-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन प्रणालीका विषय र बैंक तथा डिम्याट इन्टीग्रेसनको बिषयमा अर्थसमितिकै बैठकमा झूठ बोलेका छन् । 

उनले अनलाइन प्रणालीका लागि महत्वपूर्ण कडी मानिएको बैंक तथा डिम्याट इन्टीग्रेसनको काम भइसकेको र अनलाइन प्रणालीमा कुनै समस्या नभएको भन्दै मंसिर २५ गतेको अर्थसमितिको बैठकमा झूठ बोलेका पाइएको हो।

उनले अर्थसमितिमा सहभागी सरकार तथा सम्बद्ध पक्षका महत्वपूर्ण व्यक्तिका अगाडि झूठो कुरा दाबीका साथ प्रस्तुत गरेका पाइएको हो । 

उनले अर्थसमितिमा यस्तो दाबी गरेको केही समयपछि हामी नेप्सेस्थित कार्यालयमा पुगी सो विषयमा बुझ्ने कोशिश गरेका थियौ । हामीसँग पनि साउदले डिम्याट इन्टीग्रेसनको काम भइसकेको दाबी गरे ।  

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले समेत हिजोअस्ती नै इन्टीग्रेसन भइसकेको दाबी गरेका थिए । 

प्रवक्ता पराजुलीले सो क्रममा बैंक इन्टीग्रेसनको काम भने पुस १७ गतेदेखि ४ वटा बैंकसँग मात्रै हुने र त्यसपछि मात्र फूलफेजको अनलाइन सुरुवात हुने दाबी गरे । प्रवक्ताकै भनाईले समेत नेप्सेका सीइओले उच्च सरकारी अधिकारीलाई बेवकुफ बनाउने र भ्रम छर्ने काम गरेका पुष्टि हुन्छ ।

यता, मङ्सिर २४ गते  सोमबार नै स्टक ब्रोकर एशोसिएसनले नेप्सेलाई पत्राचार गर्दै अबिलम्ब डिम्याट इन्टीग्रेसन काम गरिदिन, नभए योबिना समग्र अनलाइन प्रणालीमा विश्वासको संकट उत्पन्न हुने भन्दै पत्राचार गरेको समेत देखिएको छ ।

स्टक ब्रोकर एशोसिएसनको यो पत्रले समेत साउदले कसरी सरकारी अधिकारीसामु झूठ बोले भन्ने पुष्टि हुन्छ ।

यसअघि नै बिजशालाले डिम्याट इन्टीग्रेसनमा भएको ढिलासुस्तीले समग्र अनलाइन प्रणाली नै अपाङ्गजस्तो देखिने र अन्त्यमा लगानीकर्तालाई नै बढी मार पर्ने देखिएको समाचार प्रकाशित गरिसकेको छ ।

नेप्सेमा आन्दोलनरत लगानीकर्ताको मुखमा बुझो लगाउन नेप्सेका सिइओ साउदले २३ गतेबाट सीमित लगानीकर्ताहरुको हातमा अनलाइन ट्रेडिङ सुविधा पाउने घोषणा गरेका थिए । उनले वाचा गरे अनुरुप लगानीकर्ताहरुले युजर नेम र पासवर्ड लिए पनि न त अनलाइन ट्रेडिङ गर्न पाएका छन् न त नेप्सेले अहिलेसम्म डिम्याट र बैंक इन्टीग्रेसनको काम नै सकेको छ । 

समयमा बैंक र डिम्याट इन्टीग्रेसन गर्न नसकेको नेप्सेले आफ्नो कमजोरी लुकाउन आइतबार प्रेस विज्ञप्तिमार्फत लगानीकर्ताहरुले गलत डिम्याट नम्बर दिएको भन्ने आरोप लगाउने काम गरेको थियो । 

नेप्सेले झुक्याईरहेको सुइँको पाएका केही लगानीकर्ताहरुले समेत सामाजिक सञ्जालका विभिन्न समूहमा आफ्नो असन्तुष्टि पोखिरहेका छन् । 

अनलाइन प्रणालीमा भइरहेको ढिलासुस्तीमा नेप्सेका उच्च अधिकारीहरुले दिनप्रतिदिन खेल्ने काम भइरहेका कारण अनसनमा बसेका लगानीकर्ताहरुको आन्दोलनको तीर नेप्सेतर्फ समेत सोझिनसक्ने संभावना बढ्दै गएको देखिन्छ ।