रदान गरिने परिसंघले जनाएको छ ।  

काठमाण्डौमा सम्पन्न हुने सो कार्यक्रमको प्रारम्भमा “नेपाली व्यवसायीहरुको प्रतिस्पर्धात्मक क्षमता सन् २०२२ सम्ममा अन्र्तराष्ट्रिय स्तरको हुनेछ:– एउटा अपेक्षा वा संभावनायुक्त यथार्थ ?” विषयक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । सो कार्यक्रमका लागि “फ्रस्ट एण्ड सुलिभान” का ग्लोबल प्रेसिडेण्ट अरुप जुत्सीले वक्ताको रुपमा सहभागिता जनाउनेछन् ।

प्रस्तुत अवार्ड कार्यक्रमले नेपाली उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता बढाउन, व्यवसायमा दीगोपन ल्याउन र व्यवसायिक शीपमा विस्तार गर्न सहयोग पुर्याउने धारणा फ्रस्ट एण्ड सुलिभानका कन्सलट्यान्ट नितिन कालोथियाको रहेको छ । 

नेपाल बिजनेश एक्सिलेन्सी एवार्डमा सरिक भएका उद्योगको (क) व्यवसायिक योजना, (ख) रणनीति तर्जुमा र त्यसको कार्यान्वयन, (ग) सांगठनिक ढाँचा, (घ) व्यवस्थापकीय प्रकृया र (ङ) व्यवसायिक नतिजाको विश्लेषण गरी एक्सिलेन्स अवार्डको घोषणा गरिएको छ । सो प्राप्त परिणामलाई कार्तिक २८ गते हुने समारोहमा सार्वजनिक गरी बिजयी संस्थाहरुलाई पुरस्कृत गरिने बताइएको छ ।

विभिन्न समयमा मुलुकमा ठूला ठूला राजनैतिक परिवर्तन भए पनि औद्योगिकरण र समृद्धिका लागि ठोस काम हुन नसकेको सन्दर्भमा यस प्रकारको सृजनात्मक कामले लगानीमैत्री वातावरण निर्माण गर्न, निजी क्षेत्रका उद्यमीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको विकास गर्न र कर्पोरेट कल्चरको सुदृढीकरण गर्न सहयोग पुग्ने धारणा परिसंघका अध्यक्ष हरिभक्त शर्माको रहेको छ ।

यस किसिमको कार्यक्रम नेपालमा पहिलोपटक हुने समारोहमा उत्पादन समूह, व्यापारिक, हवाइ यातायात, दूरसंचार, सूचना प्रविधि, होटल, बैकिङ्ग, इन्सुरेन्स र शैक्षिक परामर्शदाता गरी नौ समुहका कम्पनीहरुको सहभागिता छ । सहभागी कम्पनीलाई प्रतिस्पर्धामा सरिक गराउँदा उनीहरुको “सेल्स टर्नओभर”लाई आधार मानी उदीयमान व्यवसाय, मध्यमस्तरीय, ठूला र “मेगा” व्यवसाय गरी चार श्रेणीमा वर्गीकरण गरिएको छ ।