काठमाण्डौ । सरकारले बिमा समितिको अध्यक्ष डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ । 

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले माओवादी कार्यकर्ता समेत रहेका डा. घिमिरेलाई बिमा समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो । 

तत्कालीन बिमा समिति अध्यक्ष डा. फत्तबहादुर केसीको कार्यकाल पुस ७ गतेदेखि सकिएपछि सो पद रिक्त थियो ।  

बिहीबारको क्याबिनेटमा अर्थमन्त्री कृष्णबहादुर महराले पोखरा विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. घिमिरेसहित चिरञ्जिवी चापागाई र रमेशकुमार भट्टराईको नाम सिफारिस गरेका थिए ।

पोखराका स्थायीबासी घिमिरे माओवादी कार्यकर्ता समेत हुन् । उनी माओवादी युद्धकालमा समेत सहभागी थिए । सो क्रममा उनलाई तत्कालीन सुरक्षाफौजले पक्राउ गरी ३ वर्ष जेल हालेको थियो।

माओवादी पृष्ठभूमिका भए पनि उनले भारतबाट बिमा तथा जोखिम व्यवस्थापनमै विद्यावारिधी गरेका छन् । बिमा विषयमै पिएचडी गरेका व्यक्ति बिमा समितिको अध्यक्ष भएपछि बिमा क्षेत्रले फड्को मार्ने आशा गरिएको छ ।