काठमाण्डौ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेको छ । जसका करण शनिबार चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ ।

उपत्यकामा न्यूनतम तापक्रम घटेकाले यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ ।

अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो । विन्टर सिजनकै क्रम भएकाले पनि बढी चिसो महसुस गरिएको मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिए । सामान्यतः मङ्सिर, पुस र माघलाई विन्टर सिजन मानिन्छ ।

न्यूनतम तापक्रम घट्ने भएकाले अझै केहीदिन चिसो कायमै रहने मौसमविद् सुवेदीले बताए । उनका अनुसार पश्चिमी वायुको असरका कारण आज साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एक-दुई स्थानमा हल्का बर्षात् हुने सम्भावना छ ।

अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट बर्षात् हुनेछ । तराई क्षेत्रमा भने कुनै असर देखिएको छैन । पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार  आउने महाशाखाले जनाएको छ ।