काठमाण्डौ । अमेरिकाको डोनाल्ड ट्रम्पको सरकारले ७ मुस्लिम बाहुल्य देशका नागरिकहरुको अमेरिका आगमन तथा प्रवेशमा प्रतिबन्ध लगाउने भनी गरेको निर्णयविरुद्ध ९७ वटा विश्वचर्चित कम्पनीहरुले अदालतको ढोका ढकढक्याएका छन् । 

प्रविधिको दुनियाँका प्रतिष्ठित कम्पनीहरु माइक्रोसफ्ट, एप्पल, गुुगलसहित सिलिकन भ्यालीका ९७ कम्पनीहरुले सामूहिक रुपमै अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको आदेशविरुद्ध अदालतमा रिट दर्ता गरेका छन् । उनीहरुले दायर गरेको रिटमा टम्पको आदेशलाई संविधान तथा मानवाधिकार कानूनको उल्लंघन भनेका छन् । 

अदालतमा आइतबार दाखिला भएको दस्तावेजका अनुसार अमेरिकामा प्रवेश गर्ने नियममा गरिएको अचानकको परिवर्तनले अमेरिकी कम्पनीहरुले निकै ठूलो क्षति व्यहोर्नु परिरहेको छ । यो दस्तावेजको समर्थन ट्वीटर, नेटफ्लिक्स र उबर जस्ता प्रतिष्ठित सामाजिक सञ्जालहरुले पनि गरेका खबरहरुमा जनाइएको छ । 

सिएनएन मनीमा छापिएको एक खबरका अनुसार यस्तो उजुरी नाइन्थ सर्किट कोर्ट अफ अपील्समा दायर गरिएको थियो । 

यो बीचमा अदालतले अमेरिकी सरकारबाट यात्रा प्रतिबन्धको पूर्व निर्णय फेरि लागू गर्न पाउनुपर्ने याचिकाको पक्षमा फैसला दिन इन्कार गरिदिएको थियो । कम्पनीहरुको यो सामूहिक उजुरीको पक्षमा फेसबुक, ईबे, इन्टेल जस्ता कम्पनी पनि समर्थनमा छन् ।