सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म(सिआईजे) नेपालमार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिन आइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । 

बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्बन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नालिजम(आईसिआईजे)सँग उपलब्ध पाराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाई छ। प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम कहीँ कतैबाट जोडिएको छैन । 

हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन्, हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् र हाम्रो समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन ।

कानुनले दिएकाअधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरी, हाम्रो सार्वजनिक छविमा क्षति पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसमा गम्भीर आपत्ति समेत प्रकट गर्दछौं।

नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा हामीले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट हाम्रो स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु भएको हो । 

नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस(आईएमई)ले नेपाल राष्ट्रबैंकको स्वीकृति लिई बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको हो । 

त्यसलगत्तै बेलायतलगायत अन्य देशहरुबाट पनि कारोवार गर्नका लागि १७ जुन २००२ मा नेपाल राष्ट्रबैंकबाट स्वीकृति लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको हो । त्यसपछि नेपालीहरुको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्यक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं । त्यसको जानकारी हामीले हाम्रो वेबसाईटमा समेत राखेका छौं। 

यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर लगेको पनि होइन । बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी हो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं। अबैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवत कसैले नजरअन्दाज गर्न मिल्दैन ।

नेपाल सरकार, नेपाल राष्ट्रबैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्राएको छ। यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ भने कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको छ ।  कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको छ। आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्सुरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवलकार, डिस होम सेवासम्म बिस्तार भएको छ।
आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा  सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको हो। 

कम्पनी सुरुवात गरेपछि म (चन्द्रप्रसाद ढकाल) त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको हुँ। मेरो भाई हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासीय नेपाली हुन्। उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायत लगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन्। 

विदेशमा रेमिट्यान्स सेवा बिस्तार गर्न नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाई हेमराज ढकाल गैरआवासीय नेपालीको हैसियतमा नेपालीहरु भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुर्याउँदै आएका छन् ।  नेपालको कानुनले गैरआवासीय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन् ।

कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरुको अहिलेको राष्ट्रियता बेलायती हो। उहाँहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ति जनाउनुपर्ने, गैरकानुनी हुनु नपर्ने हो।

खोज पत्रकारितामा बिख्यात आईसिआईजे जस्तो संस्थाको साझेदारीमा सिआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरिएको खोजमा यस्तो गम्भीर त्रुटी हुनु नपर्ने हो। त्यसमाथि बेलायतमा स्थापना गर्ने कम्पनी, त्यसले गर्ने व्यवसायिकदेखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध हुन्छ। यसरी सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोज पत्रकारिताका नाममा हामीमाथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको हामी स्पष्ट पार्न चाहन्छौं।

चन्द्रप्रसाद ढकाल
अध्यक्ष, आइएमई ग्रुप
मिति: २०७५।१०।०३

(खोज पत्रकारिकता केन्द्रले बुधबार साँझ नेपालिक्समार्फत नेपालका ५५ व्यक्तिको स्वीस बैंकमा खाता रहेको र उनीहरुले विदेशमा गैरकानूनी लगानी गरेका भन्दै खोज सार्वजनिक गरेको थियो । त्यसमा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालको समेत नाम समावेश थियो । त्यही समाचारको बिषयलाई लिएर चन्द्र ढकालले बिहीबार जारी गरेका विज्ञप्ति हामीले जस्ताको तस्तै प्रस्तुत गरेका हौं।)