काठमाण्डौ । अर्थतन्त्रका पर्याप्त सुधारका संकेतहरु देखिइरहँदा सर्वसाधारण तथा निमुखाहरु भने महङ्गीको भूङ्ग्रामा पर्दै गएको देखिएको छ । 

नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो २ महिनाको आर्थिक तथा वित्तीय समीक्षामा यस्तो देखिएको हो । 

२०७६ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेको छ । जब कि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८९ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । 

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा यस्तो मुद्रास्फीति ३.९९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ३.८६ प्रतिशत र भारतको ३.७० प्रतिशत रहेको थियो ।

२०७६ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ८.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु समूहको थोक मुद्रास्फीति उच्च रहेको छ । समीक्षा महिनामा यातायात, उपकरण तथा पार्ट्स, रासायनिक वस्तु र खाद्य पदार्थ उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।

वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४१ प्रतिशत, ३.४० प्रतिशत र २.४६ प्रतिशत रहेको छ ।