काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ । 

विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले बुटिकको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री तथा बाहिरी सुधारका काम धमाधम भइरहेको छ । 

नेपालको परम्परागत, कला र संस्कृति झल्कने वस्तुको सजावटदेखि भवनभित्रका विभिन्न कक्षमा नयाँ कार्पेट विछ्याउनुका साथै बाहिरी सौन्दर्यको कामलाई प्रभावकारी रुपमा अघि बढाइएको विमानस्थलले जनाएको छ । 

बुटिक विमानस्थलको अवधारणाअनुरुप विमानस्थल सुधार र साज सज्जावटको काम तीव्र रुपमा भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । जहाजबाट ओर्लेपछि टर्मिनल भवनको बाहिरतर्फको क्षेत्र तथा विमानस्थलको गोल्डेनगेट र पार्किङ क्षेत्रमा आकर्षक बगैँचा निर्माण गरिँदैछ । केही दिनअघि होटल एशोसिएशन अफ नेपाल (हान) को सहयोगमा विमानस्थल प्रवेश गर्ने गोल्डेनगेट नजिकै दुबैतर्फ कलात्मक चौतारा उद्घाटन गरिएको थियो । टर्मिनल भवन अगाडिको अव्यवस्थित पार्किङ हटाई त्यहाँ सुन्दर बगैँचा बनाउने काम अघि बढाइएको छ । 

यसैबीच विमानस्थलमा पहिलो पटक ‘ह्याप्पी बेबी जोन’ तथा ‘लस्ट एण्ड फाउण्ड युनिट’ को स्थापना गरिएको छ । सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सुविधायुक्त बेबी जोनको स्थापना गरेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय उडानका लागि जहाजको पर्खाइमा रहेका बेला बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो । यो कक्षमा जहाज पर्खाइमा रहेका बेला बच्चालाई सुताउन र सुत्केरी आमाहरुलाई आराम गर्न प्रयोग गर्न सकिनेछ । बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ । विमानस्थलमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको बेबी जोन हिमालय हर्बलको सहयोगमा स्थापना भएको हो । 

यस्तै, विमानस्थलमा हराएका सामग्री खोज्न र भेटिएको सामग्री राख्न लस्ट एण्ड फाउण्ड युनिट खडा गरिएको छ । महाप्रबन्धक क्षेत्रीका अनुसार यात्रुले छाडेका सामग्रीलाई सो युनिटले सम्बन्धित व्यक्तिलाई खबर गर्ने र हराएका सामग्री खोज्न सहयोग गर्ने उद्देश्यले लस्ट एण्ड फाउण्ड युनिट बनाएको हो । भेटिएका सामग्री तत्कालै विमानस्थलको वेबसाइटमा राखिने र टेलिफोनमा जानकारी गराइने छ । 

यस्तै कुनै यात्रुको सामग्री हराएमा उजुरीको आधारमा सिसी क्यामेरामा हेरेर खोजतलास गरिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दैआएका छन् ।