►किरण भट्टराई 
काठमाण्डौ । शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुपर्ने बाध्यतालाई झेलिरहेको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाको मुख्यालय रहेको भवनको अधिकांश भाग क्षतिग्रस्त भएपछि अहिले टेकुमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको जग्गामा ती कार्यालयले अस्थायी संरचना बनाएर काम गर्दै आएका छन् । भूकम्पका बेला परिसरको ब्यारेक भत्कँदा एक जना प्रहरी जवानको समेत ज्यान गएको थियो । 

हनुमानढोकाको पुरानो कार्यालय थोरै क्षेत्रफल र सवारीसाधन चलाउन नमिल्ने स्थानमा रहेकाले अर्को स्थानमा जग्गा खोज्नुपर्ने काठमाडौँ प्रहरीको बाध्यता रहेको छ । 

भूकम्पपछि तात्कालिक रुपमा केही समयका लागि भन्दै टेकुमा बसेको परिसर र महाशाखाले एक वर्ष चार महिना बित्दा समेत भवन बनाउने प्रक्रिया सुरु गर्नु त कता हो कता अहिलेसम्म घर बनाउनका लागि जग्गाको समेत टुङ्गो लगाउन सकेको छैन । 

प्रहरीले अहिलेसम्म बसेको भाडा समेत नतिरेको नेट्रेलिका महाप्रबन्धक सत्यनारायण महतोले बताए । 

उनले भने–‘हामीले प्रति महिना रु १५ लाखका दरले १४ महिनाको भाडा तिर्न भनेर प्रहरीलाई पत्र लेखेका थियौं । महिनौं बितिसक्यो अझै रकम पाएका छैनौं ।’

नेट्रेलिको पक्की भवनमा परिसरको कार्यालय राखिए पनि महाशाखाको कार्यालय भने सोही जग्गामा बिहे भोजका लागि बनाइएको पार्टी प्यालेसको बरण्डामा राखिएको छ । 

बिहे भोजमा ठूलो आवाजमा गीत, सङ्गीत बज्ने हुँदा त्यहाँ काम गर्ने वातावरण नै नहुने गरेको प्रहरी बताउँछन् । 

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले खुला स्थान भएकाले कतिपय अवस्थामा पीडितहरुले आफ्नो पीडा समेत भन्न धक मान्ने तथा कैदीको बयान लिन समेत समस्या पर्ने गरेको बताए ।

मुलुकको राजधानीको सुरक्षा आफैंमा चुनौतीपूर्ण कार्य हो । कुनै घटना भइहाले त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउने गर्छ । 

जाडोमा कठ्याङ्ग्रिएर, गर्मीमा निसास्सिएर र वर्षामा रुझेर रात काट्नुपर्ने प्रहरीको दुर्दशाले सुरक्षा व्यवस्थामा नकारात्मक प्रभाव पारेको सहजै अनुमान लगाउन सकिन्छ । 

सुरक्षा दिने प्रहरी आफैं असुरक्षित र शरणार्थीको जस्तो जीवन बिताउनपरेको उनीहरु गुनासो छ । 

सबैभन्दा आकर्षक मन्त्रालय मानिने गृहमन्त्रालयमा आउन मन्त्रीदेखि सचिवसम्मको प्रतिस्पर्धा हुने गरे पनि गृहअन्तर्गतकै काठमाडौँ प्रहरीको स्थानान्तरण भने त्यहाँ जिम्मेवारी सम्हाल्न आउनेको प्राथमिकतामा पर्न सकेको छैन । 

प्रहरीले नेट्रेलिको सिंहदरबार अगाडि रामशाहपथमा रहेको २६ रोपनी जग्गा किन्न वा भाडामा लिन सके राम्रो हुने सुझाव गृहमन्त्रालयलाई दिइसकेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए । 

गृह प्रवक्ता यादव कोइरालाले काठमाडौँ जिल्ला सुरक्षा समितिले सो जग्गा किन्नका लागि निर्णय गरेर ल्याएमा मन्त्रालय किन्ने प्रक्रिया अगाडि बढाउन तयार रहेको प्रतिक्रिया दिए ।

