काठमाण्डौ । सेयर लगानीकर्ताका ५ संघसंगठनले सामूहिक विज्ञप्ति निकाल्दै बजेटलाई स्वागत गरेका छन् । 

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई बजारविरोधी अर्थमन्त्रीको संज्ञासम्म दिन पछाडि नपरेका लगानीकर्ताका संघसंगठनले यसपटक भने बजेटलगत्तै विज्ञप्ति जारी गरी अर्थमन्त्रीप्रति सामूहिक रुपमै आभार समेत प्रकट गरेका छन् । 

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दवाब समूह, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाली पूँजीबजार संघले संयुक्त विज्ञप्तिमार्फत बजेटमार्फत पूँजीबजारका अधिकांश समस्या सम्बोधनको प्रयास भएको र सरकारले पूँजीबजारलाई हेर्ने सकारात्मक दृष्टिकोण प्रदर्शन गरेको भन्दै खुशी व्यक्त गरिएको छ । 

पूँजीगत लाभरकलाई ७.५ प्रतिशतबाट झारेर ५ प्रतिशतमा सीमित गरिएको, गैरआवासीय नेपालीलाई पूँजीबजारमा सहज प्रवेशको बाटो खुल्ला गरिनु, वित्तीय सुशासन कायम गर्नका लागि बैंक तथा वित्तीय तथा बिमा कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गर्नु, नियामक निकायहरुको क्षमता अभिवृद्धि गर्ने विषय समेटिनुले बजार र लगानीकर्ताको मनोबल सकारात्मक भूमिका खेल्ने भनिएको छ । 

पाँचवटै संगठनले सेयर बजारको क्षेत्रमा बिनाआधार नकारात्मक भावना फैलाउने कुत्सित तत्वहरुसँग डटेर संघर्ष गर्न र सचेत रहन लगानीकर्तालाई आह्वान समेत गरेका छन् ।