काठमाण्डौ । वाणिज्य बैंक र विकास बैंकहरुलाई एकसाताभित्र उपयुक्त मर्जर पार्टनरसहित लिखित प्रतिबद्धता पेश गर्न कडा निर्देशन दिएको नेपाल राष्ट्रबैंक बित्त कम्पनीहरुप्रति भने नरम देखिएको छ । 

बिहीबार बिहान ११ बजेदेखि वाणिज्य बैंक, १ बजेदेखि विकास बैंक र ३ बजेदेखि वित्त कम्पनीहरुलाई छलफलका लागि बोलाइएको थियो । 

वाणिज्य बैंक र विकास बैंकलाई मर्जरको उपयुक्त पार्टनर खोजेर आउन, नभए फोर्स मर्जरको सामनाका लागि तयार रहन निर्देशन दिएको केन्द्रीय बैंकले वित्त कम्पनीका सीइओ र अध्यक्षहरुलाई भने त्यस्तो निर्देशन दिएन।

‘सधैं सानो आकारमा बसेर मात्र हुँदैन, बेलैमा विचार गर्नुपर्छ भन्ने टाइपको निकै नरम कुरा मात्र गभर्नर ज्यूबाट आए ।’ छलफलमा सहभागी एक वित्त कम्पनीका सीइओले बिजशालासँग भने–‘वाणिज्य बैंक र विकास बैंकलाई जस्तो उपयुक्त पार्टनर खोजेर एकसाताभित्र आउन भन्नेजस्तो कुनै निर्देशन आएन ।’

राष्ट्रबैंकले ३ बजे बोलाएको छलफल १ घण्टामै सकिएको थियो । 

बित्त कम्पनीहरुको तुलनामा विकास बैंक र वाणिज्य बैंकका सीइओ र अध्यक्षको छलफल भने निकै लम्बिएको थियो । 

यसरी वित्त कम्पनीहरुलाई कम प्रेसर दिइएका कारण राष्ट्रबैंक यो पटक वाणिज्य बैंक र ठूला विकास बैंकहरुलाई मर्जरमा लैजान निर्मम बन्ने देखिएको छ ।