सो क्षेत्रको सरकारी दर प्रतिआना रु ४० लाख रहेकाले सो जग्गा किन्न करिब रु एक अर्ब ७२ करोड लाग्नेछ । राजधानीको सुरक्षाको कुरा पैसासँग दाँज्न नहुने भएकाले अल्पकालीन रुपमा भाडामा लिनुभन्दा दीर्घकालकै लागि सो जग्गा किन्नुपर्ने प्रहरीको भनाइ छ । 

काठमाडौँका प्रजिअ रामकृण सुवेदीले सो जग्गा भाडामा लिन आफूले प्रयास गरेको भए पनि नेट्रेलिले जग्गा भाडामा दिने भन्दा बेच्ने प्रस्ताव राखेकाले सहमति हुन नसकेको बताए ।

कर्मचारीलाई लामो समयदेखि मासिक तलबसमेत खुवाउन कठिनाइ झेल्दै आएका कारण नेट्रेलि सो जग्गा बेचेर आफ्नो आर्थिक अवस्था बलियो बनाउने सोचमा छ । 

आफूलाई जग्गा किन्ने भन्दा भाडामा लिने मात्रै अधिकार रहेकाले जग्गा किन्ने भए प्रहरी प्रधान कार्यालयले संस्थागत रुपमै गृह मन्त्रालयमा प्रस्ताव पठाउनु उपयुक्त हुने प्रजिअ सुवेदीको भनाइ छ । 

रामशाहपथको सो जग्गामा नेपाल टेलिकमले समेत आँखा लगाएको छ । टेलिकमले रु ६० देखि ७० लाखसम्म प्रतिआनामा जग्गा किन्न तयार रहेको प्रस्ताव ल्याएको महाप्रबन्धक मेहताले जानकारी दिए । 

उनले भने –‘प्रहरीले जग्गा हामीलाई दिनु, पैसा अर्थ मन्त्रालयले दिन्छ भन्छ । हामी बेच्न तयार छौं, उहाँहरुले किन्ने भए मन्त्रिपरिषद्बाट निर्णय गराएर आउनुप¥यो ।’

भूकम्पका कारण कालीमाटी, भण्डारखर्क, स्युचाटार, बाफललगायतका स्थानका प्रहरी कार्यालयहरु पूर्ण क्षति भएका संरचनामा प्रहरीले राखेको छ । 

रामशाहपथमा रहेको ट्राफिक प्रहरीको ब्यारेक भवन, महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरको ब्यारेक भवन र नेपाल प्रहरी स्कुल सामाखुशी पूर्ण रुपमा क्षतिग्रस्त संरचनाको सूचीमा समावेश छन् । 

त्रिपालको बासले बिमारी हुने प्रहरी बढे 
परिसरमा कार्यरत तल्लो तहका अधिकांश प्रहरीले सुत्नका लागि कार्यालयको खाली जग्गामा राखिएको त्रिपालमै भर पर्नु परिरहेका छन् । 

गर्मी, वर्षा र शीतलहर झेल्नपर्दा अधिकांश प्रहरी कार्यालयमा रहेका त्रिपाल च्यातिएर काम नलाग्ने अवस्थामा पुगेका छन् । 

वर्षामा पानी चुहेर, चिसोमा सिरेटोले र रातपरेपछि सर्प, कीराले सताउने गरेको प्रहरी बताउँछन् । 

अव्यवस्थित बसाइका कारण रुघा, खोकी, दमजस्ता समस्या राजधानीमा कार्यरत प्रहरीमा बढ्दै गएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । 

त्रिपालमै बस्नुपर्ने बाध्यताले कतिपय प्रहरीले छुट्टै कोठा भाडामा लिएर समेत बस्न थालेका छन् । 

परिसरका २५० प्रहरीका लागि एउटा मात्रै शोचालय हुँदा बिहानको समयमा शौचालय जानेले दुई घण्टासम्म पालो कुर्नुपर्ने बाध्यता छ । 

एक प्रहरी भन्छन् –‘बरु दुई घण्टा ढिलो खाँदा केही हुँदैन तर शौचालय जान दुई घण्टा कुर्नु जस्तो सजाय अरु केही नहुँदो रहेछ ।’
राससबाट