काठमाण्डौ । लामो समयदेखि विश्वमा शक्तिशाली मुलुक अमेरिका र चीनबीच व्यापारिक गतिरोध कायमै रहेको छ । यसले विश्वका अन्य मुलुकमा पनि नराम्ररी असर गरिरहेको छ । तर अब आशा गर्न सकिन्छ कि यी दुई मुलुकबीचको व्यापरिक टकराव अब कम हुन सक्छ । 
जापानको ओसाकामा भएको जी २० मुलुकहरुको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र चिनियाँ समकक्षी सी जिन पिङबीच शनिबार भएको भेटवार्तामा व्यापारिक गतिरोधका विषयमा छलफल गर्ने सहमति बनेपछि यी दुई मुलुकबीचको व्यापारिक टकराव कम हुनेमा आशा पलाएको हो । वार्ताको सहमतिपछि दुवै मुलुकबीचको व्यापारिक गतिरोधले विश्वमा उत्पन्न भइरहेको आर्थिक मन्दीमा केही राहात हुने विश्वास गरिएको छ । 
दुई पक्षबीच समानता र आपसी सम्मानका आधारमा व्यापार वार्ताका लागि दुवै समकक्षी सहमत भएका छन् । भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिका भित्रिने थप चिनियाँ सामग्रीमा कर नबढाउने घोषणा गरेका छन्। 
ट्रम्पले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईमाथि अमेरिकाले लगाएको प्रतिबन्ध पनि फुकुवा हुन सक्ने संकेत गरेका छन् । अमेरिकाले राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै हुवावेईलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । यो सूचीमा रहेका कम्पनीले अमेरिकी सरकारको अनुमतिविना कारोबार गर्न पाउँदैनन् । 
ट्रम्पले हुवावेईको अमेरिकासँगको व्यापारिक सम्बन्ध ठूलो रहेकाले आगामी दिनमा आफूहरु हुवावेईलाई अहिले बिक्री गर्दै आएको उत्पादन दिन तयार रहेका स्पष्ट पारेका छन् । ट्रम्पले चीनले पनि अ‍ेमरिकाबाट ठूलो परिमाणमा कृषिजन्य उत्पादन खरिद गर्ने विश्वास व्यक्त गरेका छन् । 
अमेरिका र चीनबचि पछिल्लो एक वर्षदेखि व्यापारिक युद्ध चलिरहेको छ । जसले दुवै देशलाई कुनै न कुनै प्रकारले नोक्सानी भइरहेको छ । 
ट्रम्पले चीनले अमेरिकाको बौद्धि सम्पदा चोर्ने कोसिस गरिरहेको आरोप लगाएका थिए । अमेरिकाले चीनले अमेरिकी कम्पनीलाई आफ्नो देशमा व्यापार गर्न दिएर व्यापारसँग जोडिएको महत्वपूर्ण र गोप्य जानकारी दिन दबाब दिएको आरोप पनि लगाएको थियो। 
यसअघि गत मे महिनामा पनि दुवै देबीच वार्ता भएको थियो तर कुनै सकारात्मक निष्कर्ष निस्केको थिएन ।